
विराटनगर। नेपालमा सेनिटरी प्याड र डाइपर खपतभन्दा बढी उत्पादन हुनसक्ने भए पनि बर्सेनि साढे तीन अर्ब मूल्यको आयात भइरहेको छ। अर्थ मन्त्रालयले सेनिटरी प्याड र डाइपरको कच्चा पदार्थभन्दा तयारी वस्तुको महसुल सस्तो बनाएपछि आयात फुक्तै र आन्तरिक उत्पादन सुक्तै गएको हो।
नेपालका व्यवसायीले डाइपर र प्याड दुवै न्यून विजकीकरणमा आयात गर्ने हुँदा भन्सारको तथ्यांक यथार्थभन्दा कम देखिने उद्योगीको जिकिर छ। सेनिटरी प्याड र डाइपरको उत्पादनमा लाग्ने कच्चा पदार्थको भन्दा तयारी वस्तुको महसुल थोरै छ। यसबाट आन्तरिक उत्पादनका तुलनामा आयात व्यापार फस्टाएको छ।
नेपाल सेनिटरी प्याड तथा डाइपर उत्पादक संघका अध्यक्ष डोलराज घिमिरेका अनुसार नेपालमा बेबी डाइपरको वार्षिक खपत २० करोड थान हुँदा यहाँका उद्योगको क्षमता ५५ करोड थान छ। त्यस्तै सेनिटरी प्याडको माग वार्षिक २५ करोड थान हुँदा आन्तरिक उत्पादन ७५ करोड थान छ।
तर तयारी सेनिटरी प्याडको आयातमा सरकारले ५ प्रतिशत मात्रै महसुल लगाएको छ। जबकि यसको कच्चा पदार्थको आयातमा २५ प्रतिशतसम्म महसुल छ।
सेनिटरी प्याडको कच्चा पदार्थ एअर लेड पेपर र स्याप पेपर दुवैमा भन्सार महसुल २० र अन्तःशुल्क ५ प्रतिशत छ। त्यस्तै अरू २ कच्चा पदार्थ एधेसिभ ग्लु र स्प्यान्डेक्समा भन्सार महसुल १ र अन्तःशुल्क ५ प्रतिशत छ। ‘मानव स्वास्थ्यका लागि आवश्यक पर्ने वस्तु उत्पादन गर्न आयात गरिएको कच्चा पदार्थमा अन्तःशुल्क लगाइनु उचित छैन। यसले उद्योगको लागतमा वृद्धि त गरेकै छ। आयात प्रतिस्थापनलाई पनि रोकेको छ,’ घिमिरेको भनाइ छ।
अध्यक्ष घिमिरेले चारै वस्तुको आयातमा सरकारले अन्तःशुल्क खारेज गरेर भन्सार महसुल १ प्रतिशत मात्रै कायम गरिनुपर्ने आग्रह गरे।
त्यस्तै डाइपरको आयातमा लाग्दै आएको महसुल १५ र प्याडको ५ लाई बढाएर ३० प्रतिशत बनाइनु पर्ने भन्दै संघले अर्थमन्त्रालयसमक्ष पत्राचार गरेको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १९८ करोडको डाइपर र १३२ करोडको सेनिटरी प्याडको आयात भएको छ। त्यस्तै चालु आर्थिक वर्षको ९ महिनामा १७० करोडको डाइपर र १०३ करोड मूल्यको प्याडको आयात भइसकेको छ।
दुवै वस्तु भारतको लोकल बजारबाट ननब्रान्डेड स्तरका पनि आउने भएको हुँदा न्यून विजकीकरणबाट प्रशस्त भित्रने गरेका छन्। त्यसैले भन्सारमा देखिएको आयातमूल्यभन्दा बढी मूल्यका वस्तु भित्रने गरेको यथार्थ रहिआएको छ।
अध्यक्ष घिमिरेले दुवै वस्तु आयात गर्दा प्रत्येक पाकेटमा एमआरपी लेखिएका हुनुपर्ने बताए। प्रत्येक पाकेटमा एमआरपी लेखिएका प्याड र डाइपरलाई मात्र भन्सार कार्यालयले जाँचपास गर्नुपर्ने उनको जिकिर छ।
नेपालमा डाइपर उत्पादन गर्ने मुख्य ४ उद्योगमध्ये एजी हेल्थकेयर, हेल्थ एन्ड हाइजिन र ब्रजेश्वरी हाइजिनको बर्सेनि १५ करोड र जस्मिन हाइजिनको १० करोड उत्पादन क्षमता रहेको संघले जनाएको छ।
त्यस्तै प्याड उत्पादन गर्ने ७ वटा उद्योग छन् । जसमा सबैभन्दा बढी जस्मिन हाइजिनको वार्षिक ३० करोड थानको उत्पादन क्षमता छ। यसबाहेक एजी हेल्थ, विराट हेल्थ, जय मातादी, हेल्थ एन्ड हाइजिन, एन्जल टच र सफ्टी हाइजिनले वर्षमा १५–१५ करोड थान प्याडको उत्पादन गर्न सक्छन्।
विराटनगरको हेल्थ एन्ड हाइजिनका सञ्चालक भावेश राठीले स्यानिटरी प्याड र डाइपर दुवै मानव स्वास्थ्यका लागि संवेदनशील वस्तु भएकाले सरकारले अयातितमा पनि गुणस्तर चिह्न प्रदान गरेर मात्र बजारमा विक्रीवितरण गर्न दिनुपर्ने उल्लेख गरे।
उद्योगी राठीका अनुसार भारतबाट गुणस्तर प्राप्त नगरेका र फुटपाथ तथा सस्तो बजारबाट खरिद गरिएका डाइपर र प्याड न्यून विजकीकरणमा आयात हुँदा नेपालका उद्योग क्षमताको ४० प्रतिशतमा मात्र चलिरहेका छन्। त्यसैले सरकारले आन्तरिक उद्योगलाई सेफगार्ड लगाउन महसुल संरचनामा परिवर्तन गर्नै पर्दछ र एमआरपी अंकित प्याड र डाइपरको मात्र भन्सारमा जाँचपास गरिनु पर्छ।
राठीले सरकारले गुणस्तर चिह्न नलिएका डाइपर र प्याडलाइ बजारबाट बरामद गर्नुपर्ने आग्रह गरे।