देवदह (रूपन्देही)। आन्तरिक राजस्व कार्यालय भैरहवाले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। आन्तरिक राजस्व विभागबाट कार्यालयले चालु आर्थिक वर्ष साउनदेखि पुससम्ममा ६ अर्ब ६३ करोड ७० लाख ५१ हजार रुपैयाँ संकलन लक्ष्य पाएको थियो, राजस्व संकलन ८ अर्ब १७ करोड १९ लाख ९७ हजार रुपैयाँ गरेको छ।
कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलका अनुसार गत आव २०८१/८२ को सोही अवधिभन्दा यस वर्ष ४७.४ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ। चालु आवको पुससम्म लक्ष्यभन्दा रु १ अर्ब ५३ करोड बढी अर्थात् लक्ष्यभन्दा २३.१ प्रतिशत बढी राजस्व संकलन भएको हो।
गत आवको तुलनामा यो २ अर्ब ६३ करोडले बढी हो। चालु आवको पुस महिनामा १ अर्ब २६ करोड ८७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको कार्यालयले १ अर्ब ६६ करोड ८७ लाख ९१ हजार रुपैयाँ अर्थात् लक्ष्यको ३१.५ प्रतिशत बढी संकलन गरेको छ।
आन्तरिक राजस्व विभागले भैरहवा कार्यालयलाई चालु आव २०८२/८३ मा १५ अर्ब ५० करोड संकलन लक्ष्य दिएको छ। अर्थतन्त्रमा परिसूचकमा देखिएको सुधार र स्थानीयस्तरमा बक्यौता असुलीका लागि कार्यालयको पहलबाट लक्ष्यभन्दा माथि कर संकलन भएको कार्यालयले जनाएको छ।
करदाताको घर ठेगाना, कारोबारस्थलमा पत्राचार गर्ने, एसएमएस र टेलिफोनबाट सूचीत गर्ने, स्थानीय तहसँग समन्वय गरेर सूचना टाँस गर्ने, नियमित, क्षेत्रगत र प्रभावकारी रूपमा बजार अनुगमन, आर्थिक गतिविधिमा पनि केही वृद्धि भएको कारण राजस्व संकलनमा सकारात्मक प्रभाव परेको प्रमुख कर अधिकृत पोखरेलको भनाइ छ।
यस अवधिमा बजेटले दिएका छुट सुविधा कार्यान्यवन, करदाता शिक्षालाई बढी प्रभावकारी, नक्कली बिजक जारी गर्ने करदातालाई कारबाही गरिएको उनले बताए। आन्तरिक राजस्व कार्यालय भैरहवाले करदाताबाट बाँकी–बक्यौता असुली गर्दै राजस्व संकलन बढाउने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको थियो।
गत कात्तिकदेखि पुससम्म सञ्चालन गरेको अभियानबाट बक्यौताको १२ करोड ६२ लाख रुपैयाँ उठेको छ। आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाएका करदातासम्म प्रत्यक्ष पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरिएको थियो। कर अधिकृत गौरव पाण्डेका अनुसार पुस महिनासम्म मूल्य अभिवृद्धि कर विवरण, कर र लाग्ने २५ प्रतिशत ब्याज बुझाउने करदातालाई अन्य जरिवाना तथा थप दस्तुर (कर र ब्याजको २५ प्रतिशत) पूर्ण रूपमा मिनाहा गरिएको थियो।
त्यस्तै अन्तःशुल्कमा लाग्ने विलम्ब शुल्कको ५० प्रतिशत बुझाएमा बाँकी विलम्ब शुल्क र जरिवाना पनि मिनाहा हुने व्यवस्था गरिएको थियो। उक्त अवधिमा २१३ जनाले छुट सुविधा लिनुभएको प्रमुख कर अधिकृत पोखरेलले बताए। मूल्य अभिवृद्धि कर विवरण नबुझाउने ९ प्रतिशत अर्थात् ४१९ जना करदाता हटाइएको उनले जानकारी दिए।
भैरहवाको कार्य क्षेत्रमा १ लाख १० हजारभन्दा बढी व्यावसायिक करदाता छन्। यो कार्यालयको कार्यक्षेत्रमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा ५ देखि १७ सम्म, देवदह नगरको वडा १ देखि ४ तथा ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी तथा शुद्धोदन गाउँपालिका-३ र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पर्छ। रासस










