खेलाडीपछि एन्फामा क्लबहरूको प्रदर्शन : चुनावी माहोलमा यी हुन् क्लबका ७ माग



प्रवीण रानाभाट
२०८२ चैत्र २ गते १३:४८ | Mar 16, 2026
खेलाडीपछि एन्फामा क्लबहरूको प्रदर्शन : चुनावी माहोलमा यी हुन् क्लबका ७ माग

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)मा शहीद स्मारक लिगका क्लबहरूले प्रदर्शन गरेका छन्। अघिल्लो हप्तामात्र फुटबल खेलाडी संघले आन्दोलन र तालाबन्दी गरेर चैत अन्तिममा ‘ए’ डिभिजन लिग गराउने लगायतको ३ सहमति गरेको थियो।

Tata
GBIME
Nepal Life

यता क्लबहरूले भने ७ बुँदै माग अघि सार्दै एन्फामा धर्ना दिएका हुन्। उनीहरूले लिगका लागि ट्रान्सफर विन्डो, वर्क परमिट लगायतका प्राविधिक पक्षका मागहरू राख्दै धर्ना दिएका छन्।

एन्फाको संस्थापनले ‘अर्ली इलेक्सन’ बाँकी स्टेकहोल्डर र नियामक राष्ट्रिय खेलकुद परिषद्लाई बाइपास गरेरै अघि बढाइरहेको छ। एन्फाले जिल्ला र प्रदेशको चुनाव नगरी सिधै केन्द्रको चुनाव गरेर पुरानै मतादाताबाट स्वतः दोहोरिने प्रपञ्च रचेको इतरले आरोप लगाउँदै आएको छ। एन्फाले भने फ्रेस म्यान्डेडमा जान चाहेको दाबी गर्दै आफ्नो बचाउन गर्दै आएको छ।

एन्फाले पहिला ‘ए’ डिभिजन लिग होम एण्ड अवेमा गर्ने बहस थालेको थियो। पछि यसबाट पछि हटेको छ।

त्यस्तै, क्लब लाइसेन्सिङमा एन्फा र क्लब एकअर्कालाई दोष देखाइरहँदा नेपाली क्लबको अन्तर्राष्ट्रिय सहभागिता अन्योलमा छ। यी सबै विषय चर्चामा आए पनि एन्फामा पछिल्ला विवादको मियो भने चुनावै देखिन्छ।

क्लबहरूको माग

१. एन्फा र ‘ए’ डिभिजन क्लबबीच लिगको सम्बन्धमा मिति २०८२/०७/१७ गते भएको कार्यतालिकासहितको सहमति कार्यान्वयन गर्नुपर्ने।

२. राष्ट्रिय लिग चालु रहेको अवस्थामा ट्रान्सफर विन्डो खुल्ला नगरी कसरी अर्को क्लबमा खेलाडी सम्झौता गर्न सकिन्छ? तसर्थ क्लबको सम्झौताअनुसार कार्य गर्नुपर्ने।

३. क्लबहरूले विदेशी खेलाडी आबद्ध गर्दा वर्क परमिट लिनका लागि पर्याप्त समय आवश्यक पर्ने हुन्छ। राष्ट्रिय लिगमै पनि एन्फाले वर्क परमिटका लागि सहजीकरण नगरेकोले अन्योलता सिर्जना भएको छ। त्यसैले विदेशी खेलाडीहरूको हकमा विन्डो ओपन गरिएका द्वार प्रणालीबाट वर्क परमिट लिने व्यवस्था अविलम्ब गर्नुपर्ने।

४. प्रतियोगिता नियमावलीअनुसार शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबको सहभागिता हुने भन्ने उल्लेख गरिएकोले लिगको वैधता तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरी १४ वटा क्लबको सहभागिता सुनिश्चित गर्नुपर्ने।

५. मिति २०८२/११/२६ गते क्लबहरूले एन्फालाई बुझाएको ध्यानाकर्षण पत्रविपरीत एकलौटी तवरले सहभागी क्लबहरूसँग छलफल नै नगरी मनोमानी तवरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा उक्त निर्णय अविलम्ब सच्याई क्लबहरूसँग सहमतिअनुसार निर्णय गर्न अनुरोध गर्दछौँ।

६. क्लबहरूसँगको सहमतिबमोजिम राष्ट्रिय लिग समाप्त भएको ३० दिनपछि ‘ए’ डिभिजन लिगका लागि प्रारम्भिक छलफल सुरु गरी लिगबारे निर्णय गर्ने सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा विनाछलफल र सहमतिबेगर राष्ट्रिय लिग चलिरहेको अवस्थामा लिगको मिति तय भएकोमा गम्भीर असहमति जनाउँदै सहभागी क्लब तथा सम्झौताबमोजिम कार्यतालिका प्रकाशित गर्न अनुरोध गर्दछौँ।

७. लिगसम्बन्धी प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चितता गरी क्लबहरूसँगको सहमतिमा मात्र लिगको मिति तय गर्नुपर्ने।