विराटनगर। सुपारी तस्करी गरेर कमाउनका लागि पहुँच प्रयोग गरेर कोटा लिन सफल कागजी उद्योगका लगानीकर्ता डुबानमा परेका छन्।
नेपालकै बराबरको मूल्यमा भारतको खुद्रा बजारमा सुपारी पाइएपछि त्यस्ता आयातकर्ता डुबानमा परेका हुन्।
अनधिकृत निर्यात गर्ने उद्देश्यले कागजी उद्योगको प्रमाणपत्र पेस गरेर सुपारी आयात गरेका व्यापारीको पैसा भारतमा आफूले चाहे अनुसारको मूल्यमा बेच्ने स्थिति नभएपछि डुबेको छ।
व्यवसायीका अनुसार आयातकर्ताले बैंक ऋणको दबाब थेग्न नसकेर परल मूल्यभन्दा कममा सुपारी बिक्री गरिरहेका छन्। इन्डोनेसियाको सुपारी नेपाली व्यवसायीको गोदाममा आइपुग्दा किलोको ७०० रुपैयाँ पर्छ। इन्डोनेसियामा नै सुपारीको मूल्य अचाक्ली बढेपछि नेपालमा महँगो भएको हो।
‘भारतमा सुपारीको मूल्यमा तेजी छैन। यहाँभन्दा किलोमा कम्तीमा २ सय ५० रुपैयाँ बढी भए मात्र सुपारी भारत पठाउन सकिन्छ। हामीले घटीमा पनि किलोको ८ सयमा बिक्री नगरे खर्च उठ्दैन। तर भारतको खुद्रा बजारमै किलोको ८–९ सयमा सुपारी फालाफाल पाइन्छ,’ एक आयातकर्ताले भने, ‘सुपारीमा गरेको लगानी डुब्यो।’
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला तत्कालीन उद्योग, वाणिज्य र आपूर्तिमन्त्री दामोदर भण्डारीले नाम मात्रका कागजी उद्योगलाई सुपारीे आयातको अनुमति दिएका थिए।
त्यस्ता उद्योगका नाममा आयातित सुपारीलाई प्रशोधनका नाममा आधा किलो र एक किलोको प्याकिङ बनाइएको छ।व्यवसायीले इन्डोेनेसियाबाट आयात गर्दा नै आधा–आधा २ फ्याक भएको सुपारी ल्याएका थिए। यही आधा फ्याक सुपारीलाई उनीहरूले प्रोसेसिङ गरेको भन्दै आधा र एक किलोको प्याकिङ बनाएका हुन्।
आयातकर्ताले सरकारी निकायलाई देखाउन यस्तो प्याकिङ निकाले पनि भरिया प्रयोग गरेर भारततर्फ सुपारी पुर्याउने व्यवसायीलाई बोराका बोरा खुल्ला (लुजमा) पनि बिक्री गर्दै आएका छन्।
भारतमा अवैध आयातले सस्तियो
भारतमा सरकारी र राजनीतिक पहुँच भएका आयातकर्ताले समुद्री मार्गबाट ठूलो परिमाणमा तस्करी गरेर सुपारी ल्याएका छन्।
व्यवसायीका अनुसार यस्ता आयातकर्ता आफैं इन्डोनेसिया पुगेर सुपारी खरिद गरेका थिए। तिनले कानुनीरूपमा एलसी खोलेर नभई हुन्डीबाट रकम पठाएर सुपारी किनेका थिए।
इन्डोनेसियाको बन्दरगाहबाट सुपारीका कन्टेनर राखेर हिँडेको जहाज भारतको अन्डमान निकोबार आइपुग्छ। अन्डमान निकोबारमा ती कन्टेनरलाई अर्को जहाजमा पल्टी गरिन्छ। अन्डमान निकोबारबाट जहाज सिधै अडानी ग्रुपबाट सञ्चालित मुन्द्रा बन्दरगाह आइपुग्छन्। त्यहाँबाट ‘मिस डिक्लियरेसन’मा तिनको बिना महसुल जाँचपास गरिन्छ।
यसरी ठूलो मात्रामा सुपारी अवैधरुपमा भारत भित्रिएपछि त्यहाँ खासै मूल्य वृद्धि नभएका कारण त्यसको चोट नेपाली आयातकर्ताले खेप्नुपरेको हो।
इन्डोनेसियामा किन बढ्यो मूल्य?
व्यवसायीका अनुसार इन्डोनेसियामा सुपारीको मूल्य वृद्धि हुनुको मुख्य कारण चीन हो। चीनका उद्योगीले काँचो र अत्यन्त कलिलो सुपारीलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर नसा लाग्ने खालको एक प्रकारको चुइङगम उत्पादन सुरु गरेका छन्।
यसका लागि चीनका व्यवसायीले गत वर्ष इन्डोनेसिया पुगेर बोटबाटै कलिलो सुपारी खरिद गरेका थिए। जसले गर्दा इन्डोनेसियामा परिपक्व सुपारी पर्याप्त उत्पादन हुन सकेन। एकातिर अभाव भयो भने अर्कातिर महँगियो।
इन्डोनेसियामा अघिल्लो वर्षसम्म टनको ८ देखि ९ सय डलरसम्म पर्ने सुपारीको मूल्य बढेर गत वर्ष २५ सय डलरसम्म पुगेको थियो।
‘हामी त्यहाँ एक हप्ताका लागि गएका थियौं। तर सुपारी नपाएर ३ हप्ताभन्दा बढी बस्नुपर्यो। मूल्य पनि त्यस्तै महँगो। यस्तै स्थिति दोहोरिने हो भने आउने वर्षदेखि गुट्खा उद्योग सञ्चालन गर्न गाह्रो हुन्छ,’ सुपारी आयात गर्न इन्डोनेसिया पुगेका एक गुट्खा उद्योगीले बिजमाण्डूसँग भने।
कति आयो सुपारी?
तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले गत आर्थिक वर्ष १० हजार ५०० टन सुपारी आयातको अनुमति दिएका थिए।

आयातको अनुमति लिनेमा वास्तविक गुट्खा उद्योग मात्र थिएनन्, नाम मात्रका र कुनै मेसिन नभएका कागजी उद्योग पनि थिए।
तत्कालीन प्रधानमन्त्री ओलीले व्यापारिक प्रयोजनले सुपारीको आयात गर्न नदिनू भन्ने मौखिक निर्देशन दिएपछि भण्डारीले उद्योग दर्ताको प्रमाणपत्र हेर्दै कोटा वितरण गरेका थिए।
भन्सार विभागको तथ्यांक अनुसार कोटा वितरण भएको साढे १० हजार टनमध्ये ९ हजार ७६० टन सुपारी आयात भइसकेको छ।
गत आर्थिक वर्ष असार मसान्तसम्म ६ हजार ७८८ टन र चालु आवको असोज मसान्तसम्म २ हजार ९७२ टन सुपारी आयात गरिएको हो।
कोटाको सुपारी असार मसान्तसम्म ल्याउन नसकेपछि व्यवसायीले वाणिज्य विभागबाट ६ महिना म्याद थप गराएका छन्।











