
काठमाडौं। नारायणगढ-बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ।
यसअघि गत सोमबारसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी संचालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई १५ दिन बढाइएको हो।
नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ देखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द गरिने भएको हो।
‘दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन संचालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ,’ उनले भने, ‘सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ।’
यसअघि दाउन्ने खण्डमा गत चैत २७ देखि ३१ गतेसम्म दिनको ११ देखि ३ बजेसम्म र वैशाख १ गतेदेखि रातिको ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी संचालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको थियो। अहिले उक्त खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए।
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैंडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ।
१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीन पटक म्याद थपिसकेको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रो पटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म छ। रासस