यस वर्षको एसईई परीक्षा बिहीबार बिहान सुरु भएको छ। यस वर्ष परीक्षार्थी संख्या ५ लाख १२ हजार ४२१ छ। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी छन्।
परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ। २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षार्थी छन्। परीक्षाका लागि देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र छन्।

परीक्षामा सहभागी हुनेमा फरक क्षमताका बालबालिकाको संख्या पनि उल्लेख्य छ। काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माविका विद्यार्थी गोकर्णेश्वरको चामुण्डा मावि केन्द्रबाट परीक्षामा सहभागी छन्।

खगेन्द्रका ४३ जना विद्यार्थीले यसपटक एसईई परीक्षा दिइरहेका छन्। खगेन्द्र नवजीवनका प्रधानाध्यापक राघवप्रसाद दवाडीका अनुसार यसपटक ४ जना फरक क्षमताका विद्यार्थी परीक्षामा सामेल आलोक शाह, विनोदप्रसाद अधिकारी, अमर घले र सुपन गुरुङले सहयोगी राखेर जाँच दिँदैछन्।

‘आइरन गेट’ भनिने यो परीक्षाका लागि विद्यार्थीमा उत्साह छ। विद्यालय र शिक्षकले विद्यार्थीहरुलाई शुभकामना दिएर परीक्षा केन्द्रमा पठाएको प्रधानाध्यापक दवाडीले बताए।























