काठमाडौं। काठमाडौं भित्रिने प्रमुख मार्ग कलंकी नजिकैको स्युचाटार क्षेत्रमा पानीको तलतल भएको दशकौं भयो। राजधानीका धेरै स्थानमा मेलम्चीको पानी पुगे पनि यहाँका बासिन्दासम्म त्यो सुविधा पुगेको छैन। न त पुरानै तवरबाट खानेपानी पुग्छ घरघरमा। स्युचाटारबासीका लागि पानीको मात्र दुईवटा विकल्प छन्।
पहिलो- वर्षौंदेखि चलिआएको बोरिङको पानी प्रयोग गर्ने।
दोस्रो- ट्यांकरमा पानी मंगाएर प्रयोग गर्ने।
२०२२ सालदेखि २०२७ सालसम्म विमानस्थल संचालन भएको स्युचाटार क्षेत्रमा पछिल्लो समय वस्ती तन्किरहेको छ। तर, बढ्दो घनाबस्तीका लागि नजिकै पानीको कुनै प्राकृति स्रोत छैन। त्यसैले उपभोक्ता समिति नै बनाएर पानी बोरिङ गरेर स्थानीयलाई वितरण गर्ने गरिँदै आएको दशकौं भइसकेको छ।
‘हाम्रोमा सुरु देखि नै डिप बोरिङको पानी प्रयोग गर्ने हो। यहीबाट नगरपालिकाको वडाहरुमा पानी जान्छ। मेलम्चीको पानी हाम्रोमा आएको छैन,’ स्युचारटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिसँग आबद्ध एक व्यक्तिले भने।
उनका अनुसार नागार्जुन नगरपालिकाको वडा ९ र ७ गरेर १००० भन्दा बढी घरमा बोरिङकै पानी जान्छ। पानी प्रयोग गरे बापत् मिटर अनुसारको शुल्क उपभोक्ता समितिले नै उठाउने गरेको छ। धेरैले भने पानी किनेर पनि प्रयोग गर्ने गरेको उनले सुनाए।

‘यहाँ पानीको मुल वा स्रोत छैन। पहिलादेखि नै उपभोक्ता समितिबाट काम हुँदै आएको हो। दुई दिन बिराएर घरघरमा पानी पठाउने गरिन्छ,’ उनले सुनाए।
पानीले तिर्खाइरहेको यही स्युचाटरमा सरकारले एआई कम्पयुटर सेन्टर संचालन गर्ने तयारी थालेको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत हजारौंको संख्यामा ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) खरिद गरेर यहाँ एआई सेन्टर स्थापना गर्ने महत्वाकांक्षी योजना अघि सारेको हो। तर, एआई सेन्टर केवल एउटा आधुनिक भवन र प्रविधि भएरमात्रै सम्भव हुने कुरा होइन।
यस्ता अत्याधुनिक संरचनाको निर्वाध संचालनका लागि पानीको निरन्तर आपूर्ति महत्वपूर्ण कुरा हो। त्यसैले बोरिङको भरमा जिजीविषा चलाइरहेको स्युचाटारमै एआई सेन्टर चलाउने निर्णय सरकारले कुनै पनि अध्ययन नगरी गरेको देखिएको जानकारहरु बताउँछन्।
मानिसलाई जीवित रहन जसरी पानी अपरिहार्य छ, ठ्याक्कै त्यसरी नै एआई डेटा सेन्टरलाई संचालन गरि राख्न पानी र पर्याप्त ऊर्जा आवश्यक पर्छ। एआई प्रोसेसिङका लागि प्रयोग हुने शक्तिशाली जीपीयूहरूले काम गर्दा अत्यधिक मात्रामा ताप उत्पन्न हुन्छ। यदि ती सर्भर र चिप्सहरूलाई समयमै चिस्याउन (कुलिङ) सकिएन भने सम्पूर्ण प्रणाली सेकेन्डभरमै ठप्प हुन सक्ने जोखिम रहन्छ।
स्युचाटारमा संचालनमा ल्याइने भनिएको एआई सेन्टरका लागि पानी निर्वाध कुलङ आवश्यक पर्छ। त्यसैले जेनेस सोलुसनका सीईओ अञ्जनी फुयाल परियोजनाको सफलताका लागि निर्बाध विद्युत आपूर्ति, अत्याधुनिक कूलिङ प्रणाली, दक्ष जनशक्ति र दिगो संचालन मोडेल तथा दीर्घकालीन माग सुनिश्चित हुनुपर्ने बताउँछन्।
उनले भने,’पूर्वाधारको अभावमा यस्तो महत्त्वाकांक्षी योजनाको कार्यान्वयन निकै चुनौतीपूर्ण देखिएको छ।’
एआई कम्प्युट पूर्वाधारमा ‘कुलिङ’ सबैभन्दा चुनौतीपूर्ण पक्ष भएको उनको बुझाइ छ। जीपीयूहरुले ठूलो मात्रामा ताप उत्पादन गर्ने भएकाले ‘लिकुईड कुलिङ’ लगायत उन्नत कुलिङ प्रविधिको आवश्यकता पर्न उनी बताउँछन्।

उनले भने, ‘कुलिङको लागत र दक्षता नै संचालन खर्च निर्धारण गर्ने प्रमुख कारकमध्ये एक बन्न सक्छ।’
किन स्युचाटार नै रोज्यो सरकारले ?
स्युचाटार क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको स्टेसन छ। काठमाडौंमा आपूर्ति हुने विद्युतको व्यवस्थापन र खपतको रेकर्ड यहीँको ग्रिड भवनबाट हुने गर्छ।
सरकारले प्राधिकरणको यही पुरानै सबस्टेसनको क्षमतालाई आधार बनाउँदै स्युचाटारमा नै एआई सेन्टर बनाउने तयारी गरेको सूचना तथा संचार मन्त्रालय स्रोत बताउँछ।
‘सबस्टेसन यहीँ छ। जसकारण निर्वाध सेन्टरमा विद्युत आपूर्ति हुन सक्छ। त्यसैले यही ठाउँ रोजिएको हो,’ मन्त्रालय स्रोतले भन्यो।
कति चाहिन्छ सेन्टरलाई पानी ?
वर्ल्डलिंक कम्युनिकेशन्सका ग्रुप चिफ टेक्निकल अफिसर समित जानाका अनुसार ५ मेगावाटसम्मको क्षमता भएको डेटा सेन्टरलाई काठमाडौंको मौसमले सहयोग गरेको छ। उनी थोरै क्षमताको सेन्टर चिसो मौसमको फाइदा उठाउँदै पानी बिना नै संचालन गर्न सकिने बताउँछन्। तर, त्यो पनि त्यति सहज छैन। डेटा सेन्टर चिसो बनाउन एयर कुलिङ, ड्राइ कुलिङ र डिएक्स कुलिङको मिश्रणबाट पानीको खपत शून्यमा झार्न सकिने उनी बताउँछन्।
‘वर्ल्डलिंकको मातातीर्थमा रहेको ३.५ मेगावाट क्षमताको नेपालकै सबैभन्दा ठूलो डेटा सेन्टरमा पानी आधारित कुलिङ प्रयोग नगरी ‘फ्री कुलिङु विधि अपनाइएको छ,’ उनले भने।
तर, यो अवस्था सिर्जना गर्न ध्वनी नियन्त्रण उपकरण चाहिने पनि उनी बताउँछन्।
पानी प्रयोग नहुँदा प्रणाली चिस्याउन शक्तिशाली फ्यानहरु २४ सै घण्टा चलाउनुपर्ने हुन्छ। कलंकीको छेउमै रहेको यो घना बस्तीको बीचमा निरन्तर आउने ठूलो आवाजले स्थानीयलाई असर गर्न सक्छ। त्यसैले, एयर कुलिङ रोज्दा अत्याधुनिक ध्वनि अवरोधक र बस्तीदेखि न्यूनतम दूरी कायम राख्नुपर्ने उनको मत छ।

प्रस्तावित एआई केन्द्र निर्माण हुने भनिएको नागर्जुन नगरपालिका वडा नं. ९ स्युचाटार क्षेत्रमा हाल दैनिक ३ लाख ८० हजार लिटर पानी खर्च हुने गरेको वडाको तथ्यांक छ। यो एआई केन्द्रको प्रारम्भिक क्षमता ०.९ मेगावाटदेखि विस्तारै ५ मेगावाटसम्म पुर्याउने लक्ष्य राखिएको छ। साधारण रुपमा एक मेगावाटको डेटा सेन्टर संचालनका लागि दैनिक १० हजार लिटर पानी आवश्यक पर्छ। तर, यो संख्या भौगोलिक अवस्था र प्राविधिक संरचना हेरेर फरक हुन सक्छ। सामान्यतय ०.९ मेगावाटको केन्द्रका लागि दैनिक ९ हजारदेखि १८ हजार लिटर पानी आवश्यक पर्न सक्छ। ५ मेगावाटसम्मका लागि प्राविधिक अवस्था र भूगोल हेरेर ५० हजारदेखि १ लाख लिटर पानी चाहिन्छ।
यस अर्थमा स्युचाटारको वडा ९ मा आवश्यक पर्ने पानीको कूल २ देखि ४ प्रतिशतसम्म पानी एआई कम्पयुटर सेन्टरलाई दैनिक चाहिने देखिन्छ। यो ०.९ मेगावाटदेखि विस्तारै ५ मेगावाटसम्मको क्षमताका लागि मात्रै हो। भविष्यमा ५ मेगावाटसम्म क्षमता विस्तार भए स्युचाटारमा प्रयोग हुँदै आएको पानीको २७ प्रतिशत सम्म पानी केन्द्रलाई मात्रै चाहिने देखिन्छ।
समस्या छ!
आईटी विज्ञ भोजराज घिमिरेका अनुसार हाल नेपालको औद्योगिक क्षेत्रले नै अघोषित लोडसेडिङ भोगिरहेको अवस्था छ। त्यस्तो अवस्थामा उनी तत्कालको अवस्थामा स्युचाटारमा एआई डेटा सेन्टर चलाउन समस्या देख्छन्।
‘एआई सेन्टर चलाउन सामान्य बिजुलीले पुग्दैन। यसलाई डेडिकेटेड पावर लाइन र चौबीसै घण्टा स्थिर ऊर्जा चाहिन्छ। एक उच्च क्षमताको डेटा सेन्टरले सिंगो सहर बराबरको बिजुली खपत गर्न सक्छ। जबसम्म नेपालसँग ठूला जलविद्युत परियोजनाहरुबाट स्थिर र गुणस्तरीय आपूर्ति हुँदैन तबसम्म यो योजना व्यावहारिक देखिँदैन,’ उनले भने।
त्यस्तै, प्राविधिक र कूटनीतिक रुपमा अर्को ठूलो चुनौती भनेको एआईको ‘गोल्ड स्ट्यान्डर्ड’ मानिने एनभिडियाको जीपीयू खरिद गर्नु रहेको उनले सुनाए।
विश्व बजारमा माइक्रोसफ्ट, गुगल र मेटाजस्ता प्रविधि च्याम्पियनहरुले आगामी दुई वर्षका लागि जीपीयू स्टक प्रि-अर्डर गरिसकेका छन्। भारतजस्तो शक्ति राष्ट्रले समेत सहजै पाउन नसकेको जीपीयू नेपालले ‘जी टु जी’ तहबाट पहल गरेर हजारौंको संख्यामा भित्र्याउन सक्नु कूटनीतिक रुपमै एउटा ठूलो परीक्षा हुने उनको मत छ।
उनले भने,’हजारौंको संख्यामा जीपीयू खरिद गर्ने घोषणा सकारात्मक हो। यो अति महत्वाकांक्षी योजना हो। सूचना प्रविधिको क्षेत्रमा स्वागतयोग्य पहल भए तापनि यसको कार्यान्वयन पक्षमा थुप्रै जटिलताहरू देखिन्छन्।’
जेनेस सोलुसनका सीईओ अञ्जनी फुयाल भने केवल प्रविधि र भवन खरिद गरेर मात्रै एआई केन्द्र नबन्ने बताउँछन्। यसका लागि नेपालमा दक्ष जनशक्तिको ठूलो अभाव छ। एआई पूर्वाधार इन्जिनियर, मेसिन लर्निङ इन्जिनियर, क्लाउड आर्किटेक्ट र डेटा सेन्टर अपरेटर नेपालमा अभाव रहेको उनले बताए।

साथै, नेपाल इन्टरनेट कनेक्टिभिटीका लागि छिमेकी मुलुकको पूर्वाधारमा निर्भर छ। अन्तर्राष्ट्रिय कम्पनीहरुले नेपालको डेटा सेन्टर प्रयोग गर्ने वातावरण बनाउन उच्च ब्यान्डविथको प्रत्याभूति र सबैभन्दा संवेदनशील पाटो रहेको उनले सुनाए।
‘डेटाको गोपनीयता र निगरानीको ग्यारेन्टी चाहिन्छ। विदेशी कम्पनीहरुलाई नेपालको प्रणालीमा विश्वास दिलाउने कानुनी र प्राविधिक आधार अझै स्पष्ट भइसकेको छैन। जुन अहिलेका लागि एउटा ठूलो ’ग्रे एरिया’ हो,’ उनले भने।
उनी स्युचाटारमा स्थापना हुने एआई केन्द्र नेपालको डिजिटल रुपान्तरणका लागि रणनीतिक ‘हब’ बन्ने सम्भावना पनि देख्छन्। तर, त्यसका लागि चरणगत प्रक्रियाहरु पूरा गर्नुपर्ने मत राख्छन्।
‘स्युचाटारमा एआई कम्प्युट केन्द्र स्थापना गर्ने हतारमा ठूलो लगानी गर्नुभन्दा चरणबद्ध विकासको रणनीति अपनाउनु बढी व्यावहारिक र दिगो देखिनेछ पहिलो चरणमा १०० देखि ५०० जीपीयू प्रयोग गरी राष्ट्रिय एआई अनुसन्धान तथा स्टार्टअप प्लेटफर्मको सुरुवात गर्नुपर्छ। जसले गर्दा विश्वविद्यालय र अनुसन्धानकर्ताहरूलाई सहज पहुँच प्रदान गर्नेछ,’ उनको भनाइ छ।
दोस्रो चरणमा यसको क्षमतालाई १ हजार देखि २ हजार जीपीयूमा विस्तार गरी सरकारी, निजी र शैक्षिक क्षेत्रका लागि आवश्यक राष्ट्रिय एआई क्लाउड सेवाको आधार निर्माण गर्न सकिन्छ । तेस्रो चरणमा दक्षिण एसियाली बजारलाई लक्षित गर्दै कम्प्युट सेवा निर्यात गरेर नेपाललाई एक क्षेत्रीय एआई हबका रूपमा विकसित गर्न सकिन्छ। यसरी बजारको आवश्यकता र सञ्चालन क्षमतालाई हेर्दै चरणबद्ध रूपमा विस्तार गर्दा परियोजनाको आर्थिक जोखिम कम हुने र सफलताको सम्भावना बढ्ने उनी बताउँछन्
सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि एआई सेन्टरलाई हचुवाको भरमा घोषणा गर्न नहुने विज्ञहरुको राय छ। अहिले सानो एआई सेन्टरलाई नै पछि ठूलो बनाउने र त्यसैले एआई हब बन्ने बाटो खोल्ने उनीहरु बताउँछन्। त्यसैले पछि ठूलो सेन्टर बनाउनकै लागि पनि कुलिङ प्रणालीमा सरकारले अहिले देखि नै लगानी गर्नर्ने उनीहरुको मत छ।
तर, तत्कालको अवस्थामै एआई सेन्टर निर्माण भए र पानीको कुनै स्रोत पहिचान गरेर डेडिकेटेड पाइपलाइन नबनाए बोरिङको भरमा चलिरहेको स्युचाटारको घनाबस्ती बीचको एआई सेन्टरले त्यहाँ थप पानीको हाहाकार मचाउन सक्ने जानकारहरु बताउँछन्।











