आईपीएल अक्सनका चार महँगा खेलाडी नै छैनन् प्लेअफमा, १.१५ अर्ब रुपैयाँ व्यर्थ



बिजमाण्डू
२०८३ जेठ १३ गते १३:३७ | May 27, 2026
आईपीएल अक्सनका चार महँगा खेलाडी नै छैनन् प्लेअफमा, १.१५ अर्ब रुपैयाँ व्यर्थ


इण्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ चरणका खेलहरू सुरु भइसकेको छ। पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले उपाधिनजिक स्थान बनाएको छ।

Tata
GBIME

अब गुजरातले दोस्रो क्वालिफायर खेल्नेछ। त्यसका लागि उसले सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यसपटक आईपीएलमा एउटा रोचक ट्रेन्ड देखिएको छ। धेरै पैसा खर्चिएका र स्टार खेलाडीले भरिएका टोलीभन्दा सन्तुलित टोलीहरू बढी सफल भएका छन्। स्वामित्व परिवर्तन भएका र कम दबाबमा रहेका टोलीले निरन्तर राम्रो प्रदर्शन गरेका छन्।

बेङ्ग्लुरु, गुजरात, हैदराबाद र राजस्थानले टोलीको सन्तुलन र स्थिर खेलमा भरोसा गरे। सिजन सुरु हुँदा केही टोलीलाई बलियो दाबेदारसमेत मानिएको थिएन। तर, उनीहरूले लगातार अंक जोड्दै प्लेअफ यात्रा तय गरेका हुन्।

अर्कोतर्फ, अक्सनमा ठूलो लगानी गरेका केही टोली अपेक्षाअनुसार चम्किन सकेनन्। महँगा खेलाडीहरू धेरै खेलमा प्रभावशाली बन्न सकेनन्। चोट, अस्थिर संयोजन र निरन्तर परिवर्तनले पनि केही टोली समस्यामा परे।

यसले फेरि एकपटक आईपीएलमा ठूलो खर्च मात्रै सफलताको ग्यारेन्टी होइन भन्ने देखाएको छ।

महँगा सुपरस्टार फ्लप!

आईपीएलमा यसपाला महँगा खेलाडी चलेनन्। यसपालाको अक्सन र यसअघि नै महँगो मूल्यमा विभिन्न फ्रेन्चाइजमा पुगेका खेलाडीहरूको प्रदर्शन बिर्सनलायक रह्यो। यो अक्सनका सबैभन्दा महँगा ८ खेलाडीमध्ये अब प्लेअफमा एक जना खेलाडीमात्र हुनेछन्।

२०२६ को आईपीएल अक्सनमा सबैभन्दा महँगा खेलाडी थिए क्यामरन ग्रिन। उनलाई कोलकाताले २५ करोड २० लाख भारतीय रुपैयाँमा लिएको थियो। त्यस्तै, मथिसा पथिरानालाई पनि कोलकाताले नै १८ करोड भारुमा लिएको थियो। यी दुई महँगा खेलाडी भित्र्याएको कोलकाता प्लेअफमा पुग्न सकेन।

त्यस्तै, तेस्रो र चौथो महँगा खेलाडी थिए कार्तिक शर्मा र प्रशान्त वीर। यी दुवैलाई चेन्नइ सुपर किंग्सले समान १४ करोड २० लाख रुपैयाँ खर्चिएर किनेको थियो। चेन्नइ पनि प्लेअफ पुग्न सकेन।

यो सूचीको पाँचौँ स्थानमा रहेका लिआम लिभिङ्स्टोनले भने आफ्नो टोलीलाई प्लेअफमा पुर्‍याउन सफल भए। उनलाई सनराइजर्स हैदराबादले १३ करोडमा लिएको थियो। उनीपछि यो सूचीको नवौँ नम्बरमा रहेका रवि विश्नोइले आफ्नो टोली प्लेअफमा पुर्‍याए। उनलाई राजस्थान रोयल्सले ७ करोड २० लाखमा लिएको थियो।

स्वामित्व फेरिएका दुवै टोली प्लेअफमा

केही महिना अघिमात्र आईपीएलका दुई ठूला फ्रेन्चाइजहरूको स्वामित्व कीर्तिमानी मूल्यमा बिक्री भएको थियो। साविक च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्ग्लुरु (आरसीबी) र राजस्थान रोयल्सको स्वामित्व क्रमशः १.७८ बिलियन र १.६३ बिलियन अमेरिकी डलरमा बिक्री भएको थियो।

नेपाली रुपैयाँमा हिसाब गर्दा यी दुई टोलीको कुल मूल्य करिब साढे ४ खर्ब हुन आउँछ। यसमध्ये आरसीबी करिब २ खर्ब ३९ अर्ब र राजस्थान करिब २ खर्ब १८ अर्ब नेपाली रुपैयाँमा बिक्री भएका हुन्।

व्यवस्थापनको परिवर्तनले आईपीएलका टोलीको प्रदर्शनमा प्रभाव पार्न सक्ने आँकलन पनि थियो। तर, यसरी प्रतियोगिता निकट आउँदै गर्दा गरिएको स्वामित्व परिवर्तनले टोलीमा कुनै असर परेन। यी दुवै टोली प्लेअफमा पुगे।

स्टारले भरिएको कोलकाता र मुम्बईको दुर्दशा

मुम्बईको वानखेडे र कोलकाताको इडन गार्डेन : यी दुई रंगशाला केवल क्रिकेटका मैदान मात्र होइनन्, आईपीएलका दुई सबैभन्दा सफल साम्राज्य मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सका विरासत हुन्।

सन् २०२६ को मेगा अक्सन सकिँदा यी दुवै टोलीका मालिकहरूको अनुहारमा एउटा विजयी मुस्कान थियो। उनीहरूसँग पैसा थियो, स्टार खेलाडी थिए र महँगो टिम थियो।

तर, क्रिकेटको ब्याट र बलले कर्पोरेट एकाउन्टिङ र ब्रान्ड भ्यालु चिन्दैन। लिग चरण सकिँदा यी दुई टोलीको अवस्था तासको महल ढले जस्तै भयो।

मुम्बई इन्डियन्सको व्यवस्थापनले यस पटक आफ्ना पुराना गल्तीहरूबाट केही सिकेको दाबी गरेको थियो। उनीहरूले युवा प्रतिभाहरू खोज्ने भनेका थिए।

नतिजा स्वरूप, टोलीका नयाँ र कम मूल्यका युवा खेलाडीहरूले मैदानमा उत्कृष्ट प्रदर्शन गरे। मुम्बईको स्काउटिङ टिमले उनीहरू भविष्यका स्टार चिन्न माहिर छन् भनेर प्रमाणित गरे।

तर, मुम्बईको यो सफलतालाई उनीहरूकै ‘सुपरस्टार इन्भेस्टमेन्ट’ सफल बनाइराख्न सकेन।

टोलीका स्टार खेलाडीहरू कप्तान हार्दिक पाण्ड्या र सूर्यकुमार यादवको प्रदर्शन यो सिजन इतिहासकै खराब रह्यो। सूर्यकुमारको ब्याट चल्न सकेन भने हार्दिकको अलराउन्ड प्रदर्शन र कप्तानी दुवै दिशाहीन देखियो।

त्यसमाथि जसप्रित बुमराह जस्ता प्रिमियर बलरले सुरुवाती ९ खेलमा मात्र ३ विकेट लिन सके। ती युवा खेलाडीहरूले जतिसुकै मिहिनेत गरे पनि टिमको कोर नै चल्न सकेन।

इडन गार्डेनको कथा झन् कारुणिक बन्यो।

अनुभवी अजिंक्य रहाणेको काँधमा कोलकाताको कप्तानी सुम्पिँदा फ्यानहरूले एउटा सन्तुलित र सुझबुझपूर्ण खेलको अपेक्षा गरेका थिए। तर, सिजनको सुरुवातमै बिर्सनलायक प्रदर्शन गरेका उनीहरू पूरै सिजन यसबाट माथि उठ्न सकेनन्।

पहिलो त अक्सनमा महँगो रकममा भित्र्याएका क्यामरुन ग्रीन नै चलेनन्। ग्रीनलाई टोलीको गेम-चेन्जर अलराउन्डर मानिएको थियो। तर मैदानमा उनी न त ब्याटिङमा टिके, न बलिङमा किफायती साबित भए।

कप्तान रहाणेले हरेक खेलपछि रणनीति परिवर्तन गरिरहे। उनले ओपनिङ जोडीदेखि बलरहरूसम्म फेरे।

तर, सुरुवाती लगातारका हारहरूले तोडिदिएको टोलीको ‘कन्फिडेन्स’ फर्काउन रहाणेको कुनै पनि योजनाले मैदानमा काम गरेन। कोलकाताको यो सुरुवात एउटा यस्तो खाडल बन्यो, जसमा उनीहरू जति निस्किन खोज्थे, त्यति नै भासिँदै गए।