काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १०० दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्।
उनले अर्थमन्त्रीको जिम्मेवारीभित्र पर्ने आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसद्मा पेस गरेको विषयलाई समेत महत्वपूर्ण काम भनेर सूची सार्वजनिक गरेका हुन्।
स्वर्णिमले आइतबार सार्वजनिक गरेको सूची अनुसार निजी उद्यम-व्यवसाय सुरक्षा एवं प्रवर्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा विद्यमान कानुन संशोधनको प्राथमिकीकरण तय गर्दै बृहत् आर्थिक-कानुनी सुधारको मार्गचित्रको मस्यौदा तयार गरिएको छ।
उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा संशोधन गरी पुँजीगत रकम सम्बन्धित मन्त्रालयका सचिवले रकमान्तर गर्न सक्ने व्यवस्था, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन अनुरुप १५ वटा कानुन र राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएका विषयलाई कामको सूचीमा राखेका छन्।
उनले पदबहालीकै दिन गत चैत १३ गते ५ वटा कानुन र राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गरेका थिए। उनका अनुसार विभागबाट हुने काम अन्य विभागबाट सम्पादन हुने गरी संगठन पुनर्संरचना गरिएको छ।
स्वर्णिमले वैकल्पिक विकास वित्त परिचालन ऐन निर्माणलाई पनि आफ्नो कामको सूचीमा राखेका छन्। कानुनी सुधार अन्तर्गत नेपाल राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनलाई संशोधन गर्न बनेका विधेयक संसद्मा विचाराधीन छन्।
मन्त्री वाग्लेका अनुसार भुक्तानी तथा फर्स्योट ऐनमा संशोधन गर्न लागिएको छ। त्यसको मस्यौदा मन्त्रिपरिषद्मा पेस भएको छ। नागरिक लगानी कोषमा तेस्रो संशोधनका लागि विधेयकको मस्यौदा तयार पारी रायका लागि कानुन मन्त्रालयमा पठाइएको छ। मूल्य अभिवृद्धि कर, भन्सार लगायत सात वटा नियमावली र दुई वटा कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याइएको छ।
उनले कानुनी दोहोरोपना हटेक, विकास निर्माण, पुँजी बजार र वित्तीय क्षेत्रको विकासमा सहजीकरण गरेको, आर्थिक सुधारका लागि जग निर्माण गरेको दाबी गरेका छन्।
१२० वटा स्थानीय तह र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्थायी लेखा नम्बरसहित करदाता सेवा प्राप्त गर्न सक्ने प्रबन्ध, इन्धनको भन्सार महसुल तथा पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट, आयकरको छुटको सीमा वृद्धि लगायतलाई स्वर्णिमले नागरिकमा प्रत्यक्ष प्रभाव पार्ने कदम भनेका छन्।
उनले मन्त्रालय र मातहतका विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण, सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानलाई तीव्रता, पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा कटौतीलाई शासकीय तथा संस्थागत सुधार भनेका छन्।
उनले आफूले चालेका कदमले सेवा प्रवाहमा सुधारका साथै अन्तर्राष्ट्रिय व्यापारमा थप सहजीकरण भएको र राजस्व संकलन बढेको दाबी गरेका छन्। उनले विभिन्न विकास साझेदारसँग भएका ऋण तथा अनुदान सम्झौतालाई पनि महत्वपूर्ण कामको सूचीमा राखेका छन्।
नयाँ सरकार बनेपछि विभिन्न ६ वटा ऋण तथा अनुदान सम्झौता भएको छ भने दुई वटा अण सम्झौताको तयारी गरिएको छ। यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि २ अर्ब ८५ करोड जापानी येन बराबरको अनुदान सहायताको सम्झौता गर्न सैद्धान्तिक सहमति दिइएको छ।
स्वर्णिमले आफ्नो कामको सूचीमा सघन आर्थिक कूटनीति अगाडि बढाएको उल्लेख गरेका छन्। उनले वैदेशिक लगानी भित्र्याउने पहलस्वरुप निजी क्षेत्र एवं बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसामु लगानी सुरक्षाको प्रतिबद्धता जनाएको बताएका छन्।
संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्ले अमेरिकाको न्युयोर्कमा गरेको ‘विकासका लागि वित्त’ सम्बन्धी मन्त्रीस्तरीय सत्रमा प्रमुख वक्ताका रूपमा भर्चुअल माध्यमबाट गरेको सम्बोधनलाई पनि स्वर्णिमले कामको सूचीमा राखेका छन्।











