काठमाडौं। सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले लगानी गर्ने क्षेत्र बढाएको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत ती तीन संस्थाले लगानी गर्ने क्षेत्र बढाइदिएको हो।
नागरिक लगानी कोषले अब म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड वा भेन्चर क्यापिटल फण्डमा लगानी गर्न पाउने भएको छ।
कोषले यसअघि ‘वाणिज्य बैंक, वित्तीय संस्था, बीमा कम्पनी वा त्यस्तो संस्था वा कम्पनीको सेयरमा लगानी गर्न सक्ने’ व्यवस्था रहेकामा अब म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड वा भेन्चर क्यापिटल फण्डमा पनि लगानी गर्न पाउने गरी नागरिक लगानी ऐन कोष संशोधन गरिएको छ।
त्यस्तै कर्मचारी सञ्चय कोषले पनि म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका इकाइमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ।
कोषले यसअघि कर्मचारी वा स्वरोजगारमा संलग्न व्यक्तिको सहभागितामा सामूहिक लगानी योजना (म्युचुअल फण्ड) सञ्चालन गर्ने व्यवस्था रहेकामा ऐन संशोधन गरी अब म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्ने व्यवस्था थपिएको हो।
यस्तै सामाजिक सुरक्षा कोषले पनि अब म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्न पाउने भएको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन संशोधन गरेर कोषले म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्न पाउने व्यवस्था गरिएको हो।









