विदेशी नम्बर प्लेटमा भित्रिएको ज्यागुअर गाडीको जाँचपास रोकियो, भन्सारले थाल्यो छानबिन



शुक्र गिरी
२०८२ फागुन ५ गते १६:३५ | Feb 17, 2026
विदेशी नम्बर प्लेटमा भित्रिएको ज्यागुअर गाडीको जाँचपास रोकियो, भन्सारले थाल्यो छानबिन

काठमाडौं। बिक्रीका लागि गैरकानुनीरुपमा विदेशी नम्बर प्लेटसहित आयात गरिएको ज्यागुअर गाडीको भन्सार जाँचपास रोकिएको छ। भन्सार कार्यालयले छानबिन गर्न सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

विदेशी नम्बर प्लेटसहितको एउटा गाडीको भन्सार जाँपास गरेका कारण आफू नै विवादमा परेपछि काठमाडौंको चोभारस्थित भन्सार कार्यालयले बाँकी गाडीको हकमा तत्कालका लागि प्रक्रिया अगाडि नबढाउने भएको हो।

व्यवसायी किशोर बादे श्रेष्ठले कारकब गियर्स नामक कम्पनीका नाममा भित्र्याएका विदेशी नम्बरप्लेटसहितका ६ वटा ज्यागुअर आई-पेस गाडीमध्ये ५ वटा चोभारस्थित भन्सार कार्यालय परिसरमा छन्।

भन्सार कार्यालयले एउटा गाडी भने करिब एक महिनाअघि नै छुटाएको थियो। त्यो गाडी केही दिनअघि यातायात कार्यालयमा दर्ता भइसकेको छ।

विदेशी नम्बर प्लेटसहितको गाडी कुटनीतिक प्रयोजनमा बाहेक आयात गर्नै पाइँदैन। त्यसलाई गैरकानुनी मानिन्छ।

गैरकानुनीरुपमा आयात गरिएका गाडी चोभारमा रहेको विषयमा अर्थ मन्त्रालय र भन्सार विभागले चासो देखाएपछि भन्सार कार्यालय जाँचपास रोकेर छानबिन गर्नतिर लागेको छ।

कार्यालयले विदेशी नम्बर प्लेटसहित भित्र्याइएको ज्यागुअर आई-पेस गाडी सेकेन्ड ह्यान्ड हो वा नयाँ भन्ने विषयमा छानबिन थालेको हो।

अर्थ मन्त्रालयका सचिव र भन्सार विभागका महानिर्देशकले समेत यस विषयमा आफूसँग सोधखोज गरेपछि प्रमुख भन्सार अधिकृत दयानन्द केसीले छानबिन अगाडि बढाएका हुन्।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले विदेशी नम्बर प्लेट राखेर गाडी आयात गरेको विषयमा आफूहरुले तथ्य बुझ्ने काम गरिरहेको बताए।

‘यो विशुद्ध नयाँ गाडी हो भनेर हेर्नुपर्छ। हाम्रा लागि यो नयाँ विषय हो,’ महानिर्देशक भण्डारीले भने, ‘आयातकर्ताले गाडी अस्ट्रियामा बनेको र निर्यातका लागि युकेमा इन्ट्री गर्न टेम्पोररी लाइसेन्स प्लेट दिएको भन्ने आएको छ। यस विषयमा भन्सार कार्यालयले छानबिन गरिरहेको छ। उत्पादक कम्पनी र युकेको सरकारी संयन्त्रसँग पनि जानकारी लिने काम भइरहेको छ।’  

भन्सार ऐन अनुसार ब्रान्ड न्यु गाडी मात्रै आयात गर्न पाइन्छ। अन्य देशमा दर्ता भएको गाडी ल्याउन पाइँदैन। सीमित अवधिका लागि नम्बर प्लेटसहितका गाडी भन्सारमा धरौटी राखेर ल्याउन पाइन्छ।

विदेशी कुटनीतिज्ञले आफ्ना लागि नम्बर प्लेट राखेर गाडी ल्याउन पाउँछन्। यसबाहेक व्यापारिक प्रयोजनका लागि नम्बर प्लेटसहित गाडी ल्याउन वर्जित छ।