बालेनको चाहनामा राखिएको पर्यटकीय राजमार्गमा २८ जिल्लाका सडक, कुन कुन परे?



बिजमाण्डू
२०८३ जेठ ३१ गते १५:४९ | Jun 14, 2026
बालेनको चाहनामा राखिएको पर्यटकीय राजमार्गमा २८ जिल्लाका सडक, कुन कुन परे?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको चाहनामा बजेटमा समावेश गरिएको पर्यटकीय राजमार्गमा २८ जिल्लाका सडकलाई समेटिएको छ।

Tata
GBIME
Nepal Life

सरकारले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पर्यटकीय राजमार्ग निर्माण शीर्षकमा १ अर्ब ४५ करोड र स्थानीय पर्यटकीय मार्ग पूर्वाधार विकास कार्यक्रममा ४९ करोड ५६ लाख रुपैयाँ छुट्याइ विभिन्न २८ जिल्लाका सडक समेटेको हो। पर्यटकीय मार्गलाई वहुवर्षीयमा राखेर ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

स्थानीय पर्यटकीय मार्ग पूर्वाधार विकासका योजना सात वटै प्रदेशमा सञ्चालन गरिनेछ।

सुदूरपश्चिममा पर्यटकीय गन्तव्य खप्तड र रामारोशन सरकारको प्राथमिकतामा परेका छन्। अछामको पञ्चदेवल-ऐरिगड-रामारोशन पर्यटकीय सडक, मंगलसेन-जुपु कालागाउँ-ताली-शान्ताडा-चौका-रामारोशन पर्यटकीय सडक र साँफेबगर-खप्तड पर्यटकीय सडकका लागि बजेट विनियोजन गरिएको छ।

पर्यटकीय राजमार्ग अन्तर्गत कञ्चनपुरका ३ वटा सडक परेका छन्। मोहन्याल गाउँपालिकामा सोल्टा-ताम्चा-राक्सा २५ किलोमिटर सडक र बेदकोट नगरपालिकामा दैजी-जोगबुढा सडक खण्ड निर्माण तथा मोहन्यालको मालिका मन्दिर क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि बाघमारादेखि मालिकासम्म २१ किलोमिटर सडक स्तरोन्नतिको योजना समेटिएको हो।

यस्तै जुम्लाको खलङ्गा-जुम्ला-खाली-भुलभुले-ताल्चा-रारा सडकलाई पर्यटकीय सडकको सूचीमा राखेर बजेट राखिएको छ।पश्चिम रुकुमको त्रिपुरासुन्दरीदेखि डोल्पाको शे-फोक्सुण्डो जाने सडक बालेनको योजनामा परेको छ।

रुपन्देहीको झुम्सा-चरङ्गे सडक, म्याग्दीको पोखरेबगर-पाउदार-जिन्दु-शिख १० किलोमिटर सडक, तनहुँको शालिग्राम कोरिडोर र तनहुँकै देवघाट गाउँपालिकादेखि कालीगण्डकी कोरिडोर हुँदै स्याङ्जा जोड्ने करिब ६४ किलोमिटर सडकले बजेट पाएको छ।

तनहुँमै छिम्केश्वरीदेखि हिलेखर्क हुँदै बाहुन भन्ज्याङ बन्दीपुर जोड्ने सडक र बन्दीपुरदेखि उपल्लोफाँट, छबिसे, तामुङ्ग, कुलुङ हुँदै प्रसिद्ध छाब्दी बाराही मन्दिरसम्म करिब १५ किलोमिटर सडक बनाउन बजेट हालिएको छ।

कालिगण्डकी कोरिडोर (बागलुङ) खण्डको निरिङ्गेदेखि बिनामारे स्वास्थ्य चौकी-रिट्टेडाँडा सडक र चितवनको बिहुँकोट हटिया-पिडाल्ना स्वार-करलिम असारेथाम सडक स्तरोन्नति गर्न बजेट राखिएको छ।

यस्तै काठमाडौंमा विभिन्न सडक डिभिजनमार्फत पर्यटकीय सडक स्तरोन्नति गर्ने भनिएको छ। तर योजना पहिचान गरिएको छैन।

गोरखामा रिङ्गरोडको अवधारणासहित आरुघाट-धारापानी-सिस्नेरी-सातदोबाटो भुवाने चुरुङ्ग-आलैचे फूलपातीडाँडा-आरुघाट २५ किलोमिटर सडक र धादिङको ज्वालामुखी गाउँपालिका जाने घ्याङ्गखोला-अमराई-सिरिसपानी-गैरीगाउँ-दारेगौडा-सातदोबाटो-हटिया-सिरिसपानी सडक पर्यटकीय राजमार्ग कार्यक्रममा परेका छन्।

इलामको इलाम-सन्दकपुर, सोलुखुम्बुको सल्लेरी-लुक्ला-एभरेष्ट बेस क्याम्प, सुनसरीको बुढहरि चोकदेखि साल्पादेवी मन्दिरसम्म, सप्तरीको छिन्नमस्ता-राजविराज-भारदह-कंकालिनीमाई, दोलखाको मालुखोला छाउदे सडकको डाँडागाँउ छाउदे खण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल-ढाउपेन-केउरेनी-बरुवा-यांग्री सडक कालफत्रे तथा स्तरोन्नति गर्ने भनिएको छ।