उपचारमा लापर्बाहीबापत दण्डित हुँदै अस्पताल र चिकित्सक, ग्राण्डी सिटीले तिर्नुपर्ने भो ५७.१९ लाख

बिजमाण्डू
२०८२ असार ११ गते १५:५० | Jun 25, 2025
उपचारमा लापर्बाहीबापत दण्डित हुँदै अस्पताल र चिकित्सक, ग्राण्डी सिटीले तिर्नुपर्ने भो ५७.१९ लाख

काठमाडौं। बिरामीको उपचारमा लापर्वाही गरेबापत ग्राण्डी सिटी हस्पिटल र त्यहाँ कार्यरत एक चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने भएको छ।

Tata
GBIME

वर्षा भण्डारीले दायर गरेको मुद्दामा उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आन्नदराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।

वर्षाले उपचारमा लापरबाही गरेको भन्दै ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते मुद्दा दर्ता गराएकी थिइन्।

खुट्टाको पछाडिको भागले दु:ख दिएपछि वर्षा उपचारका लागि ग्राण्डी सिटी हस्पिटल पुगेकी थिइन्। उनले बोसो निकालेर प्लाष्ट्रिक सर्जरी गर्न आग्रह गरेकी थिइन्। डक्टर त्रिपाठीले निको बनाउने भन्दै दुईपटक अपरेसन गरे। तर निको हुनुको साटो इन्फेक्सन भएर थप पीडा भएपछि वर्षा क्षतिपूर्ति माग गर्दै मुद्दा लिएर अदालत पुगेकी थिइन्।

त्यो मुद्दामा अदालतले लापर्वाहीको तुलनात्मक दायित्वलाई विचार गरी ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो।

अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा. संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्नेछ।

गम्भिर लापर्वाहीको अर्को मुद्दामा उपभोक्ता अदालतले केही दिनअघि ओम अस्पताल र त्यहाँ कार्यरत एक चिकित्सकले ५७ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।