काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा २०८१ कात्तिक ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्टारलिंकले डिभाइससहित डेमो प्रस्तुत गर्यो।
विश्वकै धनी इलन मस्कको सेटलाइट इन्टरनेट कम्पनी स्टारलिंक नेपालमा व्यवसाय गर्न आतुर हुँदै सरकारको ‘फेबर’का लागि तत्कालीन प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई एकसाथ भेट्न बालुवाटार पुगेको थियो।
बालुवाटारमा स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एण्ड मार्केटिङ एक्टिभेसन निर्देशक रेबिका स्लिक हन्टरसहितको प्राविधिक टोलीले डिभाइस नै लगेर डेमो देखायो। प्राविधिकहरुले सेटलाइट इन्टरनेटका विषयमा भ्रम चिर्नका लागि डिभाइस लगेर ओली र गुरुङसामु डेमो गरेका थिए।
स्रोतका अनुसार स्टारलिंकको टोलीले ल्याएको डिभाइस त्यतिखेर बालुवाटारमा नै राखिएको थियो। त्यो डिभाइस स्टारलिंकले फिर्ता पाएन।
‘स्टारलिंकले डेमो गरेको डिभाइस गायब भयो। मूल्यका हिसाबले धेरै ठूलो त होइन। तर, प्रधानमन्त्रीसामु डेमो गरिएको डिभाइस प्रधानमन्त्री निवासबाटै गायब हुनु राम्रो होइन,’ स्रोतले भन्यो, ‘हेर्दा सामान्य भए पनि यसले नैतिकता लगायत विषयमा गम्भीर अर्थ राख्छ।’
उनै रेबिका बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेपछि फेरि नेपाल आएकी थिइन्। उनले सोमबार संचारमन्त्री बिक्रम तिमिल्सिनालाई भेटेकी थिइन्। डिभाइस गायब भएको विषयलाई भने गम्भीररुपमा लिइएको स्रोतले बतायो।
डिभाइस गायब भएको विषय वाहिरिएपछि तात्कालिन संंचार सचिव राधिका अर्याललाई बिजमाण्डूलाई सोध्दा आफूलाई जानकारी नभएको बताइन्।
‘संचार मन्त्रालयमा डेमो गरिएको होइन। हामीकहाँ नगरेपछि डिभाइसबारे थाहा हुने कुरा भएन। म संचार सचिव हुँदा रेबिकासँग भेटेको भने हो,’ हाल महिला बालबालिका सचिव रहेकी अर्यालले भनिन्, ‘त्यो बेलामा पनि मैले मुलुकभित्र रहेका टेलिकम कम्पनी संरक्षण नगरि सतप्रतिशत विदेशी लगानी भित्र्याउनका लागि कानुन अभाव हुने कुरा गरेको थिएँ। राष्ट्रिय स्वार्थ हेरेर मात्रै लगानी ल्याउन दिनुपर्छ भन्ने मान्यता अहिले पनि छ।’
संचार मन्त्रालयका तात्कालिन सूचना प्रविधि विज्ञ डा. शालिकराम पराजुलीले डिभाइसको बारेमा आफू जानकार नभएको बताए।
‘स्टारलिंकका प्रतिनिधिले आएर भेटघाट गरेका हुन्। तर, हामीकहाँ डेमो गरेको थाहा छैन,’ उनले भने, ‘पूर्ववर्ती मन्त्रीका पालामा डिभाइससहित डेमो गरेको भए बेग्लै कुरा हो।’
पराजुलीले प्रधानमन्त्री निवास बालुवाटारमा भएको डेमोको बारेमा आफूलाई जानकारी नभएको बताए।
पोजेटिभ बनेर फर्किइन् रेबिका
बालेन प्रधानमन्त्री बनेपछि नेपाल आएकी रेबिका यो पटक भने आशाप्रद भएर फर्किएको स्रोतले बतायो। उनले सोमबार संचारमन्त्री तिमिल्सिनासँग भेटिन्। ‘संचारमन्त्री तिमिल्सिनालाई भेटेपछि रेबिकाले केही सकारात्मक रहेको जनाउ दिएकी छन्,’ स्रोतले भन्यो, ‘उनी आशावादी भएर फर्किएकी छन्।’

रेबिका र संचारमन्त्री तिमिल्सिनाबीच भएको भेटमा के-के विषयमा छलफल भयो भन्ने खुलेको छैन। स्रोतका अनुसार स्टारलिंकले नेपालको विद्यमान दूरसञ्चार कानुनअनुसार आफू नेपाल भित्रिन नसक्ने भन्दै परिमार्जन लागि आग्रह गरेको छ।
कुनै पनि विदेशी कम्पनीले नेपालको दूरसञ्चार क्षेत्रमा लगानी गर्दा अधिकतम ८० प्रतिशत हिस्सा राखेपनि बाँकी सेयरमा स्थानीय साझेदार राख्नुपर्ने प्रावधान छ।
तर स्टारलिंक स्थानीय साझेदार भित्र्याउँदैन। स्टारलिंकले पृथ्वीदेखि करिब ५५० किलोमिटरको दूरीमा हजारौं सेटलाइट राखिसकेको छ। अहिले नै विश्वका सबै स्थानमा इन्टरनेट सेवा दिन सक्ने स्टारलिंकको दाबी गरेको छ। स्टारलिंकलाई नेपाल भित्र्याउन अमेरिकी दूतावास निकै सक्रिय छ।
सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा रोजर्सले सोमबार सञ्चारमन्त्री तिमिल्सिनासँगको भेटमा स्टारलिंकलाई लक्षित गर्दै आफ्नो मुलुकका निजी कम्पनी नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएकी थिइन्।

उनले नेपालले सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा लगानीमैत्री वातावरण थप सुदृढ बनाउन सके अमेरिकी निजी क्षेत्रको लगानी आकर्षित हुनसक्ने बताएकी हुन्।











