काठमाडौं। नेपाली महिला टोलीले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। भारतको गोआस्थित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न उद्घाटन खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफमा नेपालले बनाएको अग्रता नै खेलको निर्णायक बन्न पुग्यो। नेपालका लागि खेलको २३औं मिनेटमा गीता रानाले गरेको गोल नै टोलीको जितका लागि पर्याप्त भयो। पहिलो हाफमा १ गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा भने थप गोल गर्न सकेन, यद्यपि भुटानलाई पनि गोल गर्ने कुनै अवसर दिएन।
समूह ‘ए’मा नेपालसहित भुटान र श्रीलंका छन्। समूह ‘बी’मा भारत, बंगलादेश र माल्दिभ्स छन्। दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। नेपालको आजको जितसँगै सेमिफाइनलको सम्भावना प्रबल बनेको छ।
समूह ‘बी’बाट समूह विजेता र उपविजेता बनेर पूर्व च्याम्पियन टोलीहरु भारत र बंगलादेश आउने बलियो सम्भावना छ। यस्तोमा उपाधिको लक्ष्य लिएर भारत पुगेको नेपालले सबैभन्दा ठूलो चुनौती सेमिफाइनल र फाइनलमै हुने देखिन्छ।










