
नयाँ दिल्ली। भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल गर्न बैठक बसिरहेका छन्।
भारत र पाकिस्तानले एक अर्कामाथि आक्रमण रोक्न शनिबार आह्वान गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सचिव देवजित सैकियाले क्रिकबज वेबसाइटलाई आफूहरु ‘विकसित परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको’ बताएका छन्।
सैकियाले भने, ‘आइपीएलका सबै सरोकारवाला र सम्बन्धित सरकारी अधिकारीहरूसँग परामर्श गरेपछि पुनः सुरु गर्ने बारे निर्णय लिइनेछ।’
बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले भारतीय मिडियालाई भविष्यको कार्ययोजना निर्धारण गर्न बैठक बस्ने बताएका छन्। उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा रहेको धर्मशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटलबीचको खेल रद्द भएको एक दिनपछि शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) एक हप्ताका लागि स्थगित गरिएको थियो।
हवाई क्षेत्र बन्द भएकाले शुक्रबार खेलाडीहरूलाई दिल्ली फर्काउन विशेष रेलको व्यवस्था गरिएको थियो भने विदेशी खेलाडीहरू शनिबारदेखि घर फर्कन थालेका थिए। आइतबार टोलीहरूले आफ्ना विदेशी खेलाडीहरू र प्रशिक्षण स्टाफलाई फर्काउनेबारे सम्पर्क गरिरहेको रिपोर्ट गरिएको छ र इएसपिएनक्रिकइन्फो वेबसाइटले सरकारबाट अनुमति मिल्ने भए आइपिएल मे १५ को आसपासमा पुनः सुरु हुनसक्ने जनाएको छ।
नियमित सिजनका १२ खेल खेल्न बाँकी छन्। त्यसपछि तीन प्लेअफ खेल र फाइनल खेल खेलिनेछन्। फाइनल खेल मूल रूपमा मे २५ मा हुने तय गरिएको थियो।
भारत र पाकिस्तानले कश्मीरलाई लिएर आफ्ना तीनवटा पूर्ण–स्तरका युद्धमध्ये दुई वटा लडेका छन्। यो विवादित क्षेत्रलाई दुवैले पूर्ण रूपमा दाबी गर्छन् तर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेदेखि यसका अलग–अलग भागको प्रशासन सञ्चालन गर्दै आएका छन्।
नयाँदिल्लीले बुधबार बिहान दुई हप्ताअघि भारत नियन्त्रित काश्मीरमा पर्यटकहरूमाथि भएको घातक आक्रमणको जवाफमा मिसाइल आक्रमण गरेको थियो। पर्यटकमाथि भएको आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष दिएको छ।
इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ। बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ६० जनाको मृत्यु भएको छ। यो दक्षिण एसियाली यी दुई छिमेकीबीच दशकौँमा सबैभन्दा खराब हिंसा हो। -एएफपी/रासस