काठमाडौं । जेठ २८ यता लगातार ४ कारोबार दिन ओरालो लागेको नेप्से बुधबार रातो हुनबाट रोकियो। तर, ४ दिनमा ३० अंकले घटेको नेप्से हरियो हँदा एक अंक पनि बढ्न सकेन। ०.०८ अंकले मात्र बढ्यो। यस्तै जेठ २१ यता लगातार ४ दिनमा ४६ अंक गुमाएको नेप्से जेठ २७ गत जम्मा २.५७ अंकले बढेको थियो।
बजारमा निरन्तरजसो कारोबार रकम र सूचक घट्न थालेको अढाइ महिना भयो। फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचनपछि उत्साहित बनेको सेयर बजार चैत दोस्रो साता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेयता निरन्तर ओरालो लागिरहेको छ।
सूचकसँगै बजारमा सेयर किनबेच पनि घटेको छ। बुधबार सेयर किनबेच ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित भयो। निर्वाचनपछि बनेको बलियो सरकारले लगानीकर्तालाई त्रसित बनाउँदा त्यसको असर सेयर बजारमा देखिएको हो। प्रमाण बिना नै एकपछि अर्को व्यवसायीलाई नियन्त्रण लिइएपछि लगानीकर्ता हच्किएकामा मन्त्रीहरुका अराजक अभिव्यक्ति र निर्णयले उनीहरु थप त्रसित बनेका हुन्।
प्रधानमन्त्रीलाई लेखेको ‘म्यासेज’लाई लिएर सचिवलाई नै नियन्त्रणमा लिएकोदेखि अवकाशमा पठाउने कानुन बनाउने तयारी लगायत कारण सरकारी कर्मचारीमा पनि भयको वातावरण छ।
अझ सम्पत्ति छानबिनका कारण बहालवालादेखि अवकाशप्राप्त कर्मचारीमा आतंक मच्चिएको छ। कर्मचारीहरु अहिले सम्पत्ति विवरण बुझाउने विषयलाई लिएर विभिन्न कानुन व्यवसायीका ल फर्ममा धाइरहेका छन्। बहालवाला र अवकाशप्राप्त कर्मचारी सेयर बजारका लगानीकर्ता हुन्।
सरकारको कार्यशैलीले लगानीकर्ताको मनोबल घटेकाले त्यसको असर सेयर बजारमा परेको जानकारहरुको बुझाइ छ।
‘बहालवाला र अवकाशप्राप्त कर्मचारी सम्पत्ति विवरण भर्न व्यस्त छन्। उनीहरुले अहिले सेयर बजारमा लगानी गरेका छैनन्। लगानी गरेकाहरुले पनि बेचिरहेका छन्। व्यावसायिक क्षेत्रका मान्छेमा पनि त्रासको वातावरण छ। लगानीकर्ता ठूलो संख्यामा निराश रहेकाले बजार ओरालो लागेको हो,’ एक ब्रोकरले भने, ‘सरकारप्रति प्रशासन र व्यावसायिक क्षेत्रमा अविश्वास सिर्जना भएको छ। इतिहासकै सस्तो ब्याजदर हुँदा पनि किन कसैले बैंकबाट ऋण लिएर सेयरमा लगानी गरिरहेको छैन? कारण त्यही हो कि सरकारले लगानीको वातावरण बिगारिरहेको छ।’
एकपछि अर्को सरकारी धरपकडले ठूला लगानीकर्ता बजारबाटै पलायन हुन थालेको आकलन गर्न थालिएको छ। उनीहरु सेयर बिक्री गरेर निस्किएको हुन सक्ने लगानीकर्ताकै विश्लेषण छ।
‘बजार साइडवेजमा गएको छ। मान्छेहरु डराएका छन्। बजारमा नयाँ लगानीकर्ता आउने अहिले राम्रो समय हो। तर, नयाँ मान्छेहरु प्रवेश गरेको देखिंदैन,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले भने, ‘भएकाहरु पनि सेयर बेचेर सेटल भए जस्तो देखिन्छ। लगानीकर्ता पर्ख र हेरकै अवस्थामा छन् जस्तो लाग्छ।’
बालेनको नेतृत्वमा चैत १३ गते सरकार बन्नुअघि सेयर बजारमा दैनिक २३ अर्ब रुपैयाँसम्म किनबेच भएको थियो। नयाँ सरकार बन्नुअघि चैत ८ गते २३ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भएकामा पछिल्लो डेढ महिनायता एक दिन पनि १० अर्ब रुपैयाँको कारोबार भएको छैन। चैत ८ गते भएको कारोबारका लागि अहिले एक साता कुर्नुपर्ने स्थिति छ।
सेयर किनबेच मात्रै नभइ बजारमा सबै सूचक ओरालो लागिरहेका छन्। चैत १० गतेको बजार पुँजीकरणलाई आधार मान्ने हो भने लगानीकर्ताले पछिल्लो अढाइ महिनामा करिब साढे तीन खर्ब रुपैयाँ गुमाएका छन्। त्यतिबेला ५० खर्ब रुपैयाँ पुगेको बजार पुँजीकरण अहिले ४६ खर्ब ६१ अर्ब रुपैयाँमा आएको छ। जबकी यो बीचमा विभिन्न कम्पनीको आइपीओ थपिएको छ।
नयाँ सरकार बन्नुअघि २८६० अंकमा पुगेको नेप्से परिसूचक बुधबार २७०५ विन्दुमा आइपुगेको छ।
सरकारले सुशासनका नाममा सबै क्षेत्रलाई त्रसित बनाएकाले लगानीको माहौल नै बिग्रिएको अर्का ब्रोकरले बताए।
‘बजारमा माहौल नै छैन। सरकारसँग लगानीकर्ता विश्वस्त छैनन्। अहिलेको माहौलमा के आधारमा लगानी गर्ने? लगानीकर्तामा विश्वास बढाउनतिर सरकारको ध्यानै छैन,’ ती ब्रोकरले भने, ‘व्यवसायी र उद्योगीप्रति राज्यको जुन खालको नीति छ, त्यसको प्रभाव बजारमा देखिएको हो। सरकारी कदमले लगानीकर्ताको मनोबल नै गिरेको छ।’
बजार घट्दा लगानीकर्ताले मात्र सम्पत्ति गुमाएका छैनन्, सरकारलाई नै असर परेको छ। सेयर बजार बढेका बेला सरकारले एकै महिनामा करिब ४ अर्ब रुपैयाँसम्म पुँजीगत लाभकर प्राप्त गरेकामा यसपालि जेठमा ४३ करोडमा सीमित भयो।
सरकारले बजेटबाट पुँजीगत लाभकर २.५ प्रतिशत विन्दुले बढाएर १० प्रतिशत पुर्याएकाले लगानीकर्ताको मनोबल बढाउनतिर ध्यान नदिने हो भने साउनदेखि कारोबार अझै खुम्चिएर ढुकुटीमा असर पर्ने देखिन्छ।
‘हामी कहाँ संस्थागत लगानीकर्ता नै क्यास इज किङ भन्नेमा देखिए। तत्काल कुनै सकारात्मक संकेत नदेखिएपछि ठूला लगानीकर्ता होल्ड छन्,’ विश्लेषक अनलराज भट्टराईले भने, ‘मौद्रिक नीतिबाट रिफर्मको रिक्युमेन्ट खोजिरहेको छ। बैंकिङ क्षेत्रमा क्विडिटी बसेको छ। तर, यो बजारमा आउन सकेको छैन। मौद्रिक नीतिबाट सहजीकरण गरे एक खर्ब रुपैयाँ बढी रिलिज भएर क्यास फ्लो बढ्छ। तर लगानीकर्तामा ढुक्कको वातावरण चाहिन्छ।’










