
सर्लाही। नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा आफूलाई पदबाट हटाइएको बताएका छन्।
नागरिक अभिनन्दन मूल समिति सर्लाहीले हरिवनमा बुधबार घिसिङलाई अभिनन्दन गरेको छ। राष्ट्रसेवामा समर्पित योगदान, दूरदृष्टि र कुशल नेतृत्वकर्ताका कारण घिसिङ सम्पूर्ण नेपाली जनताको जीवनमा उज्यालो ल्याउने प्रेरणादायी व्यक्तित्व भएको समितिले जनाएको छ।
उक्त कार्यक्रममा घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको बताए। उनले लोडसेडिङ हटेपनि अझै धेरै क्षेत्रमा अँध्यारो रहेको बताउँदै त्यसलाई हटाएर उज्यालो बनाउनु पर्ने बताए।
अहिले जनताले कुनै राजनीतिक विचारभन्दा पनि प्रभावकारी सेवा प्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि खोजेको उनले उल्लेख गरे।
उनले भने, ‘हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गरी वार्षिक रुपमा करिब ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ। यो देशको कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशतको हाराहारीमा हुन्छ। स्वच्छ एवम् हरित ऊर्जाको रुपमा रहेको जलविद्युतको प्रयोग गरी पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसजस्ता प्रदूषित ऊर्जालाई प्रतिस्थापन गर्न सक्यौं भने हरित पर्यटनका साथै कृषिको विकास गर्न सकिन्छ।’
नागरिक समाजका अगुवा एवम् कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर खपाङीले विकट चेपाङबस्ती लगायत देशभरी नै करिब सतप्रतिशत विद्युतीकरण गर्न र निरन्तर घाटामा रहेको संस्थालाई नाफामा परिणत गर्न घिसिङ सफल भएको बताए। जलविद्युत् एवम् सौर्य ऊर्जा उत्पादनमा ऐतिहासिक फड्को मारी देशभित्र खपतसँगै बढी भएको विद्युत् भारत र बंगलादेशसम्म निर्यातको ढोका खोली देशको अर्थतन्त्र चलायमान बनाउन घिसिङले उल्लेख्य योगदान गरेको उनको भनाइ थियो।
नागरिक अभिनन्द मूल समितिका संयोजक धन बहादुर मिक्चनले घिसिङको अथक प्रयास, इमान्दारिता र जनउत्तरदायी नेतृत्वले राज्यको संस्थामा सेवा प्रवाहको नयाँ प्रतिमान स्थापित भएको बताए। घिसिङको अभिनन्दन केवल व्यक्तिको सम्मान मात्र नभइ निष्ठा, पारदर्शिता र प्रतिबद्धताप्रतिको श्रदा भएको उनले उल्लेख गरे।