काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गरी कर प्रणालीमा सुधार गर्न आग्रह गरेको छ।
सीएनआईले बुधबार अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा कार्यक्रम राखेर कर प्रणालीमा सुधारको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको हो।
सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले लगानी बढाउनका लागि कर प्रणालीमा यथासक्य चाँडो सुधार गर्न आवश्यक रहेको बताए।
‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ। बैंकहरुमा लगानीयोग्य रकम छ। ब्याज दर एकल विन्दुमा छ। समग्र बजार माग बढ्न सकेको छैन्। मागमा वृद्धि आउन नसक्दा पनि उद्योगहरु न्यून क्षमतामा संचालन भइरहेका छन्। मूल्य वृद्धि न्यून विन्दुमा छ। पैसा आइडल बस्नु भनेको अर्थतन्त्रका लागि राम्रो संकेत होइन,’ उनले भने, ‘जबसम्म लगानी बढाउन सकिंदैन, उल्लेखित विषयहरुमा सुधार गर्न गाह्रो पर्छ। हाम्रो सन्दर्भमा लगानी अभिवृद्धि गराउन कर प्रणालीमा सुधार आवश्यक छ।’
पाण्डेले लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व आवश्यक हुने बताए।
‘स्वदेशी लगानीकर्ताले मात्रै होइन, विदेशी लगानीकर्ताले पनि कर सम्बन्धी नीतिको स्थायित्व हेरेर मात्रै लगानी गर्ने गर्छन्। लगानीकर्ताको लगानीको आधार समेत कर सम्बन्धी नीति पनि हुने भएको हुँदा यसलाई गहन रुपमा ध्यान दिन अनुरोध गर्न चाहन्छु,’ उनले भने।










