
काठमाडौं । विधानत: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आउँदो मंसिरमा हुनुपर्ने हो। तर, क्रियाशील सदस्यताकै टुंगो नलाग्दा महाधिवेशन अनिश्चित बनेको छ।
जेठ मसान्तमा क्रियाशील नवीकरणको म्याद सके पनि ८ जिल्लाको बाहेक अरु जिल्लाको नवीकरण केन्द्रमा आइपुगेको छैन। ‘जेठ मसान्तमा डेटलाइन सक्यो। तर ७/८ जिल्लाबाहेक अरुको टुंगो लागेको छैन,’ क्रियाशील व्यवस्थापन समितिका सदस्य योगेन्द्र चौधरीले भने।
गत कात्तिक १४ गते सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य रहेको समिति गठन गरेका थिए। उक्त समितिले चैत मसान्त, वैशाख १५, वैशाख मसान्त हुँदै जेठ मसान्त क्रियाशील नवीकरण गर्ने डेटलाइन पटकपटक थप्दा पनि क्रियाशील सदस्यताको कहिले टुंगिन्छ – अनिश्चित बनेको छ।
कांग्रेस संस्थापन पक्षका नेताहरु यसको मुख्य दोष संस्थापनइतरलाई दिन्छन्। संस्थापनइतरको नेतृत्व डा शेखर कोइरालाले ‘लिड’ गरिररहेका छन्। क्रियाशील सदस्यता व्यवस्थापन गर्ने अख्तियारी पाएको महामन्त्री थापाको समितिका गुरुङ र चौधरी कांग्रेस सभापति शेरबहादुर देउवा गुटका हुन्। अर्का सदस्य रसाइली कोइराला गुटबाट केन्द्रीय सदस्य निर्वाचित भए पनि अहिले गगन निकट छन्।
त्यसपछि गगन शेखरको भेट
१४ औं महाधिवेशनमा डा शेखर कोइराला र गगन एकै गुटबाट महाधिवेशनमा भिडेका थिए। यद्यपि, पछिल्लो समय संसदीय दलको निर्वाचनयता दुई नेताबीचको सम्बन्ध सुमधुर छैन। केन्द्रीय समितिमा भेटबाहेक सार्वजनिक रुपमा शेखर गगन बीचको यो भेट ११ महिनापछि भएसँगै यस विषयले चर्चा पनि भयो।
कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा भएको भेटमा विशेष गरि दुई नेताबीचको आगामी कार्यगत एकताबारे छलफल भएको उनको सचिवालयले जनाएको छ। असार ३०, २०८१ यता पहिलोपटक भएको औपचारिक भेटमा कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य सञ्जय गौतमलगायत सहभागी थिए।
यद्यपि, त्यो भेट कार्यगत एकता भन्दा पनि क्रियाशील सदस्यता विवाद सुल्झाउन सहयोग माग्दै महामन्त्री थापा शेखरकहाँ पुगेको गगन निकट एक नेताले बताए।
‘दर्जन सभापतिका आकंक्षी छन्। उहाँ पनि सभापतिको आकंक्षी हुनुहुन्छ। जिल्ला जिल्ला पुग्दा महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भन्नुहुन्छ। तर खै क्रियाशील सदस्यता रिन्यू गर भनेर भन्नुभएको,’ ती नेताले भने। यही विषयमा सघाउन आग्रह गर्दै गगन शेखरकहाँ पुगेको ती नेताले बताए।
सभापतिका दाबेदारहरुले सबैभन्दा पहिले क्रियाशील सदस्यता नवीकरणको हलो अड्काउन छोड्नुपर्ने उनको बुझाइ छ।
‘आजै महाधिवेशन गर्ने। भोलि जित्ने। पर्सी चुनावमा जाने र निपर्सी प्रधानमन्त्री हुन्छु भन्ने खालका उम्मेदवारले खै क्रियाशील सदस्य नवीकरणका लागि बोलेका?,’ ती नेताले भने, ‘दुई दर्जन महामन्त्रीका आकंक्षी छन्। शेखरको क्षेत्रमा के भयै। शशांकको ठाउँमा के भयो। गोपालमानको ठाउँमा के भयो। प्रकाशमानको ठाउँमा के भयो?’
शेखरको जिल्ला मोरङ, पूर्व महामन्त्री डा शशांक कोइरालाको जिल्ला पूर्व नवलपरासी, प्रकाशमान सिंहको जिल्ला काठमाडौं, गोपालमान श्रेष्ठको जिल्ला स्याङ्जामा उनीहरु पक्षकै जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता अड्काइराखेको समितिका सदस्यहरु बताउँछन्।
यसरी हलो अड्काउने अनि सभापति देउवालाई महाधिवेशन सार्ने प्रपञ्च गरे भनेर आरोप लगाउनु सरकार राजनीतिक प्रतिशोध भएको समितिका सदस्य चौधरी बताउँछन्। ‘सस्तो लोकप्रियताका लागि नेताहरुले बोलिरहेका छन्। देउवालाई आरोप लगाइरहेका छन्। यस्तो विषय राजनीतिक प्रतिशोधका लागि बोलेका हुन्,’ चौधरीले भने।
भेटमा गगनले कानुन निर्माणका विषयमा पनि सक्रिया भूमिका निभाउन शेखरलाई आग्रह गरेका थिए। ‘कानुन निर्माण अलपत्र छ। संघीयताप्रति वितृष्ण बढ्दो छ। यसमा प्रतिनिधि सभामा सक्रिया भूमिका देखाउनुपर्छ भनेर भन्नुभएको थियो,’ गगन निकट अर्का नेताले भने।
सोलुखुम्बु, खोटाङ, सप्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, रामेछाप, सिन्धुपाल्चोक, रूपन्देही, बाँके, प्युठान, कपिलवस्तु र सुर्खेतमा पनि क्रियाशील सदस्यता विवाद कायमै छ। कतिपय ठाउँमा कांग्रेसका पुराना क्रियाशील सदस्यहरुले नवीकरणमा अनिच्छा व्यक्त गरेका छन्।
नवीकरण टुंगिएसँगै नयाँ क्रियाशील वितरण गर्ने योजना कांग्रेसको छ। यो भेटको अर्को कारण थियो अनुशासन समितिमा धमाधम संस्थापनइतरका नेताहरुमाथि कारबाहीको माग गर्दै परेको उजुरी। आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा रहेको समितिका सदस्यहरु इश्वरी न्यौपाने, ध्रुव वाग्ले देउवा पक्षका नेताहरु हुन्। सञ्जय गौतम र राजीव कोइराला संस्थापनइतरका।
अनुशासन समितिमा अहिले धेरैजसो उजुरीहरु संस्थापनइतरका नेताहरुविरुद्ध परेकोले यस विषयमा पनि मिलेर जानुपर्ने दुई नेताबीच छलफल भएको बताइएको छ। अनुशासन समितिमा २ हजार भन्दा बढी उजुरी परेको र ती उजुरी असार १६ गतेको केन्द्रीय समितिमा पेश गर्ने तयारी रहेको समितिकी सदस्य ईश्वरीदेवी न्यौपानेले बताइन्।
‘अहिले चुनावी अन्तर्घातका विषयहरुमा छानबिन जारी छ। २२ सय जति उजुरी छन्। यस विषयको पुरा रिपोर्ट केन्द्रीय समितिमा पेश हुँदैछ,’ केन्द्रीय सदस्यसमेत रहेकी न्यौपानेले भनिन्।
नम्बर नपठाउँदा समस्या
समितिका सदस्य चौधरीका अनुसार विवाद सल्टेर केन्द्र आइपुगेका धेरैजसो क्रियाशील सदस्यको फोन नम्बर आएको छैन।
‘फोन नम्बर नराखी क्रियाशील आयो। त्यही भएर फेरि ब्याक भएको हो। जिल्लाले काम गरिरहेको छ,’ चौधरीले भने, ‘साढे ८ लाख क्रियाशील सदस्यको फोन नम्बर हुनुपर्छ। फोन नम्बर नभए सिस्टममा जाँदैन।’
उनकाअनुसार हरेक जिल्लाले फोन नम्बर राखेर सिस्टममा राखेपछिमात्र केन्द्रको सिस्टममा अपडेट हुन्छ।