पुनः संचालनमा आयो जेनजी आन्दोलनमा आगजनीका कारण क्षतिग्रस्त बौद्धस्थित भाटभटेनी

सुशील श्रेष्ठ
२०८३ असार १० गते १०:४८ | Jun 24, 2026
पुनः संचालनमा आयो जेनजी आन्दोलनमा आगजनीका कारण क्षतिग्रस्त बौद्धस्थित भाटभटेनी


काठमाडौं। जेनजी आन्दोलनमा आगजनीका कारण क्षतिग्रस्त काठमाडौंको बौद्धस्थित भाटभटेनी बुधबारदेखि संचालनमा आएको छ।

Vigo
GBIME
Tata

भाटभटेनीका संचालिका सावित्री गुरूङले बुधबार बौद्धस्थित भाटभटेनीको पुनः संचालनको आरम्भ गरिन्।

भाटभटेनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आफू खरानीबाट उठेर जेनजी आन्दोलनमा क्षतिग्रस्त सबै भाटभटेनीको संचालन पुनः सुरु गर्ने बताएका थिए। सोही अनुसार बौद्धको भाटभटेनीको पुनः संचालन भएको हो।

भटभटेनीका प्रमुख संचालन अधिकृत पानु पौडेलका अनुसार क्षतिग्रस्त संरचनाको पुनः संचालनअन्तर्गत बौद्धको भाटभटेनी छैठौँ हो।

यसअघि सबैभन्दा पहिले भाटभटेनीको वेयर हाउसलाई पुनः संचालनमा ल्याइएको थियो। त्यसपछि कोटेश्वर, महाराजगञ्ज, चितवन भरतपुर र पोखरामा पुनः संचालन गरिएको थियो।

यही असार २९ गते विराटनगरको भाटभटेनी पुनः संचालन गर्ने लक्ष्य अनुरूप पुनर्निर्माण र मर्मतको कार्य भइरहेको छ। अधिकृत पौडेलले अब विराटनगरसहित बिर्तामोड, धरान, दमक, हेटौँडा र काठमाडौंको नक्सालस्थिल भाटभटेनी गरी ६ वटा सुपर स्टोर संचालनमा आउन बाँकी रहेको बताए।

जेनजी आन्दोलनसम्म भाटभटेनीले एक वेयर हाउस र २७ वटा सुपरस्टोर गरी २८ वटा व्यावसायिक केन्द्रबाट व्यापारिक सेवा उपलब्ध गराउँदै आएको थियो। पौडेलले अब वेयर हाउसहित २२ वटा केन्द्र संचालनमा आएको जानकारी दिए।

अध्यक्ष गुरुङले पुनः संचालनअघि उक्त स्थानमा रुद्री, पुराण, होमयज्ञ लगायतका धार्मिक कार्य गरेका थिए।