
काठमाडौं। शिक्षकहरुमाथि आइतबार भएको प्रहरी दमनको चर्को विरोध भएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलका सांसदहरुले शिक्षकहरुमाथि बल प्रयोग गरेको भन्दै सरकारको आलोचना गरेका छन्।
सत्तारुढ नेपाली कांग्रेसका सांसदले पनि लोकतन्त्रमा शान्तिपूर्णरुपमा आफ्ना माग राख्न पाइने भन्दै शिक्षकहरुमाथि भएको प्रहरी दमन खेदजनक भएको बताएका छन्।
बैठक सुरू हुनासाथ माओवादी केन्द्रका सांसद जनार्दन शर्मा, रास्वपाकी सुमना श्रेष्ठ र राप्रपाकी रोशन कार्कीले चार सातादेखि प्रदर्शन गर्दा पनि माग सम्बोधन गर्नुको साटो उल्टै पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी शिक्षकहरूलाई धरपकड गरेको भन्दै सरकारको विरोध गरे।
उनीहरूले शिक्षकहरूले उठाएका जायज माग तत्काल सम्बोधन गरी सक्दो चाँडो विद्यालय फर्काउन सरकारको ध्यानाकर्षण गराए। नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू, कान्तिका सेजुवाल, डिगबहादुर लिम्बू लगायत सांसदले पनि शिक्षकको आन्दोलनमा बल प्रयोग गरेर सरकारले गल्ती गरेको बताए। उनीहरूले शिक्षकहरूसँग वार्ता गरेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।
‘सरकार जिम्मेवार र संवेदनशील बनोस्। दमनको बाटो बन्द गरियोस्,’ बडूले भने।
नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षकहरूका माग सम्बोधनका लागि भएका प्रयासबारे शिक्षामन्त्री रघुजी पन्तसँग जवाफ मागे।