
काठमाडौं। यतिखेर भारतीय अटो बजारमा एउटा ब्रान्ड चर्चामा छ। सामाजिक संजालदेखि हरेक प्लेटफर्ममा आफ्नो ध्यान केन्द्रित गराइरहेको गाडीबारे अहिले नेपाली अटो बजार पनि अछुतो छैन।
चिनियाँ ब्रान्डले विश्व बजारमा आफ्नो प्रभुत्व जमाउँदै गइरहेको बेला भारतीय गाडी उत्पादक महिन्द्राले भर्खरै दुईवटा इभी एसयूभी बजारमा ल्याएको छ। जुन एसयूभीले भारतीय बजारमा तहल्का मच्चाइरहेका छन्।
सबैजसो गाडी उत्पादक कम्पनी ती एसयूभी देखेर चकित भएका छन्। महिन्द्राका इभी एसयूभीमा चिनियाँ गाडीमाभन्दा फरक र धेरै एडभान्स्ड सिस्टम र फिचर छन्।
महिन्द्राले अहिले अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न निक्कै अनुसन्धान गरेर महिन्द्रा बीई ६ ई र एक्सइभी ९ ई गाडी ल्याएको हो। जसले अन्य ब्रान्डलाई तनाव दिएको छ।
हुन त महिन्द्राले यसअघि उत्पादन गरेका ईटुओ र रेभा गाडीले पनि चर्चा नबटुलेका होइनन्। नेपाली बजारमा पनि ती गाडीको राम्रो उपस्थिति थियो।
तर बजारमा इभीको क्रेजका कारण महिन्द्रा पछाडि परेको थियो। किनभने उसँग इभी थिएन। इन्धन सवारीमा राजा मानिने महिन्द्रा ब्रान्ड पछिल्लो समय नेपालमा पनि डाउनफलमा थियो। नयाँ एसयूभीले महिन्द्राले फेरि बजार लिने आकलन गरिएको छ।
महिन्द्राले डेढ महिनापछि दिल्लीमा हुने भारत मोबिलिटी ग्लोबल एक्स्पोमा नयाँ गाडी राख्दैछ। त्यसपछि मात्रै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने कम्पनीको योजना छ। यो गाडी नेपाली बजारमा ३ महिनाभित्र लन्च गर्ने भनिएको छ।

अटो पार्किङ र लाइफटाइम वारेन्टी ब्याट्री
महिन्द्राले उत्पादन गरेको नयाँ गाडीमा अटो पार्किङसहित ब्याट्रीमा लाइफटाइम वारेन्टी छ। अहिलेसम्म कुनै पनि ब्रान्डका गाडीको ब्याट्रीमा लाइफटाइम वारेन्टी छैन।
गाडी किन्दा स्वामित्व परिवर्तन नगरेको खण्डमा ब्याट्रीमा लाइफटाइम वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ। यो भनेको गाडी खरिद गर्ने सुरुका ग्राहकले मात्रै लाइफटाइम वारेन्टी पाउनेछन्। ब्याट्रीमा जे समस्या आएपनि कम्पनीले नि:शुल्करुपमा हेर्नेछ। ब्याट्री नै फेर्नु परेमा पनि त्यो जिम्मा कम्पनीको हुनेछ।
तर गाडीको स्वामित्व परिवर्तन गर्दा भने २ लाख किलोमिटर वा १० वर्ष मात्रै वारेन्टी दिइने कम्पनीले जनाएको छ। गाडीको ब्याट्रीमा हाइ भोल्टेज सेफ्टी, वाटर लिकेज प्रोटेक्सन, थर्मल प्रोटेक्सन र भाइब्रेसन प्रोटेक्सन छ। जसले गर्दा ब्याट्रीलाई धेरै सुरक्षात्मक बनाएको छ।
कम्पनीले बीवाइडीबाट टप क्वालिटीको सेल ल्याएर ब्याट्री बनाएको छ। दुवै एसयूभीमा ५९ किलोवाट आवर र ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छन्।
ब्याट्री १७५ किलोवाट डीसी फाष्ट चार्जर प्रयोग गरेर चार्ज गर्दा २० प्रतिशतबाट ८० प्रतिशत पुग्न २० मिनेट लाग्छ। यसलाई कम्पनीले सुपर फाष्ट चार्जर भनेको छ। एक पटकको फुल चार्जमा गाडीले भेरियन्ट अनुसार ४५० देखि ५०० किलोमिटर रेन्ज प्रदान गर्छ।

फिचर यस्ता
सनरुफमा पनि लाइटिङ दिइएको छ। यो एसयूभीमा डिस्को लाइट राखिएको छ। म्युजिक बजाउँदा गाडीको टेलल्याम्पसहित भित्रको एम्बियन्ट लाइट म्युजिकको टोनमा कलर चेन्ज भइ डिस्को जस्तो महोल बन्छ।
यसमा हार्मन कार्डनको साउन्ड सिस्टम भएको स्पिकर छ। यो स्पिकर एकदम राम्रो र धेरै लक्जरी मानिन्छ। यो स्पिकर कमै ब्रान्डका गाडीमा मात्र प्रयोग गरिएका हुन्छ।
गाडीमा ४५५ लिटरको बुट स्पेस पनि छ। जसले गर्दा परिवार वा साथीभाइ कतै घुम्न जाँदा धेरै सामान राख्न सकिन्छ। यस्तै अगाडि पनि केही सामान राख्न सकिने स्पेस छ।
गाडीमा १२.३ इन्चको ट्रिपल स्क्रिनका साथै २ वटा वायरलेस मोबाइल चार्जिङ छ। यस्तै अगाडि दुईवटा सिट भेन्टिलेटेड छ।
रिमोट पार्किङ अर्थात अटो पार्किङ, हेड अप डिस्प्ले लगायत फिचर छन्। भारतमा उत्पादित अधिकांश गाडीमा २ वटा सेन्सर क्यामेरा मात्र रहेकामा महिन्द्राले नयाँ एसयूभीमा अटो पार्किङका लागि अगाडि र पछाडि ६ वटा पार्किङ सेन्सर राखेको छ।

अटो पार्किङका लागि कि अर्थात साँचो (कि फोब)लाई रिमोटका रुपमा अनिवार्य गरिएको छ। गाडी अटो पार्किङ गर्ने हो भने टच स्क्रिनमा पार्किङ गर्ने स्पेस सेलेक्सन गरेपछि पोइन्ट आउट गरेर कि फोब प्रयोग गर्नुपर्ने हुन्छ।
जसले गाडी पोइन्ट आउट गरेको लोकेसनमा अटो पार्किङ हुन्छ। रिमोट चलाए जस्तै कि फोबको माध्यमबाट गाडी अटो पार्क गर्न सकिन्छ। कि फोब भने गाडी नजिकै राख्नु पर्ने हुन्छ।
यस्तै लक्जरी कारमा हुने हेड अप डिस्प्ले उपलब्ध छ। यो फिचर नेपालमा अहिले बीवाइडी सिल, टेस्ला जस्ता गाडीमा मात्रै देख्न पाइन्छ।

सेफ्टीमा एडभान्स्ड एडास र ७ एयरब्याग
फाइभ राडर्स र १२ अल्ट्रासोनिक सेन्सर एडास सेफ्टी फिचर उपलब्ध छ। यसलाई अहिले भएका इभीहरूमा भन्दा एडभान्स्ड सेफ्टी फिचर मानिएको छ।
महिन्द्राले आफ्नो रेसिङ ट्रयाकमा गाडीको पावर र पर्फर्मेन्स टेस्ट गरेको थियो। रेसिङ ट्रयाकमा गरिएको परीक्षणको भिडियो भाइरल छ। जसमा एउटा स्पिड टेस्ट छ भने अर्को एडास सेफ्टी फिचरले कसरी काम गर्छ भन्ने देखाउन खोजिएको छ।
यस्तै ड्राइभरको ध्यान केन्द्रित गर्न ड्यासमा एआई क्यामेरा राखिएको छ। यसले ड्राइभरको ध्यान अन्यत्र केन्द्रित भए अलर्ट गराउँछ।

गाडीमा ७ वटा एयर ब्याग राखिएका छन्। दुर्घटना हुँदा अगाडि, साइड र पछाडि सबैतिर एयरब्याग खुला हुन्छ। एआईमा आधारित ड्राइभ एण्ड अकुपेन्ट मोनिटरिङ सिस्टमलगायत धेरै नयाँ फिचर उपलब्ध छन्। यस्तो फिचर भएको इभी कार भारतमा अहिलेसम्म कुनै पनि ब्रान्डले उत्पादन गरेका छैनन्।
अटो होल्ड फङ्सन पनि गाडीमा उपलब्ध छ। जसले कार उकालो ओरालो वा ट्राफिक जाममा परेका बेला ह्यान्ड ब्रेकको काम गर्छ। ट्रयाक्सन कन्ट्रोलले अफ रोडमा गाडी कन्ट्रोलमा सहयोग पुग्छ।

गाडीमा फक्सवागनको नयाँ टेक्नोलोजी भएको मोटर हालिएको छ। जुन १७० र २१० किलोवाट पावरको छ। यसले २८० ब्रेक हर्सपावर र ३८० एनएम टर्क उत्पादन गर्छ।
यसमा ड्राइभिङ ३ वटा मोड रेस, एभ्रिडे र रेन्ज उपलब्ध छ। शून्यदेखि १०० किलोमिटर प्रति घन्टाको स्पिड पुग्न जम्मा ६.८ सेकेन्ड लाग्छ।
गाडीमा सेमी एक्टिभ सस्पेन्सन राखिएको छ जसले इलेक्ट्रिकल रुपमा अटोमेटिक एडजस्ट गर्छ। गाडीले अफरोड वा खाल्डाखुल्डी भएको बाटोमा लक्जरी ड्राइभको फिल दिन्छ। यस्तै गाडी ह्यान्डल गर्न पनि सहज हुन्छ।
गाडीका ४ वटै टायरमा डिस्क ब्रेक राखिएको छ। जसले गर्दा ब्रेकिङ सिस्टम राम्रो भएको छ। १९ र २० इन्चको ह्वील उपलब्ध छ। १९ इन्चको ह्वील रेगुलररुपमा हुन्छ। विकल्पका रुपमा २० इन्च ह्वील भएको टायर पनि राख्न सकिनेछ।

इन्टेरियर डिजाइन कुल र मोडर्न
गाडीको इन्टेरियर डिजाइन कुल र मोडर्न खालको छ। यसको चिपसेट अर्थात हार्डवेयरले फाइभ जी सपोर्ट गर्छ। फाइभ जी सपोर्ट गर्ने हार्डवेयर भएको गाडी भारतमा पहिलो पटक उत्पादन गरिएको हो।
हेडरुम र लेगरुम पनि राम्रो छ। पछाडि ३ जना बस्न समस्या छैन। फ्लोर पनि फ्ल्याट छ। पछाडिको झ्यालको सिसा भने सानो साइजको छ।
यस्तै रियर एसी भेन्ट र दुईवटा टाइप सी चार्जिङ पोर्ट पनि उपलब्ध छ। गाडीको सिट रिसाइकल गर्न मिल्ने सामग्रीबाट बनाइएको छ।
गाडीको सुरुवाती मूल्य भारतीय बजारमा १९ लाख पर्ने भएकाले नेपालमा एक्सयूभी ४०० इभीको जस्तै रेन्ज हुने अनुमान गरिएको छ। तर मोटर पावर धेरै भएकाले केही महँगो पर्नसक्छ। महिन्द्राको नयाँ गाडी वीवाइडीको एटो थ्रीको मूल्यमा आउने अनुमान छ।