काठमाडौं। बेनिघाट रोराङ गाउँपालिका-५ चरौडी बजारमा रहेको ह्वाइट वाटर सेन्टरको हिमालिका क्याम्प र चरौदी बिच क्याम्पिङ सञ्चालनमा थियो। भदौ १० मा भोटेकोशीमा आएको बाढीले तहसनहस मात्रै बनाएन्, दुई वटा क्याम्प नै बगाएर लग्यो।
१० गतेको बाढीले नदीको धार नै परिवर्तन गरेपछि ती क्याम्प रहेको ठाउँबाट अहिले त्रिशूली नदी बगिरहेको छ।
प्रारम्भिक प्रतिवेदनअनुसार यी २ क्याम्पको ३/३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। ती क्याम्प पहिलेकै ठाउँमा सञ्चालनमा आउन नै नसक्ने गरी क्षति पुर्यायो।
यस बाहेकका धादिङको बैरेनीदेखि चितवनको फिस्लिङसम्म सञ्चालित विभिन्न १६ वटा रिसोर्ट, क्याम्प तथा र्याफ्टिङ व्यवसायका पूर्वाधार क्षति पुर्याएको छ। प्रारम्भिक अध्ययनअनुसार नदी किनारमा रहेका पर्यटन र्याफ्टिङ तथा रिसोर्टमा १५ करोड ७० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।
क्षति पुगेका केही अधिकांश रिसोर्ट मर्मतपछि संचालनमा आएका छन् भने केही मर्मत गरेर संचालनमा ल्याउने तयारी भइरहेको छ।
यस्तै, रिभर साइड स्पा एन्ड रिट्रिड र त्रिशूली रिभर साइड रिसोर्ट मर्मत सम्भारपछि सञ्चालनमा आएको छ। रिसोर्टका सञ्चालक संचालक उद्धव कँडेलले दर्जन बढी रिसोर्टमा आंशिक क्षति पुगेको भएपनि मर्मतपछि संचालनमा आएको जानकारी दिए।
‘हाम्रो रिसोर्ट क्षेत्र खोला किनारातिर केही क्षति गरेको थियो। हामीले मर्मत गरेर सञ्चालनमा ल्याइसकेका छौं,’ उनले भने, ‘धेरैजसो रिसोर्टहरू पनि संचालनमा आइसकेका छन्।’

यस्तै, रिभरबिच रिसोर्टका सञ्चालक विष्णु सिलवाल रिसोर्ट मर्मत सम्भारको काम धमाधम भइरहेको बताए।
‘हाम्रो रिसोर्टको खोला क्षेत्रका केही संरचनामा क्षति पुगेको थियो। अहिले मर्मतको काम धमाधम भइरहेको छ। केही समयमै सकिएर संचालनमा ल्याउँदैछौं,’ उनले भने।
कुन रिसोर्टको कति क्षति?
बेस्ट एड्भेन्चर्स नेपालको २ करोड ७५ लाख रुपैयाँ र रिभर पार्क रिसोर्टको २ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ। एड्भेन्चर एभिस र रोयल बिच रिसोर्टमा १-१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ भने ब्लु हेभन रेष्टुरेन्टको ७५ लाख रुपैयाँ बराबरको भौतिक संरचना नष्ट भएको छ।
यस्तै, त्रिशूली बिच क्याम्प रिसोर्टको ५० लाख, माउन्टेन स्ट्रिट रिसोर्टको २५ लाख, त्रिशूली सेन्टरको २५ लाख, गोर्खा बिचको २० लाख, फिसिङ क्याम्प एन्ड एरियाको २० लाख, रिभर स्पेस एड्भेन्चर प्रालिको २० लाख, रिभर साइड एन्ड त्रिशूली भिल्लाको १५ लाख र रोयल रिभरसाइड रिसोर्टको ६ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।
बाढीपछि त्रिशूली करिडोर बेसीनको ठूलो व्यापार गुमेको छ। काठमाडौं, पोखरा र चितवनको त्रिकोणमा पर्ने त्रिशूली नदी तटीय क्षेत्र नेपालको मुख्य र्याफ्टिङ हब हो।
त्रिशूली नदीमा वार्षिक १८ देखि २० हजार पर्यटकले र्याफ्टिङ गर्छन्। त्रिशूलीमा १२ महिना नै र्याफ्टिङ गर्न सकिने भए पनि असोजबाट सिजन सुरु हुन्छ। तर, यसपटक सिजन सुरु हुँदै गर्दा आएको बाढीले करिब डेढ महिना र्याफ्टिङ बन्द भयो। र्याफ्टिङ बन्द भएपछि व्यापार सुनसान बन्यो।
सोमबारदेखि व्यावसायिक रुपमा र्याफ्टिङ संचालनमा आएको छ। कँडेलले त्रिशूलीमा र्याफ्टिङ संचालनमा आएसँगै नदीमा आधारित पर्यटन व्यवसाय पुनः लयमा आउने विश्वास लिएका छन्।
‘भदौ १० गतेको बाढीले लगभग अहिलेसम्म पर्यटक एकदमै कम आएका थिए। यहाँको संचालनमा रहेको अधिकांश पर्यटन त्रिशूली नदीमा नै आधारित थियो। अब र्याफ्टिङ सुरु भएको छ। त्यसपछि पर्यटन पनि चलायमान हुन्छ भन्ने विश्वास लिएका छौं,’ कँडेलले भने।







