
काठमाडौं । महिन्द्राका दुईवटा विद्युतीय गाडी बीई६ र एक्सयुभी ९ नेपाल भित्रिएको छ। महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपले सो गाडीहरु केही दिन अगाडि नेपाली बजारमा भित्र्याएको हो।
कम्पनीले अहिले दुवै इभी गाडी परीक्षण गर्न नेपाल ल्याएको हो। ती गाडीहरु नेपालको विभिन्न टेरेन्टमा परीक्षण भइरहेको कम्पनीले जनाएको छ।
नेपालको सबै भूगोलमा १० देखि १२ हजार किलोमिटर चलाएर परीक्षण गरेपछि मात्रै गाडीहरु ग्राहकहरुलाई बिक्री गर्ने गरिन्छ।
पढ्नुस : भारतमा तहल्का पिटिरहेको महिन्द्राको इभी गाडी : किन बनिरहेको छ ‘हट केक’?
कम्पनीले भन्सार प्रयोजनका लागि सार्वजनिक गरेको मूल्य अनुसार बीई६ का दुई र एक्स इभी ९ई का ३ भेरियन्ट नेपाली बजारमा उपलब्ध हुनेछन्। बीई६ का दुई भेरियन्टको मूल्य क्रमशः ७६ लाख ३० हजार र ८३ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
त्यसैगरि, एक्स इभी ९ईका तीन भेरियन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ तोकिएको छ। यो मूल्य बिक्रीमा भने थपघट हुन्छ।
दुवै गाडीमा ९९ किलोवाटको मोटर छ। एक्स इभी ९ईको एउटा भेरिएन्टमा भने १९९ किलोवाटको मोटर छ। कम्पनीले दुवै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मका ब्याट्री प्याक उपलब्ध गराएको छ।