
काठमाडौं। किसानले सरकारी कम्पनीलाई गहुँ बेच्न अस्वीकार गरेका छन्।
सरकारले तोकेको समर्थन मूल्यभन्दा व्यापारीबाट धेरै रकम पाएको भन्दै किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई गहुँ बेच्न अस्वीकार गरेका हुन्।
कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले एक महिनादेखि गहुँ किन्न खोजे पनि किसानले बिक्री गर्न नमानेको बताए।
‘सरकारले तोकेको समर्थन मूल्यभन्दा व्यापारीहरुले बढी रकम दिइरहेका छन्। त्यसैले किसानले हामीलाई गहुाबेच्न मानिरहेका छैनन्,’ उनले भने।
सरकारले चालु वर्ष गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३८६७.३८ रुपैयाँ तोकेकामा व्यापारीले किसानसँग प्रति क्विन्टल ४ हजार देखि ४२५० रुपैयाँसम्मका दरले किनिरहेका छन्।
भारतबाट आयात नभएका कारण व्यापारीले माग धेरै रहेको भन्दै किसानलाई सरकारले तोकेभन्दा बढी मूल्य दिइरहेका हुन्।
चालु आर्थिक वर्ष ५० हजार क्विन्टल गहुँ खरिद गर्ने कम्पनीको लक्ष्य छ। कम्पनीले अघिल्ला वर्षमा पनि लक्ष्य अनुसार गहुँ किन्न सकेको थिएन।