केवाइसी गाडी आयात सम्बन्धमा भान्जा हेमन्तविरुद्धको मुद्दा चौधरीले हारे, उच्च अदालतबाट पाएनन् साथ



बिजमाण्डू
२०८२ मंसिर १८ गते १३:०८ | Dec 4, 2025
केवाइसी गाडी आयात सम्बन्धमा भान्जा हेमन्तविरुद्धको मुद्दा चौधरीले हारे, उच्च अदालतबाट पाएनन् साथ

काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी केवाइसीको विद्युतीइ भ्यान आयात सम्बन्धी विवादमा मामा विनोद चौधरीको कम्पनीले भान्जा हेमन्त अग्रवालको कम्पनीविरुद्धको मुद्दा हारेको छ।

Tata
GBIME
Nepal Life

चौधरीको सीजी मोटर्सले हेमन्तको इलेक्ट्रोनिक ड्रिम्स मोबिलिटीलाई विपक्षी बनाएर दायर गरेको मुद्दा हारेको हो। उच्च अदालत पाटनले सीजी मोटर्सले गत साउन १४ गते र कात्तिकमा दायर गरेका दुईवटै रिट खारेज गरिदिएको छ।

इलेक्ट्रोनिक ड्रिम्स मोबिलिटीका साथै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​लाई विपक्षी बनाएर साउन १४ गते दायर रिटमा साउन १५ गते सीजी मोटर्सको पक्षमा अन्तरिम आदेश दिएको उच्च अदालतले अहिले रिट ने खारेज गरिदिएको हो।

सीजी मोटर्स भन्सार विभागलाई समेत विपक्षी बनाएर कात्तिकमा पनि अदालत गएको थियो।

न्यायाधीश ब्रजेश प्याकुरेल र बासुदेव न्यौपानेको संयुक्त इजलासले सीजी मोटर्सले दायर गरेका दुवै रिट बुधबार खारेज गरिदिएसँगै हेमन्तको कम्पनीलाई केवाइसीका गाडी आयात गर्ने बाटो खुलेको छ। उच्च अदालतको फैसलाको पूर्ण पाठ आउन बाँकी छ।

विवाद चर्किएपछि अदालत गएको थियो सीजी

सीजी मोटर्सले केवाइसी भ्यान ल्याएर बिक्री गर्ने गरी २०८० फागुनमा वाणिज्य विभागमा एजेन्सी दर्ता गरी आयातको स्वीकृति लियो। कम्पनीले त्यसअघि २०७९ असार २३ गते चीनको वाङजोउमा रहेको चोङछिङ चाङछिङ चाङएन कुवायु अटोमोबाइल्स कम्पनीसँग सम्झौता गरेको थियो।

सुरुमा वार्षिक ५०० युनिट गाडी बिक्री गर्ने योजना बनाएर सीजी मोटर्सले चोङछिङ चाङछिङ चाङएन कुवायु अटोमोबाइल्ससँग सम्झौता गरेको थियो। तर बजारमा गाडीको माग बढेपछि सीजीले सम्झौताभन्दा धेरै गाडी मगायो। ती गाडी स्टकमा बसे।

धेरै गाडी स्टक भएपछि सीजीले एलसी खोल्न बन्द गर्‍यो। त्यसपछि चिनियाँ कम्पनी सीजीप्रति सशंकित भयो। किन एलसी नखोलेको भन्दै चिनियाँ कम्पनीले सीजीलाई पत्रमार्फत अल्टिमेटम दियो।

यता विद्युतीय गाडीको बजार देखेर चौधरीले सीजी मोटर्समा सीइओको जिम्मेवारी दिएका हेमन्त सहमति अनुसार रकम नपाएको भन्दै असन्तुष्ट थिए। सीजी मोटर्स र हेमन्तबीचको विवादले उग्र रुप लियो।

स्रोतका अनुसार हेमन्तलाई सीइओका रुपमा सीजी मोटर्समा भित्र्याउँदा नाफाको १० प्रतिशत दिने सहमति भएको थियो। सहमति अनुसार हेमन्तले रकम मागे। तर चौधरीले दिन मानेनन्। चौधरीले १० प्रतिशतको साटो कुनै अरु ब्राण्डको आधिकारिक बिक्रेता लैजान भने। हेमन्तले त्यो प्रस्ताव अस्वीकार गरे।

त्यसपछि हेमन्तले मामाको कम्पनीले बिक्री गर्दै आएको केवाइसी ब्राण्ड खोसे। उनले केवाइसी गाडी आयात गरी बिक्री गर्नका लागि साउन १३ गते वाणिज्य विभागमा एजेन्सी दर्ता गरी प्रमाणपत्र लिए।

चिनियाँ कम्पनीले सम्झौताको म्याद अझै दुई वर्षभन्दा बढी समय बाँकी छँदै सीजी मोटर्सको आधिकारिक बिक्रेता टर्मिनेट गर्‍यो।

त्यसपछि सीजी मोटर्स भोलिपल्टै अर्थात साउन १४ गते केवाइसीको नयाँ आधिकारिक बिक्रेता इलेक्ट्रोनिक ड्रिम्स मोबिलिटी र वाणिज्य विभागलाई विपक्षी बनाएर उच्च अदालत पाटन पुग्यो।

त्यो मुद्दामा साउन १५ गते उच्च अदालत पाटनले इलेक्ट्रोनिक ड्रिम्स मोबिलिटीलाई एजेन्सी दर्ता गरी केवाइसी गाडी आयात गर्न दिने निर्णय कार्यान्वयन नगर्न वाणिज्य विभागका नाममा अन्तरिम आदेश दिएकामा अहिले रिट नै खारेज गरिदिएर सीजी मोटर्सलाई ‘हातमा लाग्यो शून्य’ बनाइदिएको हो।