इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आइतबार राति हुँदैछ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ पौने ८ बजे साविक विजेता रोयल च्यालेन्जर्स बेङ्ग्लुरु र गुजरात टाइटन्स आमनेसामने हुँदैछन्।
यी दुवै टोली दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछन्। यस सिजन यी दुई टोलीबीच तीन पटक भेट भइसकेको छ। जसमा बेङ्ग्लुरुले दुई खेल जितेको छ भने गुजरातले आफ्नो घरेलु मैदानमा एक खेल जितेको छ।
लिग चरणमा अंकतालिकामा बेङ्ग्लुरु शीर्षस्थानमा र गुजरात दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए। पहिलो क्वालिफायरमा बेङ्ग्लुरुले गुजरातमाथि ९२ रनको जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। गुजरातले दोस्रो क्वालिफायरमा राजस्थानमाथि ७ विकेटको जित निकालेर फाइनलको यात्रा तय गरेको थियो।
यी दुई टोली ९ पटक आमनेसामने भएका छन्। यसमा गुजरातले ४ तथा बेङ्ग्लुरुले ५ पटक खेल जितेका छन्।
जारी संस्करणमा गुजरातका कप्तान शुभमन गिल र साइ सुदर्शन उच्च लयमा रहेका ब्याटर हुन्। यी दुईलाई रोक्ने चुनौती बेङ्ग्लुरुसामू हुनेछ। बलिङमा कागिसो रबाडाको प्रदर्शन उच्च छ।
त्यस्तै, बेङ्ग्लुरुमा धुरन्धर ब्याटर बिराट कोहली र रजत पतिदारको लय उच्च छ। बलिङमा भुवनेश्वर कुमारको उच्च लयमा छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अहमदाबादमा होटल पाउन मुस्किल स्थिति छ भने फ्लाइटको मूल्य पनि ह्वात्तै बढेको छ। सामान्य बेलामा ४ देखि ५ हजारसम्मको फ्लाइट मूल्य नै ३५ हजार सम्म पुगेको जनाइएको छ।
त्यस्तै, स्थिति होटलको पनि छ। सामान्य समयमा ५ देखि ७ हजार मूल्य पर्ने होटलको शुल्क २० देखि ३६ हजारसम्म पुगेको भारतको अखबर भास्कर ले जनाएको छ।
अहमदाबादमा अहिले पर्यटनको अफसिजन चले पनि २०० करोड भारतीय रुपैयाँ सम्मको बुस्ट मिल्ने दाबी गरिएको छ।










