काठमाडौं। एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण गरेपछि देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ।
१० दिनमै २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ। नयाँ टावर सञ्चालनमा ल्याइएका स्थानका ग्राहकले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने छन्।
आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले मधेश, बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरुका साथ सुधार गरेको छ।
एनसेलले बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर तथा रौतहटको यमुनामाई र माधव नारायणमा गरी मधेश प्रदेशका १३ ठाउँमा नयाँ टावर सञ्चालनमा ल्याएको छ।
यस्तै सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढी तथा मोरङको ववियाविर्ता र मजारेमा गरी कोशी प्रदेशका ६ ठाउँमा नयाँ टावर सञ्चालनमा ल्याएको छ। उनसेलले बागमती प्रदेशको हेटौंडामा पनि नयाँ टावर जडान गरेको छ।
‘हामीले नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने प्रतिबद्धता अनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौं। एनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याइ आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘साथै, आगामी दुई दिनभित्र हामी थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौं, जसले हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नेछ। यो विस्तार तथा सुधारले फोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र देशभरका ग्राहकलाई भरपर्दो मोबाइल सेवामा पहुँच सुधार गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रष्ट पारेको छ।’
उपकरण आयातमा बन्देजका बेलामा एनसेलले देशका विभिन्न भागमा पुराना उपकरण प्रयोग गरी ४० भन्दा बढी नयाँ टावर जडान गरी सेवा विस्तार गरेको थियो।
फोरजी सेवा विस्तार र सुधार योजना अनुसार एनसेलले दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावर जडानका लागि काम गरिरहेको छ।











