विदेशी नम्बर प्लेटसहित ज्यागुअर गाडी भित्र्याइएको घटना सामसुम पारिंदै, भन्सारले खोजेन तथ्य



शुक्र गिरी
२०८२ चैत्र १८ गते १५:२७ | Apr 1, 2026
विदेशी नम्बर प्लेटसहित ज्यागुअर गाडी भित्र्याइएको घटना सामसुम पारिंदै, भन्सारले खोजेन तथ्य

काठमाडौं। विदेशी नम्बर प्लेटमै भित्र्याइएका लक्जरी ज्यागुअर गाडीको विवादमा भन्सार प्रशासन ठोस निष्कर्षमा पुग्न असफल भएको छ।

Tata
GBIME
Nepal Life

भन्सार विभागको निर्देशनपछि चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयले गरेको छानबिन निष्कर्षविहीन भएको हो। कार्यालयको छानबिन प्रतिवेदनमा विदेशी नम्बर प्लेटमा आयात गरिएको गाडी नयाँ वा पुरानो भन्ने नै खुलाइएको छैन।

कार्यालयले आयातकर्ताले पेस गरेको स्पष्टीकरणलाई नै आधार मानेर गाडीको नम्बर प्लेट अस्थायी भएको भन्दै मुद्दा सामसुम पार्ने तयारी गरेको छ।

व्यवसायी किशोर बादे श्रेष्ठले कारकब गियर्स नामक कम्पनीका नाममा दुई महिनाअघि वीरगंज भन्सार कार्यालय हुँदै भित्र्याएका विदेशी नम्बरप्लेटसहितका ६ वटा ज्यागुअर आई-पेस गाडीमध्ये ५ वटा चोभारस्थित भन्सार कार्यालय परिसरमा छन्। एउटा गाडी भने यसअघि नै यातायात व्यवस्था विभागमा दर्तासमेत भइसकेको छ।

विदेशी नम्बर प्लेटसहितको गाडी कुटनीतिक प्रयोजनमा बाहेक आयात गर्नै पाइँदैन। अन्यथा गैरकानुनी मानिन्छ। नेपालको कानुनअनुसार विदेशमा दर्ता भएको र सेकेन्ड ह्यान्ड सवारी आयात तथा दर्ता गर्न मिल्दैन।

विदेशी नम्बर प्लेटमा गाडी आयात गरेको समाचार बाहिरिएपछि विभागले चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदनमा गाडी नयाँ वा पुरानो कुन हो भन्ने यकिन गर्नै कठिन भएको उल्लेख छ।

चोभारका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले छानबिनबाट ज्यागुअर आई-पेस गाडी नयाँ वा पुरानो छुट्याउने प्राविधिक तथा प्रमाणिक आधार नै स्पष्ट हुन नसकेको बताए।

‘नम्बर प्लेटविना गाडी निर्यात गर्न पाइँदैन भन्ने जानकारी त्यहाँको सम्बन्धित पक्षबाट आएको छ,’ भन्सार अधिकृत काफ्लेले भने।

छानबिनका क्रममा भन्सारले विदेशी कम्पनीसँग गाडी पुरानो हो कि होइन? ज्यागुअरको गाडी निर्यात गर्ने आधिकारिक डिलर हो कि होइन? नयाँ गाडी भए किन दर्ता गरेको जस्ता प्रश्न सोधेको थियो।

निर्यातकर्ता कम्पनीले नेपाली आयातकर्ता कम्पनीको पक्षमा जवाफ दिएको छ। श्रेष्ठले भित्र्याएका गाडीको नम्बर बेलायतको सवारी दर्ता प्रणालीमा कायमै रहेको पाइएको छ।

तर निर्यात प्रयोजनका लागि अस्थायी नम्बर प्लेट दिइएको भनिए पनि गाडी नेपाल भित्रिएको दुई महिना नाघिसक्दा समेत बेलायतको सवारी दर्ता प्रणालीमा नम्बर कायम रहनुले भने आशंका गर्ने आधार दिएको छ।

तर भन्सारका कर्मचारीहरु आयातकर्ताले दिएको विवरणका आधारमा गाडी जाँच पास रोक्ने पर्याप्त कानुनी आधार नभएको बताउँछन्। चोभार भन्सारले सम्पूर्ण विवरणसहितको प्रतिवेदन विभागमा बुझाइसकेको छ। ‘अब विभागले गर्ने निर्णयअनुसार नै प्रक्रिया अघि बढ्छ,’ काफ्लेले भने।

तर गाडी आयातकर्ताहरुका अनुसार अस्थायी नम्बर प्लेट भनेर गाडी ल्याउनुमा कैफियत छ। पहिले भारतबाट गुडाएर गाडी ल्याउँदा अस्थाइ नम्बर प्लेट दिने गरिन्थो। अहिले कन्टेनरमा ल्याउँदा दिइँदैन।

‘जहाज वा कन्टेनरमा ल्याउने गाडीलाई अस्थायी रुपमा दर्ता गर्ने भन्ने नै हुँदैन। हामी धेरै आयातकर्ताले युरोपबाट गाडी आयात गर्छौं। तर कुनै पनि गाडीमा अस्थायी नम्बर प्लेट राख्ने गरिएको छैन,’ एक आयातकर्ताले भने, ‘ज्यागुअरमा चाहिं किन आवश्यक पर्‍यो? जुन कम्पनीबाट ज्यागुअर गाडी नेपालमा निर्यात गरेको भनिएको हो त्यो कम्पनी उता ग्यागुअरको आधिकारिक बिक्रेता नै छैन। नेपालमा आयात गर्ने कम्पनी पनि ज्यागुअरको आधिकारिक बिक्रेता होइन। अझ ज्यागुअर गाडीको दर्ता नम्बर अहिले पनि बेलायती प्रणालीमा हुनु भनेको गडबडी छ भन्ने पुष्टि हुनु हो।’

कारकब गियर्स नामक कम्पनीका नाममा भित्र्याइएको ज्यागुअर गाडीको उत्पादन नै बन्द भइसकेको छ।