काठमाडौं। गत असार २४ गते रसुवाको लेहन्दे खोलामा आएको बाढीपहिरोले पुर्याएको क्षतिमा करिब १ अर्ब रुपैयाँको बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको ७८ वटा दाबी परेको हो। सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै ६१ करोड ४७ लाख रुपैयाँको ६ वटा दाबी परेको छ।
सामुद्रिक बीमातर्फ २२ करोड ४ लाख रुपैयाँको ९ वटा, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ५ करोड ९५ लाख र मोटर बीमा निजीतर्फ ५ करोड ५८ लाखको १६ वटा दाबी परेको छ।

मोटर बीमा सार्वजनिकतर्फ ३ करोड ५५ लाख रुपैयाँको ४२ वटा दाबी परेको प्राधिकरणले जनाएको छ। ११ वटा निर्जीवन बीमा कम्पनीमा दाबी परेको छ। सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्समा ५५ करोड रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ।
बाढीले मालबाहक गाडी र कन्टेन बगाएको थियो। सामानको सामुन्द्रिक र सवारीसाधनको मोटर बीमा गर्ने गरिन्छ।
बाढीले रसुवागढी हाइड्रोपावर लगायत जलविद्युत आयोजनामा पनि क्षति पुगेको थियो।










