
काठमाडौं । नेपाली महिला फुटबल टोली उज्बेकिस्तान जाँदैछ। नेपाली टोली एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’मा छ। यो समूहमा विजेता बन्न सके नेपालले पहिलो पटक एसियन कप फुटबल खेल्नेछ।
नेपाल रहेको समूहमा लाओस, श्रीलंका र उज्बेकिस्तान छन्। फिफा वरियताका हिसाबले उज्बेकिस्तान यो समूहको सबैभन्दा माथिल्लो टोली हो। उज्बेकिस्तान यो वरीयतामा ५१ औँ स्थानमा छ। त्यस्तै, नेपाल १०० औँ स्थानमा छ भने लाओस १०७ र श्रीलंका १५९ औँ स्थानमा छ।
विश्वकपको लागि महत्वकांक्षी एन्फा
नेपाली महिला टोलीले एसिया कप छनोटको तयारीका लागि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो। प्रो लाइसेन्स प्राप्त प्रशिक्षककको प्रशिक्षणमा नेपाली महिला टोलीले खेलेको यो नै पहिलो अफिसियल खेल थियो।
अघिल्लो महिना मैत्रीपूर्ण खेल खेल्न जानुअघि नेपाली टोलीको बिदाइ गरेका थिए अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईले। यी दुवैले विश्वकप छनोट हुनुपर्ने र यही अवसर रहेको भन्दै खेलाडीलाई ‘मोटिभेसन’ दिएका थिए।
एसिया कपको छनोटका लागि गरिएको विदाइमा पनि एन्फा अध्यक्ष नेम्बाङ र कार्यवाहक महासचिव बद्री भट्टराईले एसिया कपसँगसँगै विश्वकपको पनि सपना दोहोर्याए।

‘पहिलो पटक प्रो लाइसेन्स प्राप्त प्रशिक्षक ल्याएर इतिहास बनाएका छौं। त्यो पनि युरोप महादेशबाट,’ नेम्बाङले भने, ‘धेरै आशा गरेका छौं। उच्च कोटीको खेलेर एसिया कप पुग्ने अवसर छ। खेलाडीको पनि त्यही उद्धेश्य छ भन्ने विश्वास छ।’
एन्फाले महिला विश्वकपमा सहभागी टोलीको संख्या बढेसँगै विश्वकप पुग्ने महत्वकांक्षी लक्ष्य लिएको छ। यसकै कारण हाइ प्रोफाइल स्पेनिस प्रशिक्षक प्याट्रिकलाई नियुक्त गरेको छ।
प्रशिक्षकको जोड : ‘रियालिस्टिक’ खेल र प्रोसेस
महिला फुटबलको विकासबारे एन्फा र प्रशिक्षकको धारणामा तारतम्य खासै देखिँदैन। एन्फा झट्ट एसिया कप र विश्वकप पुग्ने महत्वकांक्षामा छ। तर, प्रशिक्षक यसमा बगेका छैनन्।
‘खेलकुदमा सधैं जित्नको लागि तालिम लिइन्छ र त्यो स्पष्ट हुनुपर्छ, तर रियालिस्टिक पनि हुनुपर्छ। समूह र खेलाडीहरूलाई धेरै दबाब दिनु हुँदैन,’ प्याट्रिक डी वाइल्ड भन्छन्, ‘नेपाली राष्ट्रिय टोलीले पछिल्ला चार खेल जितेको छैन, त्यसैले सबैले अर्को खेल सजिलै जित्ने अपेक्षा गर्छन् तर त्यो सत्य होइन।’
उनी खेलाडीलाई दबाब दिने पक्षमा छैनन् र खेलको ‘प्रोसेस’ बाट विकास हुनेमा उनी विश्वास गर्छन्। उनीसँग नेपाली टोलीले तीन हप्ता सँगै ट्रेनिङ गरेका छन्।
‘म पनि विश्वकप जित्ने सपना देख्छु। मैले पहिलो कुरा के भनें भने, ‘रियालिस्टिक’ हुनुपर्छ। हामीले हरेक पाइला कदम-कदम चाल्नुपर्छ,’ उनी भन्छन्, ‘जस्तै मैले भनें पछिल्ला चार खेल हामीले जितेनौं। अब लाओसमा ध्यान केन्द्रित गरौं, त्यसपछि श्रीलंकामा र त्यसपछि उज्बेकिस्तानमा ध्यान केन्द्रित गरौं।’

उज्बेकिस्तानमा ३७ डिग्री तापक्रममा खेल्नु पर्ने अवस्थामा खेलाडी त्यसमा अभ्यस्त नरहेको उनी बताउँछन्।
एन्फाका प्रवक्ता सुरेश शाहले कार्यक्रम संचालन गरिरहँदा विश्व वरियतामा हेर्दा उज्बेकिस्तान नेपालभन्दा ५० स्थान माथि भए भए पनि एसियाको वरीयतामा ल्याउँदै ८ स्थानमात्रै माथि रहेको तर्क गरे।
पछि प्रशिक्षकलाई यसबारेमा प्रश्न गर्दा प्याट्रिकले फेरि रियालिस्टिक हुन सुझाव दिए।
‘म कुनै पत्रकारसँग उज्बेकिस्तानको बारेमा कुरा गर्न चाहन्नँ, यो हास्यास्पद छ। हामी विश्वमा ५१ औं नम्बरमा छौं र हामी त्यो टोलीबाट सजिलै जित्ने अपेक्षा कसरी अपेक्षा गर्ने गर्छौं?,’ उनले भने, ‘ यसको मतलब उज्बेकिस्तानले विश्वको दोस्रो नम्बरको टोलीबाट पनि जित्न सक्छ, त्यो पनि ५० स्थानको फरक हो। त्यसैले कृपया ‘रियालिस्टिक’ हुनुहोस्।’
उनी सपना एउटा लक्ष्यको हुने भन्दै यसको समयसीमा हुने बताउँछन्।
‘सपना भनेको एउटा लक्ष्य हो, तर समयसीमा सहित। भोलि नै यो र त्यो भन्ने होइन,’ उनी भन्छन्, ‘हामीसँग एउटा समयरेखा हुनुपर्छ र यस समयरेखामा हामी ६ महिनामा, एक वर्षमा के प्राप्त गर्छौं, र त्यहाँ हामी मूल्यांकन गर्छौं।’
खेलाडी कति तयार?
नेपाली टोलीका कप्तान एन्जिला तोम्बाफो सुब्बा र सावित्रा भण्डारीले युरोपमा फुटबल खेलिरहेका छन्।
भण्डारी पछाडिमात्र टिममा जोइन गरेकाले प्रशिक्षकसँग घुलमिल राम्ररी भइनसकेको बताउँछिन्। उनी प्रशिक्षकबाट सकारात्मक भूमिका पाएको बताउँछिन्।

‘सबैजना उत्साहीत छौं। सकारात्मक छौं। हाम्रो लागि विश्वकप जस्तो हो यो खेल,’ उनी भन्छिन्, ‘उज्बेकिस्तानसँग पहिला पनि खेलेका छौं। सकारात्मक नजिजा दिन सकेका छैनौं। लाओससँग पहिलो पटक खेल्दैछौं। श्रीलंकाले पछिल्लो पटक धेरै दु:ख दिइरहेको छ।’
यसका कारण पहिलो म्याचबाटै सजक हुनुपर्नेछ। उनी उज्बेकिस्तानले पछिल्लो पटक ‘टफ’ टिमसँग खेलिरहेको र उसैको मैदानमा खेल्न सहज नहुने बताउँछिन्।
नेपाली टोलीकी कप्तान एन्जिला तोम्बाफो सुब्बा युरोपको अनुभवले निकै सहयोग पुगेको बताउँछिन्। ‘हाम्रो टिम स्पिरिट राम्रो छ। अब चारवर्षपछि खेल्न पाउँछौँ पाउँदैनौँ। यो हाम्रो लागि ठूलो अवसर हो,’ उनले भनिन्।