उत्पादन घटेको कारण देखाएर अण्डाको मूल्य बढाउँदै व्यवसायी, छैन सरकारी अनुगमन

सरला सुवेदी
२०८२ असार १५ गते १६:३९ | Jun 29, 2025
उत्पादन घटेको कारण देखाएर अण्डाको मूल्य बढाउँदै व्यवसायी, छैन सरकारी अनुगमन

काठमाडौं। व्यवसायीहरुले उत्पादन घटेको कारण देखाएर अण्डाको मूल्य लगातार बढाउन थालेका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले गर्मीका कारण उत्पादन घटेको भन्दै अण्डाको भाउ लगातार बढाएको हो।

Tata
GBIME

संघले तोकेको नयाँ मूल्य अनुसार प्रति क्रेट मिडियम अण्डाको मूल्य ४५० र ठूलो अण्डाको मूल्य ४८० रुपैयाँ पुगेको छ। अण्डाको भाउ प्रति क्रेट १५ रुपैयाँ बढाइएको हो।

डेढ महिनाको अवधिमा अण्डाको भाउ प्रति क्रेट ४० रुपैयाँसम्म बढाइएको छ। संघले गत जेठ १७ गते ठूलो अण्डाको मूल्य प्रति क्रेट ४६५ र मिडियम अण्डाको मूल्य ४३५ रुपैयाँ तोकेको थियो। वैशाख २५ गते ठूलो अण्डाको भाउ प्रति क्रेट ४६० र मिडियम अण्डाको मूल्य ४१० रुपैयाँ तोकिएको थियो।

यो होलसेल मूल्य हो। उपभोक्ताले यो मूल्यमा अण्डा पाउँदैनन्। संघले माग बढेको तर उत्पादन घटेको कारढ देखाएर भाउ बढाइरहँदा बजारमा सरकारी अनुगमन देखिएको छैन।

संघका अध्यक्ष विनोद पोखरेलले गर्मीका कारण हाल २५ प्रतिशत उत्पादन घटेकोले भाउ बढेको बताए। ‘हालको उत्पादनले बजारको माग धान्दैन। त्यसैले भाउ बढेको हो,’ उनले भने। उनका अनुसार हाल दैनिक २६ लाख गोटा अण्डा उत्पादन हुने गरेको छ।

पोखरेलले सम्पूर्ण उत्पादकको प्रतिनिधित्व गर्दै भाउ तोक्ने गरेको बताए पनि कतिपय उत्पादक भने रुष्ट छन्। कुखुरापालक एक व्यवसायीले संघले तोकेको मूल्य सबै उत्पादकलाई मान्य नभएको बताए।

‘संघले तोकेको मूल्य सबै उत्पादकले पाइरहेका छैनन्,’ ती व्यवसायीले भने, ‘संघले तोकेको मूल्यमा हामी कन्भिन्स छैनौं। देशभर लागू हुने गरी सरकार, उत्पादक र संघ बसेर मूल्य निर्धारण गर्ने प्रणाली आवश्यक छ।’

विभागले पोहोर भदौमा लागत मूल्य अनुसार अण्डाको मूल्य उत्पादकलाई तोक्न दिने निर्णय गरेको थियो। तर, उत्पादकहरुको संस्था संघले के आधारमा मूल्य तोकिरहेको छ भनेर विभागले हेरेको छैन।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि अण्डाको मूल्यलाई लिएर बजार अनुमगन नगरेको स्वीकार गरेको छ। विभागका महानिर्देशक कुमार दाहालले अण्डाको मूल्यलाई लिएर गुनासो नआएकाले अनुगमन नगरेको बताए।

‘गुनासो नआएका कारण हामीले अण्डाको विषयमा बजार अनुगमन नगरेका हौं। तर त्यसो भनेर चुप बस्दैनौं। विभागले यो विषयलाई पनि अब हेर्छ,’ उनले भने।