नेपाल बैंकले पनि अब ‘नेपालपे कार्ड’ जारी गर्ने, एनसीएचएलसँग भयो सम्झौता

बिजमाण्डू
२०८३ असार १९ गते १३:४४ | Jul 3, 2026
नेपाल बैंकले पनि अब ‘नेपालपे कार्ड’ जारी गर्ने, एनसीएचएलसँग भयो सम्झौता


काठमाडौं। नेपाल बैंक पनि राष्ट्रिय कार्ड प्रणाली ‘नेपालपे’मा आबद्ध भएको छ।

Vigo
GBIME
Tata

नेपाल बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच एनपीएस-नेसनल कार्ड स्विच (एनपीएस-एनसीएस) तथा नेपालपे कार्ड योजनाको प्रमुख सदस्यसम्बन्धी सम्झौता भएको हो।

हालसम्म ३५ बैंक तथा वित्तीय संस्था नेपालपे योजनाका प्रमुख सदस्य बनिसकेका छन्। ७ संस्थाबाट कार्ड जारी भइसकेको छ भने १० संस्थाले कार्ड स्वीकार गर्ने सेवा संचालन गरिरहेका छन्।

सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौताअन्तर्गत बैंकले एनपीएस-एनसीएससँगको प्राविधिक एकीकरण पूरा भएपछि आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न र स्वीकार गर्न सक्नेछ। यसले बैंकको डिजिटल सेवा विस्तार र राष्ट्रिय कार्ड सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनसीएचएलका अनुसार एनपीएस-एनसीएस घरेलु कार्ड कारोबारको रुटिङ र सेटलमेन्टका लागि केन्द्रीय पूर्वाधारका रूपमा विकास भइरहेको छ। यसले विभिन्न बैंक तथा वित्तीय संस्थाबीच अन्तरआबद्धता बढाउने, कार्ड कारोबारको लागत घटाउने तथा स्वदेशभित्र हुने कारोबारको डेटा स्थानीय रूपमा व्यवस्थापन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ।

नेपालपे राष्ट्रिय कार्ड योजना हालै संचालनमा आएको हो। अन्तर्राष्ट्रिय डिस्कभर नेटवर्कसँगको सहकार्यपछि यसको प्रयोग नेपालसँगै विदेशमा पनि गर्न सकिने व्यवस्था गरिएको छ।

साथै, डिस्कभर र रुपे कार्ड पनि नेपालभित्रका एटीएम र पीओएस मेसिनमा स्वीकार गर्न सकिने एनसीएचएलले जनाएको छ।