काठमाडौं। साढे ३ अर्ब रुपैयाँ लगानीमा काठमाडौंको रामकोटमा सुपरक्लाउड डेटा सेन्टर निर्माण गर्ने सम्झौता २२ महिनादेखि काजगमै सीमित भएको छ।
२०८१ वैशाख तेस्रो साता भएको लगानी सम्मेलनमा भारतको योट्टा डेटा सर्भिसेसले नेपालको बीएलसी होल्डिङ प्रालिसँग मिलेर डेटा सेन्टर निर्माण गर्ने सम्झौता भएकामा अहिलेसम्म काम अगाडि नबढेको हो।
सम्झौताको २४ महिनामा निर्माण पूरा हुने अपेक्षा गरिएकामा लगानी बोर्डले समेत सम्झौता कार्यान्वयनका लागि ताकेता गरेको छैन। बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले डेटा सेन्टर निर्माणका लागि अहिलेसम्म प्रस्ताव नआएको र बोर्डले पनि फलोअप नगरेको बताए।
‘लगानी सम्मेलनमा भएको सम्झौता अनुसार डेटा सेन्टर निर्माणका लागि हामीकहाँ प्रस्ताव आएको छैन। हामीले पनि फलोअप गरेका छैनौं,’ ज्ञवालीले भने।
बीएलसी होल्डिङका कार्यकारी निर्देशक मनिष कुमार खेमकाले नयाँ सरकारले डेटा सेन्टरका लागि लिने नीति अनुसार काम अगाडि बढ्ने बताए।
‘हामीले सिंगापुरको एक प्रतिष्ठित कम्पनीलाई परामर्श सेवाका लागि नियुक्त गरेका छौं। उनीहरुले एआई प्रविधि प्रयोग गरेर अध्ययन गरेका छन्। प्रतिवेदन सार्वजनिक भएपछि र अब बन्ने सरकारले आईटी क्षेत्रका लागि लिने नीति अनुसार काम अगाडि बढ्छ,’ उनले भने।
सम्झौतामा बीएलसी होल्डिङकी प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टा डेटा सर्भिसेस सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका थिए ।











