संसद्को नेतृत्व दुई दशकपछि कम्युनिष्टको कब्जाबाट बाहिर, तारानाथपछि गैरकम्युनिष्ट सभामुख डीपी



बिजमाण्डू
२०८२ चैत्र २२ गते १२:३९ | Apr 5, 2026
संसद्को नेतृत्व दुई दशकपछि कम्युनिष्टको कब्जाबाट बाहिर, तारानाथपछि गैरकम्युनिष्ट सभामुख डीपी


काठमाडौं। प्रतिनिधि सभाले दुई दशकपछि गैरकम्युनिष्ट सभामुख पाएको छ। गैरकम्युनिष्टका रुपमा दुई दशकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल सभामुख बनेका हुन्।

Tata
GBIME

डीपी आइतबार निर्विरोधरुपमा सभामुख निर्वाचित भएसँगै प्रतिनिधि सभामा दुई दशकदेखि कम्युनिष्टको नेतृत्वमा ब्रेक लागेको छ।

२०५६ सालमा नेपाली कांग्रेसका तारानाथ रानाभाट सभामुख बनेकामा उनको कार्यकाल २०५९ मा सकिएको थियो। त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिएका थिए।

२०६२/६३ को राजनीतिक परिवर्तनबाट पुनर्स्थापित प्रतिनिधि सभामा एमाले नेता सुवास नेम्बाङले सभामुखको जिम्मेवारी सम्हालेयता संसद्को नेतृत्व एमाले र माओवादीबाट बाहिर गएन।

पुनर्स्थािपत प्रतिनिधि सभाका अलावा संविधान सभाको पहिलो र दोस्रो निर्वाचनपछिको व्यवस्थापिका संसद्‍मा पनि नेम्बाङले नै सभामुखको रुपमा काम गरे।

२०७२ आसोजमा संविधान जारी भएपछि सभामुख पद तत्कालीन माओवादी केन्द्रको पोल्टामा गयो। तत्कालीन माओवादी केन्द्रका तर्फबाट ओनसरी घर्ती सभामुख बनिन्। एमालेलाई प्रधानमन्त्री र राष्ट्रपति दिएर तत्कालीन माओवादी केन्द्रले सभामुख पद लिएको थियो।

२०७४ मंसिरमा भएको निर्वाचनमा एमाले र तत्कालीन माओवादीले गठबन्धन गरे। निर्वाचनपछि तत्कालीन माओवादीका कृष्णबहादुर महरा सभामुख बने।

यौन दूर्व्यबहारको मुद्दाले महराको जागिर गएपछि २०७६ असोज १२ गते तत्कालीन माओवादीकै अग्निप्रसाद सापकोटा सभामुख बने।

२०७९ मंसिरमा भएको निर्वाचनपछि एमाले र तत्कालीन माओवादी मिल्दा सभामुख एमालेको भागमा पर्‍यो। देवराज घिमिरे २०७९ माघ ५ गते सभामुख बने।

२०८२ फागुन २१ गतेको निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पत्तासाफ भए। कांग्रेसले ३८, एमालेले २५ र नेकपाले १७ सिटमा चित्त बुझाए। निर्वाचनमा रास्वपाले करिब दुई तिहाइ अर्थात १८२ सिट ल्याएका कारण यसपालि अरु दलले उम्मेदवारी नै नदिएपछि सभामुखमा रास्वपाका अर्याल निर्विरोध निर्वाचित भएका हुन्।

प्रजातन्त्र पुनर्बहालीपछि २०४८ मा भएको निर्वाचनपछि कांग्रेसका दमननाथ ढुंगाना २०५१ को निर्वाचनपछि कांग्रेसकै रामचन्द्र पौडेल सभामुख बनेकामा पौडेल अहिले राष्ट्रपति छन्।