
काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा फेरि नेपाली छात्रको मृत्यु भएको छ।
परराष्ट्र मन्त्रालयले केआइआइटीमा अध्ययनरत वीरगंजकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको जनाएको छ।
छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन्। यस घटनाबारे ओडिसा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केआइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाबारे परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य, तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी हुन्।
करिब ३ महिना अघि पनि सोही कलेलमा अध्ययनरत् प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको थियो। त्यसपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले प्रर्दशन गरेका थिए। त्यसपछि विश्वविद्यालय प्रशासनले नेपालीलाई कलेज छोड्न भनेको थियो।
तर, नेपालले कूटनीतिक पहल गरेपछि विश्वविद्यालयले नेपाली विद्यार्थीप्रति भएको घटनामा माफी मागेका थिए।
फेरि सोही विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएपछि ओडिसाका पुलिस कमिश्नर नै घटनास्थल पुगेका थिए। उनले घटनाबारे अनुसन्धान भइरहेको भन्दै पहिला जस्तै प्रकरण दोहोरिन नदिने बताएका छन्।