सेयर बजार २५.८१ अंक घटेर २७४४.४५ विन्दुमा, कारोबार रकममा लगातार गिरावट



बिजमाण्डू
२०८३ बैशाख १६ गते १५:१९ | Apr 29, 2026
सेयर बजार २५.८१ अंक घटेर २७४४.४५ विन्दुमा, कारोबार रकममा लगातार गिरावट


काठमाडौं। सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक २५.८१ अंक घटेर २७४४.४५ विन्दुमा आएको छ। सरकारले पुँजी बजारको सुधारका लागि काम गरिरहेका खबर बाहिर आइरहँदा पनि लगानीकर्ता उत्साहित देखिएका छैनन्।

Tata
GBIME

साताको तेस्रो कारोबार दिन विकास बैंक, म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूह सबै घटेका छन्, जसको असर बजार सूचकमा परेको हो। उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको सूचक सबैभन्दा धेरै २.२४ प्रतिशतले घटेको छ।

बजारमा २३५ कम्पनीको सेयर मूल्य घटेको छ। कुमारी बैंकको ऋणपत्रको इकाई मूल्य सर्वाधिक ११.४६ प्रतिशतले घटेको छ। यस्तै शिखर पावरको सेयर मूल्य ९.९२ र पाल्पा सिमेन्ट ७.७९ प्रतिशतले घटेको छ।

बजारमा ३० कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको स्थिर छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशत बढेको छ। सूचकसँगै कारोबार रकम घटेको छ।

मंगलबार ६ अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा बुधबार ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ।

रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै २४ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, पाल्पा सिमेन्टको २० करोड २२ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।