ट्रम्पले भन्दैमा भारत छाडेर अमेरिकामा नै आइफोन उत्पादन गर्न एप्पललाई छैन सहज

बिजमाण्डू
२०८२ जेठ ३ गते १९:३१ | May 17, 2025
ट्रम्पले भन्दैमा भारत छाडेर अमेरिकामा नै आइफोन उत्पादन गर्न एप्पललाई छैन सहज
Made with ChatGPT


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पलको आइफोन भारतमा उत्पादन नगर्न टिम कुकलाई भनेको खबर अहिले सर्वत्र चर्चामा छ। खाडी राष्ट्रको भ्रमणका क्रममा दोहो पुगेका बेला ट्रम्पले एप्पलका प्रमुख कार्यकारी निर्देशक कुकलाई आइफोनको उत्पादन भारतमा नगर्न भनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

Tata
GBIME
NLIC

राष्ट्रपतिका रुपमा दोस्रो कार्यकाल सम्हाल्न ह्वाइट हाउस प्रवेश गरेसँगै ट्रम्पले विभिन्न देशमाथि कर लगाए। उनको बुझाइ अनुसार धेरै देशले अमेरिकामाथि कर लगाइरहेको छ। त्यसैले ट्रम्पले ‘रेसिप्रोकल कर’ घोषणा गरे। ट्रम्पले बारम्बार भारतले अमेरिकी वस्तुमा धेरै कर लगाउने गरेको बताउँदै आएका छन्। त्यसैले उनले एप्प्ललाई आइफोन भारतमा नबनाउन भनेको बताइन्छ।

एप्पलले हाल चीन र भारतमा आइफोन उत्पादन गर्दै आएको छ। दोहामा ट्रम्पले भने : टिमसँग हामीले राम्रो व्यवहार गरेका छौं। चीनमा एप्पलको उत्पादन गरेको हामीले सह्यौं। भारतमा पनि उत्पादन गर्नेमा हाम्रो रुची छैन। भारतले आफ्नो ख्याल आफै गर्न सक्छ।

ट्रम्पको यो अभिव्यक्ति भारतमा मात्र होइन अमेरिका र चीनसम्म छलफलको विषय बनेको छ। त्यसक्रममा ट्रम्पले भारतले अमेरिकासँग कर सम्झौताको प्रस्ताव गरेको पनि खुलाएका छन्। यद्यपि, भारतीय विदेश मन्त्री एस जयशंकरले भने यसबारेमा हाल छलफल भए पनि कुनै पनि तय भइ नसकेको प्रष्ट पारेका छन्।

तस्बिर : एपी।

ट्रम्पले टिम कुकलाई भारतमा बेच्नका लागि आइफोन उत्पादन गर्न कुनै रोकतोक नहुने बताए। तर अमेरिकाका लागि भने अमेरिकामै उत्पादन गर्नुपर्ने ट्रम्पको भनाइ थियो। विश्वभर ‘ट्यारिफ वार’ छेडेका ट्रम्प अमेरिकी कम्पनीहरु आफै बलियो हुनुपर्ने बताउँदै आएका छन्। अमेरिकामा नै उत्पादन बढाउनुपर्ने मत ट्रम्पको रहँदै आएको छ।

यो पहिलो पटक होइन ट्रम्पले एप्पललाई अमेरिकामा नै उत्पादन केन्द्रित गर्न आग्रह गरेको छ। यस अघि पनि ट्रम्पले एप्पलसँगै अन्य टेक जायन्ट र अटो कम्पनीलाई यही विषय भन्दै आएका छन्।

‘कर युद्ध’ हाललाई केही साम्य देखिएपनि यसले पार्ने असर विश्वव्यापी हुने देखिन्छ। त्यसैले विभिन्न देश अमेरिकासँग सम्झौता गर्नेबारे छलफलमा छ। भारत पनि अमेरिकासँग द्विपक्षीय व्यापार सम्झौता गर्ने तरखरमा छ। यसबीच ट्रम्पको अभिव्यक्ति आउँदा त्यसले भारत अमेरिका व्यापारमा असर पर्न सक्ने जानकार बताउँछन्।

एप्पलले सन् २०१७ देखि भारतमा उत्पादन सुरु गरेको थियो। चीनसँग अमेरिकाको सम्बन्ध बिग्रिँदै गर्दा एप्पलले भारतमै आइफोन उत्पादन वृद्धि गरेको थियो। पछिल्लो आर्थिक वर्षमा भारतमा २२ अर्ब अमेरिकी डलरको आइफोन उत्पादन भयो। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ६० प्रतिशतले बढी हो।

चीनसँग ‘ट्यारिफ वार’ चलिरहँदा एप्पलले आफ्नो उत्पादन चीन बाहिर सारिरहेको बताएको थियो। तथ्यांकले चीन पछि भारतमा एप्पल बढी निर्भर भएको देखाउँछ। टिम कुकले पनि केही समय अघि अब आइफोन बढी उत्पादन हुने देश भारत नै हुने बताएका थिए।

‘अमेरिकामा बिक्री हुने आइफोनको उत्पादन भारतमा नै बढी हुने अपेक्षा छ,’ टिमले भनेका थिए। एप्पलको कूल २० प्रतिशत उत्पादन भारतमा गर्ने गरि प्रक्षेपण कम्पनीले रणनीति बनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टिम कुक।

पछिल्लो समय चीनलाई उछिन्दै भारत विश्वकै धेरै जनसंख्या भएको देशसमेत बनेको छ। र, चीन भन्दा भारतको ‘लेबर कस्ट’ पनि सस्तो छ। यस्तो अवस्थामा एप्पल जस्ता कम्पनीहरु विश्व बजारमा आफ्नो बलियो उपस्थिति बनाउन लागेको भारत पुगेका छन्।

केपीएमजी इन्डिया इन्डाइरेक्टर ट्याक्स मामिलाका पार्टनर र नेश्नल हेड रहेका अभिरिक जैन भन्छन्,‘केही वर्षअघि भारतले बाहिरबाट आउने फोनमा २० प्रतिशत कस्टम ड्युटी लगायो। अहिले त्यो १५ प्रतिशत छ। तर, यदि भारतमा फोन उत्पादन हुन्छ भने फोनका कम्पोनेन्टमा ड्युटी धेरै कम छ। अर्थात भारतमा उत्पादन गर्दा फोनको मूल्य कम हुन्छ।’

उनका अनुसार एप्पलका लागि भारत ठूलो बजार हो। र, भारतीय नीतिका कारण एप्पल जस्ता कम्पनीहरु भारतमा उत्पादनमा बढाउन फाइदाजनक मान्छन्।

हाल भने आइफोन उत्पादनको हब भने चीन नै हो। तर, अमेरिकाको चीनसँगको सम्बन्ध र ट्रम्पको कर नीतिले धेरै अमेरिकी कम्पनीहरु भारततर्फ मोडिएका छन्। यस्तो अवस्थामा ट्रम्पले एप्पललाई भारतमा नभइ अमेरिकामा नै उत्पादन गर्न भन्दा बजार फेरि हच्किएको छ। अमेरिकी कम्पनीहरुले भारतमा पूर्वाधार र प्लान्ट निर्माणमा ठूलो लगानी गरेका छन्। त्यसैले ट्रम्पले चाहे जस्तो अहिले नै सम्भावना नभएको जानकारहरु बताउँछन्।

हाल चीन र भारतमा उत्पादित आइफोनमा भारतमै उत्पादन हुने आइफोन एप्पललाई सस्तो पर्छ। अमेरिका र चीन बीच ९० दिनका लागि ११५ प्रतिशत कर कटौती गर्ने सहमति भएपछि पनि चीनबाट आउने आइफोनमा अझै ३० प्रतिशत कर लाग्छ। यस्तो अवस्थामा एप्पलको नजर भारतमा नै हुने देखिन्छ।

जैन भन्छन्, ‘अहिले करलाई लिएर अनिश्चितता छ। भविष्यमा के हुन्छ भन्न सकिन्न तर हाललाई भारतलाई लाग्ने करभन्दा चीनलाई लाग्ने कर धेरै छ। यस्तोमा एप्पलको प्राथमिकता भारतमा नै उत्पादा बढाउनु हुनेछ।’

एप्पल भारतमा जाँदा त्यसले त्यहाँ रोजगारी पनि सिर्जना गरेको छ। पछिल्लो केही वर्षमा एप्पल र त्यससँग जोडिएका कम्पनीहरुमा १ लाख ६४ हजार भन्दा बढी मानिस कार्यरत छन्। भारतमा फक्सकन, टाटा इलेक्ट्रोनिक्स र पेगाट्रोनले आइफोन उत्पादन गर्ने गर्छ।

विश्लेषकहरुका अनुसार ट्रम्प अमेरिकामा नै उत्पादन बढाउन जोड दिइरहेका छन्। यसले उनी अमेरिकामा नै रोजगारी पनि सिर्जना होस् भन्ने चाहन्छन्।

जैन भन्छन्, ‘ट्रम्प अमेरिकामा उत्पादन बढाउन चाहन्छन् त्यसैले उनले यस्तो प्रस्ताव टिम कुकलाई राखे। यसले अमेरिकामा रोजगारी सिर्जना हुनेमा उनले देखेका होलान्। ’

तर, ट्रम्पले भन्दैमा एप्पल र अन्य कम्पनीलाई अमेरिकामा नै उत्पादन गर्न भने सजिलो नहुने पनि जानकार बताउँछन्।

‘उत्पादनमा लेबरमा हुने खर्च धेरै महत्वपूर्ण कुरा हझ। अमेरिकामा फोन उत्पादन गर्नु महंगो हुनेछ। यसले फोनको मूल्य पनि बढ्छ,’ काउन्टर प्वाइन्ट रिसर्चका शोध निर्देशक तरुण पाठकले भने।

त्यसैले विश्लेषकहरु ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक सोचेर मात्र अघि बढ्नुपर्ने मत राखिरहेका छन्। ट्रम्पले भने पनि एप्पलले तत्काल भारतबाट अमेरिकामा नै ‘सिफ्ट’ हुने कुनै मनसाय बनाउने छैन।

टेलिकम कम्पोनेट्स म्यानुफ्याक्चर्स अफ इन्डियाका अध्यक्ष एनके गोयल भन्छन्, ‘सबै कम्पनीले नाफा नोक्सान हेरेर निर्णय गर्छ। एप्पल भारतमा आउनु कमर्सियल निर्णय हो किनभने एप्पल धेरै चीनमा निर्भर थियो र ऊ त्यो कम गर्न चाहन्थ्यो। भारतमा एप्पलले अवसर र संशाधन देख्यो। एप्पल भारतमा स्थापित भइसकेको छ। यस्तोमा एप्पल भारतबाट जानु सजिलो फैसला हुनेछैन।’

बीबीसी हिन्दीमा प्रकाशित स्टोरीको भावनुवाद