मेटाका प्रमुख एआई वैज्ञानिक लेकनले गरे कम्पनी छाड्ने घोषणा, आफ्नै स्टार्टअप थाल्ने



बिजमाण्डू
२०८२ मंसिर ४ गते १०:०७ | Nov 20, 2025
मेटाका प्रमुख एआई वैज्ञानिक लेकनले गरे कम्पनी छाड्ने घोषणा, आफ्नै स्टार्टअप थाल्ने

मेटा कम्पनीको कृत्रिम बुद्धिमत्ता(एआइ) प्रविधिका अग्रणी व्यक्तित्व यान लेकनले कम्पनी छाड्ने भएका छन्। यो वर्षको अन्त्यतिर मेटाको प्रमुख एआई वैज्ञानिकको पद छोड्ने घोषणा उनले बुधबार गरेका हुन्।

Tata
GBIME
Nepal Life

लेकनले भौतिक संसार बुझ्नसक्ने, स्थायी स्मृति भएका, तर्क गर्नसक्ने र जटिल कार्यहरू योजना बनाउनसक्ने उन्नत प्रकारका एआई विकास गर्न केन्द्रित नयाँ स्टार्टअप कम्पनी गठन गर्न लागेका छन्।

उनको यो घोषणा एक हप्तादेखि चलेका हल्लापछि आएको हो। यसैबीच मेटा प्लेटफर्म्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ कम्पनीले करिब ६०० एआई रोजगार कटौतीको प्रक्रिया सुरु गरेको छ।

लेकनले सामाजिक सञ्जालमार्फत मेटाले उनको नयाँ स्टार्टअपसँग सहकार्य गर्ने र केही अनुसन्धान मेटाका व्यावसायिक चासोसँग सम्बन्धित हुने बताएका छन्।

मेटाले यसबारे टिप्पणी गर्न तत्कालै प्रतिक्रिया दिएको छैन।

सन् २०१३ मा फेसबुकमा आएका लेकनले सुरुमा कम्पनीलाई एआई रिसर्च अनुसन्धान विभाग (फेयर) खोल्न सघाए। यो विभाग फेसबुकका लागि निकै महत्त्वको छ। जसले व्यावसायिक उत्पादनसँग प्रत्यक्ष सम्बन्ध राख्दैन तर कम्प्युटर विज्ञानलाई अगाडि बढाउने अनुसन्धानमा काम गर्छ।

सन् २०१८ मा उक्त समूहको निर्देशक पदबाट लेकनले राजीनामा दिए। त्यसयता मेटाका प्रमुख एआई वैज्ञानिकको भूमिकामा भने निरन्तर छन्।

उनी बिदा लिन लाग्नुमा मेटाले यस वर्ष जुनमा एआई डाटा कम्पनी ‘स्केल’ मा १४.३ अर्ब डलरको लगानी गरेको र त्यसका सीइओ अलेक्जान्डर वाङलाई कम्पनीको ‘सुपरइन्टेलिजेन्स’ विकास गर्ने टोलीको नेतृत्वमा भित्र्याएको परिवर्तनले पनि भूमिका खेलेको देखिन्छ।

मेटाका सीइओ मार्क जुकरबर्गले हाल प्रतिस्पर्धी कम्पनीहरू गुगल र च्याटजीपीटीका निर्माता ओपनएआईसँगै कडा प्रतिस्पर्धाका बीच आफ्नो व्यावसायिक एआई परियोजनालाई प्रभावकारी बनाउन प्रयास गरिरहेका छन्।

लेकनले लामो समयदेखि च्याटजीपीटी जस्ता च्याटबोटहरूका पछाडि काम गर्ने ठूला भाषा मोडेल (एलएलएम्स) को क्षमताबारे सार्वजनिक रूपमा शंका व्यक्त गर्दै आएका छन्। एलएलएम उपयोगी त छन् तर मानवस्तरभन्दा माथिको एआई विकास त्यही बाटोबाट सम्भव नहुने दाबी लेकनले गर्दै आएका छन्।

उनी ‘ओपन सोर्स’ एआईका बलिया समर्थक पनि हुन्, जसमा मेटाको आफ्नै ठूलो भाषा मोडेल ‘लामा’ पनि पर्छ। तर, केही एआई सुरक्षा विज्ञहरूले यसलाई जोखिमपूर्ण मान्छन्।

लेकनले न्यूयोर्क विश्वविद्यालयमा सन् २००३ देखि आंशिक प्राध्यापकका रूपमा पढाउँदै पनि  आएका छन्। फ्रान्स र पछि क्यानडामा अध्ययन गरेका उनले आफ्नो प्रारम्भिक करियर न्यू जर्सीस्थित एटी एण्ड टी बेल ल्याब्सको इमेज प्रोसेसिङ विभागमा बिताए, जहाँ उनले डिजिटल छविमा भेटिने पाठ पढ्न सक्ने एआई प्रणालीहरू विकास गरेका थिए। उनी २०१९ मा यशुआ बेन्जियो र जेफ्री हिन्टनसँगै कम्प्युटर विज्ञानको सर्वोच्च पुरस्कार ‘ट्यूरिङ अवार्ड’ का सह-विजेता बनेका थिए। (एपी)