
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ग्रे लिस्टमा माओवादी सरकारको पालामा परेको बताएका छन्। संसद भवनमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले आफूले सक्दो नपार्न कोसिससमेत गरेको दाबी गरे।
पहिलेको सरकारले राम्रो काम नगर्दा देश अहिले ग्रे लिस्टमा परेको ओलीको तर्क थियो। ‘ग्रे लिस्टमा नपारौं भनेको धेरै बिगारीसकेछ। कपी काटेको बेला जाँच दिएको बेला फेल भएको थाहा पाउनुपर्दैन?’ ओलीले भने, ‘जाँच दिने बेला फेल हुन्छ। अहिलेको सरकार कपी काट्ने बेलाको सरकार हो।’
माओवादी सांसदहरुले ग्रे लिस्टबाट बाहिर निकाल्ने कुनै योजना सरकारको नीति तथा कार्यक्रममा नदेखिएको भन्दै प्रश्न गरेका थिए। गत फागुनमा नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)ले दोस्रोपटक ग्रे लिस्टमा राखेको थियो।