वागमतीको यातायात सम्बन्धी कर तथा राजस्वको भुक्तानी अबदेखि कनेक्ट आइपीएसबाटै गर्न सकिने

बिजमाण्डू
२०७८ साउन १० गते ११:४७ | Jul 25, 2021
वागमतीको यातायात सम्बन्धी कर तथा राजस्वको भुक्तानी अबदेखि कनेक्ट आइपीएसबाटै गर्न सकिने



काठमाडौं। वागमती प्रदेशका यातायात सम्बन्धी कर/राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ। 

GBIME
Tata

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वागमती प्रदेशको यातायात सम्बन्धी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने भएको हो। यसको थालनी प्रदेश सरकारले सुरु गरिसकेको छ। 

भुक्तानी गर्न सधैं लामो लाइनमा बस्नुपर्ने सेवाहरुमध्ये यातायात व्यवस्था कार्यालय पनि रहेको थियो। सरकारले सुरु गरेको अनलाइन भुक्तानीले लाइनमा नै बसेर काउन्टरमा भुक्तानी गर्नुपर्ने बाध्यताको अन्त्य गरेको छ। 

प्रदेशको वेबसाइटमा गई सवारीधनी लग-इन पोर्टलमा आफ्नो युजरनेम र पासवर्ड राखी लग-इन गर्ने र आफ्नो साधन सम्बन्धी जानकारी प्रविष्ट गरी भुक्तानी विकल्पको रुपमा कनेक्ट आइपीएसलाई छनोट गर्नुपर्छ। 

कनेक्ट आइपीएसको युजरनेम र पासवर्ड प्रयोग गरी लग-इन गर्ने र भुक्तानी गर्ने बैंक खाता छनोट गरी ट्रान्जेक्सन पासवर्ड वा ओटीपी प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी सम्पन्न गर्न सकिन्छ।

भुक्तानी गरिएको रसिद प्रिन्ट गरी त्यो रसिदमा रहेको क्युआर स्क्यान गरी सवारी सम्बन्धी सम्पूर्ण जानकारी पनि प्राप्त गर्न सकिन्छ।