नाडा अटो शोमा एटो-२ लिएर आउँदै बीवाइडी, मिड साइजको एसयूभीको मूल्य कति पर्ला?

बिजमाण्डू
२०८२ भदौ २ गते १९:४० | Aug 18, 2025
नाडा अटो शोमा एटो-२ लिएर आउँदै बीवाइडी, मिड साइजको एसयूभीको मूल्य कति पर्ला?


काठमाडौं। मंगलबार सुरु हुने १७औं संस्करणको नाडा अटो शोमा बीवाइडीको एटो-२ लन्च गर्ने तयारी गरिएको छ।

GBIME
Tata

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले गाडी नाडा अटो शोबाट नेपाली बजारमा ल्याउन लागेको जनाएको छ।

कम्पनीले यसअघि भएको नाइमा मोबिलिटी एक्स्पोमा ल्याएको ह्याचब्याक सेगमेन्टको एटो-१ गाडी ग्राहकले रुचाएका थिए। कम्पनीले अब मिड साइज एसयूभी ल्याएर नाडा अटो शोमा आफ्नो उपस्थिति बलियो बनाउन लागेको हो। कम्पनी एटो-१ पनि अटो शोमा राख्ने योजनामा छ।

एटो-२ बीवाइडीको ई प्लेटफर्म ३.० मा बनेको हो। यसमा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु बडी प्रविधि छ। यसमा १२.८ इन्चको रोटेटिङ टच स्क्रिन छ। यो ५ स्टार सेफ्टी रेटिङ प्राप्त कार हो।

बीवाइडी एटो-२ को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम तथा ह्विलबेस २६२० एमएम छ। यो गाडीको मूल्य ५० लाख रुपैयाँभन्दा कम हुनेछ।

यसमा भएको ४५.१ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ३१२ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा १०० किलोवाट क्षमताको मोटर पावर छ। यसले २९० एनएम टर्क उत्पादन गर्न सक्छ।

यसमा ७ वटा एयर ब्याग छन्। प्यानारोमिक सनरुफ पनि दिइएको छ। गाडी अगाडि ड्रागन फेस डिजाइनमा बनाइएको छ। यसमा एलईडी हेडलाइट र फुल टेललाइट हालिएको छ।

इन्टेरियर भेगन लेदर सिट, ३६० डिग्री क्यामेरा, एडास, एनएफसी कार्ड अर्थात केलेस इन्ट्री साथै ओभर द एयर अपडेट पनि छन्। भेहिकल टु लोड पावर सप्लाइको पनि सुविधा छ। गाडीमा ४०० लिटरको बुट स्पेस पनि छ।