
काठमाडौं। संघीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ।
सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय संचालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो। सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक पद रिक्त थियो।
कैलालीको धनगढी उपमहानगरपालिका-१ शान्तिनगरमा २०२७ साल माघ ७ गते बुवा गणेशबहादुर र आमा यमुनादेवीको कोखबाट जन्मिएका दुरा २०४६ साल फागुन १९ गते निजामती सेवामा प्रवेश गरेका थिए। २०५२ सालदेखि उनले संघीय संसद् सचिवालयमा सेवा गर्दै आएका छन्।
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका दुराले संसद् सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिव लगायत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन्। उनी हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिव पनि हुन्।
दुराले शनिबार नै सिंहदरवारस्थित कार्यालयमा पदबहाली गरेका छन्। नवनियुक्त सचिव दुरालाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायतका पदाधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिए।