
काठमाडौं। नेपाली क्रिकेट टोली जुन महिनाबाट क्रिकेट विश्वकप लिग-२ मा फर्कँदैछ। सन् २०२४ को नोभेम्बरमा स्कटल्याण्डसँग खेलेयता नेपालले लिग-२ का खेल खेलेको छैन।
लिग २ शीर्ष एसोसिएट टोलीका लागि एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर पुग्नेदेखि एकदिवसीय मान्यतालाई रक्षा गर्ने बाटो हो। हाल यो लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा अमेरिका, नेदरल्याण्ड्स, क्यानडा, ओमन, स्कटल्याण्ड, नामिबिया, नेपाल र यूएई क्रमश शीर्षदेखि आठौं स्थानसम्ममा रहँदै प्रतिस्पर्धा गरिरहेका छन्।
मोटामोटी रुपमा तालिकाको तल्लो भागमा रहने टोलीले एकदिवसीय मान्यता गुमाउने छन् भने मिड टेबलका टिमले मान्यता जोगाउनेछन्। शीर्षमा रहेका टिमहरुले एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा गएर खेल्ने अवसर पाउनेछन्।
नेपाल हाल ८ टोलीमध्ये सातौँ स्थानमा छ। १२ खेल खेल्दा नेपालले दुईवटा जित, ८ वटा हार र दुई नजिजाविहीन खेल खेल्दै ६ अंक बनाएको छ। पुछारको यूएईले समान खेलबाट ४ अंक बनाएको छ।
शीर्षस्थानको अमेरिकाले १६ खेलबाट २२ अंक बनाएको छ। अर्थात अमेरिका नेपालभन्दा १६ अंकले अघि छ। नेपाल भन्दा ठीक अघि रहेको नामिबियासँग पनि १४ अंक छ अर्थात नेपाल भन्दा ८ अंक माथि। यस्तोमा नेपालको विश्वकपको ग्लोबल क्वालिफार त टाढाको कुरा लय समात्न नसके एकदिवसीय मान्यता नै जोखिममा पर्न थालेको देखिन्छ।

प्रशिक्षकबाट चमत्कारको आशा
लिग-२ को अघिल्लो साइकलमा पनि नेपाल अझै अफ्ठेरो अवस्थामा भने पुगेको थियो। मैदानभित्र र बाहिरका विभिन्न प्रकरणहरुले ‘टीम स्पिरिट’ गायब जस्तै भइसकेको थियो। यतिसम्म कि क्रिकेट विश्वकप लिग २ मा पपुवा न्युगिनीभन्दा माथिमात्र थियो नेपाल। अगाडिका पाँच टोलीको अंक अन्तर ज्यादै फराकिलो भइसकेको थियो।
त्यसलाई ‘रिकभर’ गरेर एक स्थान माथि उक्लिन पनि लगातार ७ वटा खेल जित्नुपर्थ्यो नेपालले। नेपालको खातामा खेल चाहिँ सीमितमात्रै थिए।
यतिसम्म दयनीय अवस्था आइपरेको थियो कि एक दिवसीय मान्यता जोगाउन जादुकै छडी चाहिने आँकलन हुन थालेको थियो। नेपाली टोलीको लय र लिग २ को अंक तालिकाले नेपाली क्रिकेट अब ब्युँतिदैन भन्नेहरु हाबी हुन थालेका थिए।

नेपाली टोलीमा मोन्टी देसाई मुख्य प्रशिक्षक बनेर आउँदाको पृष्ठभूमि यति खराब थियो कि क्यानले – एक दिवसीय मान्यता जोगाइदिन सकेमा उनको तलब बढाउने प्रतिबद्धता जनायो। क्यानले नेपाली क्रिकेट टिम कति कमजोर छ भनेर आकलन गरेको तलब बढाउने प्रस्तावले नै खुलाउँछ।
त्यसमाथि विश्वकप छनोट पुग्न १२ मध्ये ११ खेल जित्नै परिस्थिति जुन कल्पनाभन्दा धेरै टाढाको विषय थियो। तर, देसाईको प्रशिक्षणमा नेपाली टिमले यस्तो लय पक्रियो कि जादुको छडी चले झैं भयो।
यसबीचमा वाहवाही कमाएको नेपालले दोस्रो पटक टी-२० विश्वकप पनि खेल्यो। तर, लिग-२ मा भने नेपालको नतिजा खराब लयमै गुज्रिरह्यो। एकपछि अर्का हारले गर्दा फेरि ‘जादुको छडी’ खोज्ने अवस्था आइसकेको छ।
देसाईको करार नवीकरण नगरेको क्यानले अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइसकेको छ।
स्टुअर्टको कोचिङ करियर पनि कम जादुयी भने छैन। सन् २०२४ विश्वकपमा पाकिस्तानलाई अमेरिकाले हराउँदै सनसनी मच्चाउन उनै टोलीको प्रशिक्षकमा थिए। त्यसअघि पनि अमेरिकाले अर्को टेस्ट टोली बंगलादेशविरुद्धको सिरिज जितेको थियो। तर, अमेरिकी टोलीमा रहेको मतभेदबीच उनी त्यहाँ धेरै समय टिक्न भने सकेनन्।
नेपालको तयारी
यही महिना स्टुअर्ट नेपाल आउँदा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सकिइसकेको थियो।
तर, क्यानले राष्ट्रिय टोलीमा रहेका र घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आएका ५२ जना खेलाडीलाई ‘कोर क्याम्प’ मा बोलायो। यसमा रोहित पौडेलको कप्तानीमा नेपाल निलो, आशिफ शेखको कप्तानीमा नेपाल हरियो, सन्दीप लामिछानेको कप्तानीमा नेपाल रातो र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाल पहेँलो टोली बन्यो। यी टोलीबीच अप्रिल २६ बाट मे ३ सम्म मुलपानीमा अभ्यास खेलहरु भए।

यी खेल पछि स्टुअर्ट लले २४ जना खेलाडीलाई दोस्रो चरणको क्याम्पमा बोलाएका छन्। यसमा शुभ कंशाकार, रुपेश सिंह, युवराज खत्रीजस्ता खेलाडीले अवसर पाउँदा कुशल मल्लजस्ता राष्ट्रिय टोलीमा जमेका खेलाडी बाहिरिए।
आगामी स्कटल्याण्डमा हुने लिग २ को सिरिजका लागि नेपाली टोलीले बेलायतमा अभ्यास गर्ने क्यानले जनाएको छ। बेलायतमा नेपालले एमसीसीलगायत स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने साथै ट्रेनिङ क्याम्प पनि गर्ने क्यानको तयारी छ।
बेलायतबाट स्कटल्याण्ड पुगेर नेपालले स्कटल्याण्ड ‘ए’ सँग दुईवटा खेल खेल्नेछ।
दोस्रो चरणको क्याम्पमा रहेका नेपाली खेलाडी
रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, अर्जुन साउद, बसीर अहमद, दीलिप नाथ, आरिफ शेख, युवराज खत्री, सन्दीप लामिछाने, ललित राजवंशी, शाहब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतिश जिसी, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, लोकेश बम, किरण ठगुन्न र शुभ कंशाकार