सिफारिसबिनै व्यवसायीले बैंकबाट १०० ग्रामका सुनको बिस्कुट किन्न पाउँदा बजारमा कस्तो पर्छ प्रभाव?

सरला सुवेदी
२०८२ असार ७ गते १६:३१ | Jun 21, 2025
सिफारिसबिनै व्यवसायीले बैंकबाट १०० ग्रामका सुनको बिस्कुट किन्न पाउँदा बजारमा कस्तो पर्छ प्रभाव?

काठमाडौं। मुलुकमा सुन वाणिज्य बैंकहरूले आयात गर्छन्। उनीहरूसँग व्यवसायीले किन्छन्। आयात र बिक्रीको यो प्रक्रियामा बैंकहरूका लागि सरकारले कोटा तोकेको छ। व्यवसायीले आफ्नो महासंघको सिफारिस ल्याए मात्रै सुन किन्न पाउँछन्।

Tata
GBIME

व्यवसायीले बिनासिफारिस, आफूखुसी सुन खरिद गर्न पाउँदैनन्। प्रक्रिया पुर्‍याउँदा पनि बैंकबाट करिब ५ सय ग्राम वा १ हजार ग्राम सुन खरिद गर्न सक्छन्। त्योभन्दा कम परिमाणको पनि खरिद गर्न सकिने राष्ट्र बैंकको कार्यविधिमा व्यवस्था गरिएको छ, लागू भने भएको छैन।

सरकारले हाल सुनको दैनिक कोटा २० केजी छुट्याएको छ। बैंकहरूले ५ दिनमा २० केजीका दरले सुन आयात गर्ने गरेका छन्। कम परिमाणमा आयात गर्दा लागत बढी पर्छ। त्यसैले उनीहरूले एक पटकमा कम्तीमा ५० केजी ल्याउँछन्।

हाल बैंकले ठूलो परिमाणमा खरिद गर्न आउने व्यवसायीलाई मात्र सुन बिक्री गर्दै आएको छ। साना व्यवसायीले सामूहिक रुपमा एक पटकमा बैंकबाट ५०० ग्रामदेखि १ हजार ग्रामसम्मको खरिद गर्छन्।

साना व्यवसायीहरू आफूलाई चाहिएको परिमाणमा थोरै भए पनि खरिद गर्न पाउनुपर्ने व्यवस्थाको पक्षमा छन्। उनीहरू १ सय ग्राम सुनको बिस्कुट किन्न दिइनुपर्नेमा लबिइङ गरिरहेका छन्। तर, यसका लागि आयात गर्दै स-साना तौलका ल्याउनुपर्छ। त्यसको प्रक्रिया छुट्टै छ।

केही व्यवसायी महासंघको सिफारिसबिनै कम परिमाणको सुन बैंकसँग खरिद गर्ने व्यवस्थाको पक्षमा छन्। विलासिता करले ग्राहकलाई बढी मर्का पर्दा व्यवसायमा प्रतिकूल प्रभाव पर्ने हिसाब व्यवसायीले निकालेका छन्। त्यसैले सानो साइजका सुन किनबेचमा सहजीकरणको पक्षमा बहस सुरु भएको हो।

बैंकका अधिकारीहरू भने १०० ग्राम तौलका सुनको बिस्कुट आयात गर्न समस्या नभए पनि त्यसले लागत बढी पर्ने बताउँछन्।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बैंकले व्यवसायीको माग अनुसार स-साना विभिन्न तौलका सुन आयात गर्न सक्ने भए पनि त्यसले लागत बढाउने बताउँछन्।

‘बैंकले कम परिमाणको सुन आयात गर्न नपाइने भन्ने छैन। ५० देखि १०० ग्रामको सुन आयात गर्न समय र खर्च बढी लाग्छ,’ उनले भने, ‘इन्योरेन्सदेखि अन्य शुल्कका कारण लागत बढी हुन जान्छ।’

नेपालमा मुख्यतः सुन दुबईबाट आयात गरिन्छ। आयातका लागि साना-साना पिस बनाउँदा उतै महँगो पर्ने उनले बताए।

‘सुन ल्याउन बैंकलाई समस्या छैन तर, ठूलो परिमाणमा खरिद गरेर ठूला-ठूला साइजका ल्याएभन्दा स-सानामा बढी लागत पर्छ,’ उनले भने, ‘विगतमा पनि साना पिसमा नल्याएको होइन। तर, त्यो बिक्री हुन लामो समय लागेको रेकर्ड भेटिन्छ।’

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बैंकले चाहेमा साना व्यवसायीलाई सहजीकरण गर्न सक्ने बताउँछन्।

‘अहिले पनि बैंकको मनोपोली छ। आयात गरेको १५ दिनपछि चिनजानको व्यक्तिलाई सुन बिक्री गर्ने चलन छ। बैंकले सबै व्यवसायीलाई समान रुपमा सुन दिँदैनन्,’ उनी भन्छन्, ‘आयातकर्तालाई राष्ट्र बैंकले निगरानी गर्न छाड्नु हुँदैन।’

१ किलो र आधा किलोका बिस्कुट आयात गर्ने बैंकहरूले १ सय ग्रामका सुन ल्याउन गाह्रो नहुने तर्क उनको छ।

‘ल्याउनेलाई राष्ट्र बैंकले त्यसको बिक्री कसरी गरइरहेको छ भनेर निगरानी गर्नै पर्छ,’ उनले भने, ‘व्यवस्थित निगरानीले कारोबारलाई पारदर्शी राख्न दबाब पुग्छ।’

व्यवसायीले बैंकबाट खरिद गर्ने प्रक्रियालाई पनि सरलीकरण गरिनुपर्ने उनी बताउँछन्।

‘व्यवसायीले चाहियो भन्दैमा बैंकबाट सजिलै सुन किन्न पाउँदैन, प्रक्रिया झन्झटिलो छ,’ उनले भने, ‘झन्झट हटाएर प्रक्रिया सरल बनाउनु पर्छ। बिना सिफारिस पनि खरिद गर्न पाउनु पर्छ।’

महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य बजारमा सुनको आपूर्ति सानादेखि ठूला व्यवसायीलाई समान रुपमा पुर्‍याउन बैंकले महासंघको सिफारिस नलिइ खरिद गर्न दिने व्यवस्था राम्रो हुने बताउँछन्।

‘अहिले बैंकले कम परिमाण बेच्दा लागत बढी परेर घटा हुन्छ भन्छन्, ठूलो परिमाणमा मात्रै बेच्छन्,’ उनले भने।

हाल व्यवसायीले महासंघको सिफारिस लिएर मात्रै बैंकबाट सुन खरिद गर्न पाउँछन्। सरकारले व्यवसायीलाई सिधै बैंकबाट सुन खरिद गर्न दिए विलासिताको शुल्क कम तिर्नुपर्ने उपाध्यक्ष शाक्यले बताए।

‘बजेटमा सरकारले सुन खरिद गर्दा विलासिता शुल्क २ प्रतिशत लाग्ने व्यवस्था ल्याएको छ। सुन खरिदका लागि बैंक, डिलर र व्यवसायी हुँदै उपभोक्तासम्म पुग्दा बढेको कर मात्रै ६ प्रतिशतभन्दा बढी पुग्छ,’ उनले भने, ‘व्यवसायीलाई ५० देखि १०० ग्रामको सुनको बिस्कुट खरिद गर्न दिने हो भने डिलरलाई २ प्रतिशत विलासिता कर तिर्न पर्दैन।’

उनका अनुसार कम परिमाणमा सुन आयात गर्दा सबै व्यवसायीलाई मान्य हुने अवस्था छैन। साना व्यवसायीलाई कम परिमाणमा चाहिन्छ तर आधा केजी, १ केजीभन्दा बढी खरिद गर्नेले १०० ग्रामको बिस्कुट खरिद गर्न मान्दैनन्।

उनका अनुसार सामान्य व्यवसायीले पनि एक पटकमा ३० ग्रामदेखि १०० ग्रामसम्म खरिद गर्छन्। यो भनेको ५ लाख देखि २० लाख रुपैयाँसम्मको हो।

‘बैंकले १०० ग्रामको बिस्कुटमात्र आयात गर्न मिल्दैन। उनीहरूले साइज मिलाएर आयात गर्नुपर्छ,’ उनले भने, ‘सानो तौलको ल्याउन थाले भने माग पनि त्यहीअनुसारको हुन थाल्छ।’

हाल बैंकले थोक र थोकबाट साना व्यवसायीले सुन खरिदबिक्री गर्दा साना व्यवसायीका ग्राहकलाई बढी मर्का परिरहेको छ।

काठमाडौं अर्नामेन्टका संचालक धर्मसुन्दर बज्रचार्य भने बैंकले कम परिमाणमा सुनका बिस्कुट ल्याएर बिक्री गर्दा बजार चल्न गाह्रो हुने बताउँछन्।

‘बजारमा एक तोला, २ तोलामा सुन खरिद गर्ने व्यवसायी पनि छन्। यस्ताका लागि तोकेको परिमाणमा मात्र बैंकले सुन बिक्री गर्दा सबैको खरिद पहुँच पुग्दैन,’ उनले भने।

सुन खरिद गर्दा प्रिमियम शुल्क प्रति तोला २ सयदेखि ३ सय रुपैयाँ लाग्छ। बैंकमा सुनका लागि छुट्टै काउन्टर खोलिनुपर्ने खाँचो शाक्य औंल्याउँछन्।

‘थोरै-थोरै सुन खरिद गर्दा बढी प्रिमियम पर्न जान्छ। अहिले ठूलो व्यवसायीले ठूलो परिमाणमा खरिद गरेर सबैलाई बाँडिरहेको हुन्छ। यसो गर्दा सबैले प्रिमियम तिर्न पर्दैन,’ उनले भने।

बैंकबाट सिधै खरिद गर्दा प्रिमियम बढी पर्ने उनले बताए। ५ वर्षअघि सनराइज बैंकले यसैगरी ल्याएको सुन बिक्री नभएर स्टाफलाई बेचेर सक्काएको दृष्टान्त उनले दिए।

‘बैंकले सानो-सानो साइजका सुन ल्याएर कारोबार गर्न जोखिम छ,’ उनले भने।

यतिबेला बैंकले सुन आयात गर्दा १० प्रतिशत भन्सार र १ प्रतिशत मार्जिन तिर्नुपर्छ। त्यसमा २ प्रतिशत विलासी कर पनि छ।

व्यवसायीहरूबीच बहस भइरहे पनि बैंकहरूले सानो-सानो साइजका सुन ल्याउनमा चासो दिएका छैनन्।