प्यासेन्जर गाडी आयातमा टाटा र बीवाइडीबीच टक्कर, महिन्द्रा र हुन्डाई एकअर्कालाई पछ्याउँदै

बिजमाण्डू
२०८२ जेठ २१ गते १८:१७ | Jun 4, 2025
प्यासेन्जर गाडी आयातमा टाटा र बीवाइडीबीच टक्कर, महिन्द्रा र हुन्डाई एकअर्कालाई पछ्याउँदै

काठमाडौं। चालु आर्थिक वर्ष प्यासेन्जर कार आयातमा टाटा र बीवाइडीबीच प्रतिस्पर्धा देखिएको छ। चालु आवको जेठसम्मको आयात अनुसार भारतीय ब्राण्ड टाटा र चिनियाँ ब्राण्ड बीवाइडीबीच कडा प्रतिस्पर्धा देखिएको हो।

Tata
GBIME

बिजमाण्डूलाई प्राप्त तथ्यांक अनुसार व्यवसायीहरुले यो आर्थिक वर्ष जेठ १५ सम्म १७ हजार ७३२ युनिट प्यासेन्जर कार आयात गरेका छन्।

त्यसमध्ये २ हजार ६०७ युनिट प्यासेन्जर गाडी टाटाले आयात गरेको हो। यो अवधिमा बीवाइडीले २ हजार ५०६ युनिट प्यासेन्जर गाडी ल्याएको छ।

टाटाले अहिले टियागो इभी, नेक्सन केथ्री इभी, कर्भ इभी, पन्च इभी र यी मोडलका सबै इन्धन गाडी बिक्री गर्दै आएको छ। टाटाले १ हजार १७४ युनिट ट्याक्सी आयात गरेको छ। यस्तै अन्य गाडी १ हजार ४३३ युनिट भित्र्याएको छ।

बीवाइडीले एटो थ्री, डल्फिन, सिल, एम ६ गाडी बिक्री गर्दै आएको छ। यी दुई कम्पनीबीच पछिल्लो समय नेपालमा गाडी बिक्री गर्न प्रतिस्पर्धा चलिरहेको छ। गत वर्ष पनि यही दुई कम्पनीबीच प्रतिस्पर्धा चलेको थियो।

यस्तै महिन्द्रा र हुन्डाईबीच पनि नेक टु नेक प्रतिस्पर्धा चलेको छ। यी दुई कम्पनीले भित्र्याएका गाडीमा जम्मा ३६ युनिटको फरक छ। महिन्द्रा १ हजार ७४० युनिट आयात गरेर तेस्रो स्थानमा छ। हुन्डाई १ हजार ७०४ युनिट आयात तथा एसेम्बल गरेर चौथो स्थानमा छ।

पाचौं स्थानमा अर्को चिनियाँ ब्रान्ड एमजी छ। चालु आवको जेठ १५ सम्म एमजीका १ हजार २५० युनिट गाडी नेपाल भित्रिएका छन्।

अर्को पुरानो ब्रान्ड सुजुकी र नयाँ ब्रान्ड डोङफेङ नामीबीच पनि प्रतिस्पर्धा देखिन्छ। सुजुकी १ हजार ९२ युनिटसहित छैटौं र नामी १ हजार २४ युनिटसहित सातौं स्थानमा छन्।

चेरीको ओमोडा एण्ड जेको र चांगनको डिपलबीच पनि नेक टु नेक प्रतिस्पर्धा छ। ओमोडा एण्ड जेको ७१० युनिटसहित आठौं र डिपल ७०४ युनिटसहित नवौं स्थानमा छन्।

दशौं स्थानमा पुरानो ब्रान्ड किया छ। कम्पनीले ४६५ युनिट गाडी आयात गरेको छ।

लिपमोटरका ४३७, टोयोटाका ३२८, कायीका ३२८, रिडाराका २३४, प्रोटोनका २११, निसानका २०८ र जीएसीका २०६ युनिट गाडी आयात गरिएका छन्।

यसैगरी, लक्जरी गाडी पोर्स ६ युनिट, मर्सिडेन्ज १ युनिट, ल्यान्डरोभर २ युनिट, अउडी ३ युनिट, टेस्ला ७ युनिट, फोर्ड ३२ युनिट, बीएमडब्लु ५९ युनिट, अवतार ४० युनिट र टोयोटा ३२८ युनिट आयात भएका छन्।

नेपाली बजारमा हाल ६० वटा ब्रान्डका गाडी उपलब्ध छन्। जसमा इभीको हिस्सा ८० प्रतिशत छ।