काठमाडौं। शनिबार इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि सुरु भएको संकटका कारण गल्फ क्षेत्र (खाडी मुलुकहरू)को आकाश बन्द गरिएका छन्।
त्यसको प्रत्यक्ष असर नेपालबाट त्यस क्षेत्रतर्फ हुने उडानमा पनि परेको छ। खाडी मुलुक तथा त्यस क्षेत्र हुँदै अन्यत्र जाने यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी मुलुकतर्फ जाने सबै उडानहरू रद्द गरिएका छन्। फ्लाई दुबई, कतार एयरवेज, हिमालय एयरलाइन्सका उडानहरू रद्द भएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर टेकनाथ सिटौलाले दिउँसो १ बजेदेखि खाडी मुलुक र त्यहाँ भएर अन्य देश जाने सबै उडान रद्द भएको जानकारी दिए। उनले गल्फ क्षेत्रको एयर स्पेस नखुलेसम्म उडान नहुने बताए।


उताबाट नेपालतर्फ जहाज नआएको उनले बताए। यहाँ भएका जहाजले पनि उडान गर्न नपाएको जानकारी दिँदै उनले विमानस्थलमा आएका यात्रुहरूको भिडलाई विमान कम्पनीसँग समन्वय गरेर घर फर्कन आग्रह गरिएको उनले बताए।
कतार एयरवेजले कतार जाने २ वटा उडान रद्द गरेको छ। ती दुई उडानमा ६०० भन्दा बढी यात्रु थिए।

हिमालयन एयरलाइन्सका ३ वटा उडान रद्द भएका छन्। एयरलाइन्सले दोहा, दमाम र दुबई जाने उडान स्थगित गरेको हो।
जजिरा एयरलाइन्सले कुवेत जाने आइतबारको उडान रद्द गरेको छ।

टर्किस एयरलाइन्सको कुनै पनि उडान रद्द भएको छैन। साढे १२ बजे २८४ जना यात्रु बोकेर इस्तानबुलतर्फ उडान भरेको स्टेसन म्यानेजर रेसु सिंहले जानकारी दिइन्।
फ्लाइ दुबईका दुई वटा उडान रद्द भएका छन्। कुवेत एयरलाइन्सले आज १२ बजे कुवेतका लागि तय गरेको उडान पनि रद्द गरेको छ। उक्त उडानमा १३४ जना यात्रु थिए। उनीहरू युरोप, अमेरिका र लन्डन जाने यात्रु थिए।
उडान रद्द भएको जानकारी इमेलमार्फत दिइएको कुवेत एयरलाइन्सका जनरल म्यानेजर रुपेश कुमार झाले बताए।


नेपाल एयरलाइन्सले पनि सूचना जारी गर्दै खाडी मुलुकहरूको अवस्थाका कारण शनिबार र आइतबारका लागि तय भएको आरए २२९/२३० काठमाडौं-दुबई-काठमाडौं र आरए २३९ काठमाडौं-दोहा-काठमाडौं उडान अर्को सूचना नभएसम्म रद्द गरिएको जनाएको छ।
दमाम उडानको अवस्थाबारे चाँडै सूचना अद्यावधिक गरिने एयरलाइन्सले जनाएको छ। यात्रुहरूलाई वेबसाइट र सामाजिक सञ्जालमार्फत जानकारी लिन अनुरोध गरिएको छ।
टिकट काट्दा दिएको इमेलमार्फत पनि जानकारी पठाइने जनाइएको छ।


फ्लाई दुबईले हवाई क्षेत्र बन्द भएका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट संचालन हुने आफ्ना उडानहरू अर्को सूचना नभएसम्म अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। यो निर्णय उडान सुरक्षालाई ध्यानमा राखेर र उड्डयन नियामक निकायको आवश्यकताअनुसार गरिएको बताइएको छ।
प्रभावित यात्रुहरूलाई कार्यालय, अधिकृत ट्राभल एजेन्ट वा आधिकारिक सञ्चार माध्यमसँग सम्पर्कमा रहन अनुरोध गरिएको छ।
















