दरबारमार्गमा ८ महिनादेखि रोकिएको ६ अर्बको प्रोजेक्ट, बालेनले महानगर छाडेपछि एकपछि अर्को लफडा



शुक्र गिरी
२०८३ असार ५ गते ०९:०४ | Jun 19, 2026
दरबारमार्गमा ८ महिनादेखि रोकिएको ६ अर्बको प्रोजेक्ट, बालेनले महानगर छाडेपछि एकपछि अर्को लफडा

काठमाडौं। व्यवसायी मीनबहादुर गुरुङले गत भदौ २३/२४ मा भएको जेन्जी आन्दोलनमा खरानी भएका पाँच वटा भाटभटेनी स्टोर पुनर्निर्माण गरिसके। जलेर खरानी भएका स्टोर पुनर्निर्माण गर्न उनी बिहानदेखि बेलुकासम्म साइटमै खटिए।

Tata
GBIME
Nepal Life

कामदारसँगै खटिएर केही महिनामै भटाभट स्टोर बनाइरहेका उनै मीनबहादुरको ठूलो प्रोजेक्ट भने पछिल्लो ८ महिनादेखि ठप्प छ। दरबारमार्गमा शिलान्यास गरिएको पाँचतारे होटल अन्नपूर्ण स्क्वायरमा भने निर्माण सामग्रीको थुप्रो मात्रै छ।

२०८५ बैशाखदेखि संचालनमा ल्याउने योजनासहित २०८१ को मंसिरमा होटल निर्माण सुरु गरिएको थियो। तर, ८ महिनादेखि त्यसको काम ठप्प छ, आखिर किन?

सुरुमा भारतको आर्किटेक्चर कम्पनीले २५ तले संरचनासहित होटलको डिजाइन गरेको थियो। होटल कूल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा तयार गर्ने प्रस्ताव थियो। नक्सामा २५ तलाको भवन बनाउने गरि काठमाडौं महानगर लगायत अनुमति लिनुपर्ने ठाउँमा निवेदन पुग्यो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उचाइका कारण हवाई उडान सुरक्षामा असर पर्न सक्ने भन्दै स्वीकृति दिन नमानेपछि परियोजनाको डिजाइन परिवर्तन गर्नुपर्‍यो। सुरुमा २० तला होटल र पाँच तला अपार्टमेन्ट बनाएर बेच्ने गरि डिजाइन गरिएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थल रहेको १० किलोमिटर वरपर घर निर्माण गर्दा पहिला प्राधिकरणबाट उचाइ मापदण्डबारे सुझाव लिनुपर्छ। प्राधिकरणले राय दिएपछि मात्र काठमाडौं महानगरपालिकाले नक्सा पास गर्छ। प्राधिकरणले १९ तला मात्रै बनाउन मिल्ने सुझाव दिएपछि नक्सा परिवर्तन गर्नुपर्‍यो। प्राधिकरणको असहमतिपछि कम्पनीले अपार्टमेन्ट हटाएर होटलको नयाँ डिजाइन बनायो।

कम्पनीले डिजाइन र नक्सा पास गर्न काठमाडौं महानगरपालिकामा पठायो। बालेन्द्र शाह महानगरको मेयर हुँदा नै अनलाइनमार्फत फाइल पेस गरिएको थियो। महानगरले यस्ता ठूला परियोजनाको नक्सा पास र डिजाइन हेर्न समिति बनाउँछ।

त्यो समितिको बैठक बस्दा नबस्दै बालेन राजीनामा दिएर प्रतिनिधि सभाको चुनावमा होमिए। बालेन महानगरबाट बाहिरिए पछि कमिटी नयाँ बन्यो। अर्को समिति आउने बित्तिकै कम्पनीले अनलाइनमार्फत सबै डकुमेन्ट पठायो।

स्रोतका अनुसार नयाँ समितिले अनलाइनबाट डकुमेन्ट पठाएर नहुने भन्दै ‘हार्डकपी’ माग्यो। कम्पनीले सबै कागजातको ‘हार्डकपी’ बुझाएको लामो समयसम्म पनि नक्सा पास सम्बन्धमा समितिको बैठक नै बस्न सकेको छैन। त्यति मात्रै होइन, अहिले महानगरका प्राविधिकले होटलको फसाडकै बारेमा पनि विभिन्न बखेडा झिकिरहेको स्रोतले बतायो।

महानगरले पनि व्यवसायीको लागत बढ्ने लगायत विषयलाई बुझेर बैठक नै राखेन। हो, त्यही कारण पछिल्लो ८ महिनादेखि यति ठूलो परियोजना अवरुद्ध छ।

महानगरका शहरी व्यवस्थापन विभागका प्रमुख रविमान श्रेष्ठ बालेनले राजीनामा दिएपछि समितिको बैठक बस्न समय लागेको स्वीकार्छन्।

‘मेयरज्यू राजीनामा दिएर गएपछि जुरीमा प्रतिनिधि नोमिनेसन गर्ने काम प्रभावित भयो। नयाँ नोमिनेसन गर्ने काम नयाँ ढंगले गरेपछि डेढ महिनादेखि जुरीको मिटिङ रेगुलर रुपमा बसेको छ,’ श्रेष्ठले भने, ‘होटलको डिजाइन अन्तर्राष्ट्रियस्तरमा बनेकाले जुरीमा पनि त्यही स्तरका विज्ञको आवश्यकता थियो। त्यसैले त्यसलाई हेर्न समय लागेको हो।’

८ महिना अगाडि निर्माण सामग्रीको मूल्य निकै सस्तो थियो। तर पछिल्लो समय खाडीमा भएको तनावका कारण तेलको मूल्य वृद्धिका कारण अहिले बजारमा उपलब्ध निर्माण सामग्रीहरुको मूल्य ६० प्रतिशतसम्म बढेको छ। यसले अब आयोजनाको ‌लागत पनि बढ्ने निश्चित भएको छ।

जुरीको बैठक बस्दै’

यस्ता परियोजनाका लागि महानगरपालिकाले आर्किटेक्चरल र स्ट्रक्चरल जुरी बनाएर काम गर्छ। जुरीले मूल्यांकन गरेर निर्णय गरेपछि मात्रै स्वीकृति दिने प्रक्रिया हुन्छ। चार महिनापछि नेपालभरका एक्स्पर्टको जुरीको बैठक शुक्रबार बस्दै छ। बैठकमा कम्पनीले परिमार्जन गराएर ल्याएका प्रस्तावमा छलफल हुने शहरी व्यवस्थापन विभागका इन्जिनियर सन्तोष गिरीले बताए।

गिरीका अनुसार परियोजनाको परिमार्जित डिजाइन तथा प्राविधिक मूल्यांकनका लागि आर्किटेक्चरल र स्ट्रक्चरल बैठक बस्ने तयारी भएको छ।

उनका अनुसार परियोजनामा भवनको आकार, तला संख्या तथा विभिन्न आर्किटेक्चरल कोडमा संशोधन गरिएको छ। ती संशोधित विवरणको मूल्यांकनपछि जुरीले आवश्यक सुझाव वा टिप्पणी दिनेछ।

‘व्यवसायीले परिमार्जित डिजाइन तथा आर्किटेक्चरल कोडसहितको अन्तिम प्रस्ताव हालै विभागमा पेस गर्नुभएको छ। जुरीले त्यसको अध्ययन गरेर आवश्यक भए थप सुधारका सुझाव दिन्छ। अन्यथा स्वीकृति प्रक्रियामा अघि बढ्छ,’ इन्जिनियर गिरीले भने, ‘यसमा जुरीको बैठकले मूल्यांकन गर्छ। त्यसपछि हाम्रो जुरीले थप गर्नुपर्ने वा नपर्ने भन्ने कुराको यकिन गरेर कमेन्ट गर्ने कुरा हुन्छ। थप गर्नुपर्ने भए त्यही अनुसार सुझाइन्छ। नत्र भने स्वीकृतिको प्रक्रियामा जान्छ। अहिले जुरीले आफ्नो काम गरिरहेको छ।’

उनका अनुसार डिजाइनमा कुनै गम्भीर समस्या नदेखिए छिट्टै टुंगिन्छ।