व्यक्तिगत प्यान र कर चुक्ता अब अनलाइनबाटै, राष्ट्रिय परिचयपत्रकै बायोमेट्रिकले काम गर्ने



बिजमाण्डू
२०८२ कात्तिक ३० गते १४:५८ | Nov 16, 2025
व्यक्तिगत प्यान र कर चुक्ता अब अनलाइनबाटै, राष्ट्रिय परिचयपत्रकै बायोमेट्रिकले काम गर्ने


काठमाडौं। व्यक्तिगत प्यान र कर चुक्ता प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने भएको छ।

Tata
GBIME

आन्तरिक राजस्व विभागले कर दिवसको अवसर पारेर सोमबारदेखि घरबाटै व्यक्तिगत प्यान र कर चुक्ता प्रमाणपत्र लिन मिल्ने व्यवस्था गर्न लागेको हो। अर्थमन्त्री रामेश्वर खनालले सोमबार यसको उद्घाटन गर्ने तय भएको छ।

यसअघि प्यानका लागि विभागको वेवसाइटमा गएर तोकिएको विवरण भरेर बायोमेट्रिकका लागि कर कार्यालयसम्म पुग्नुपर्थ्यो।

‘अब राष्ट्रिय परिचयपत्रमा भएकै बायोमेट्रिक प्यानमा लिंक हुनेछ। जसले गर्दा बायोमेट्रिक दिन कार्यालयसम्म जानु नपर्ने भएको छ,’ विभाग स्रोतले भन्यो।

सेवाग्राहीले अनलाइनबाटै तोकिएका सबै विवरण भरेर प्यान आफैं प्रिन्ट गर्न सक्नेछन्।

व्यक्तिगत कर चुक्ताका लागि कर कार्यालय धाउनुपर्ने अवस्थाको पनि अन्त्य हुँदैछ। विभागका अनुसार वार्षिक ४० लाख रुपैयाँभन्दा कम आम्दानी गर्ने र एउटामात्रै कार्यालयबाट भुक्तानी लिने सेवाग्राहीले अनलाइनबाट कर चुक्ता पाउनेछन्।

४० लाखभन्दा बढी आम्दानी हुने वा एकभन्दा बढी कार्यालयबाट तलब सुविधा पाउनेहरू भने प्रमाणपत्र लिन कार्यालयमै पुग्नुपर्नेछ।